सान्नानी छाडेर सालीतिर

म्यूजिक खबर
प्रकाशित: ३१ आश्विन २०७१, शुक्रबार

काठमाडौं, ३१ असोज । गायक बाबु बोगटीलाई ‘सान्नानी तिमीलाई हिर्काउँला लट्ठीले’ भन्ने गीतले वास्तवमै गायकको परिचय स्थापित गराइदिएको हो भन्दा फरक पर्दैन । त्यसपछि उनले गायनसँगै फिल्म अभिनयलाई पनि अघि बढाए । अभिनयमा ‘बाटोमुनिको फूल’, ‘बितेका पल’ लगायत फिल्ममा आफूलाई सशक्त भूमिकामा देखाए पनि । जहाँ उनको तारिफ पनि नभएको होइन । उनी अभिनीत अर्काे फिल्म ‘हम जाएगा’ले रिलिजको तारतम्य मिलाइरहँदा उनी गायकको पहिचान पनि सँगै लैजान अघि सरेका छन् ।
यतिबेला पाँचौँ एल्बम ‘रेस्पेक्ट’ सार्वजनिक गर्ने क्रममा छन् । अब उनको गीतमा सान्नानी होइन ‘साली ओ साली’ भन्दै साली बोलाउने काम भएको छ ।  उनको एल्बमभित्रको एउटा गीत ‘साली ओ साली’ सार्वजनिक भएपछि उनको चर्चा पुनः चुलीमा पुग्न थालेको छ । ‘सान्नानी’ले चर्चामा ल्याएका गायकले यसपल्ट सालीलाई सम्बोधन गरेर गीत निकाल्नुलाई भने ‘बाघ कराउनु र बाख्रो हराउनु’को संयोग पनि भन्न थालिएको छ । उनले यही वर्ष विवाह गरेका हुन् ।  वासुदेव मुनालले लेखेको गीतकी साली बाबुलाई सान्नानी जत्तिकै फाप्लिन् कि नफाप्लिन् त्यो भने समयले बताउला ?

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु