साहित्यका राजकुमार र साब्लाबुङ

म्यूजिक खबर
प्रकाशित: ९ श्रावण २०७१, शुक्रबार

नेपाली साहित्यको भण्डार फराकिलो हुँदै देशदेखि विदेशसम्म फैलिएको छ । नेपालीहरुको आउने जाने क्रमले विदेशमा विस्तार भएको नेपाली साहित्य लेखनले विस्तारको क्रम लिइरहेको बेला साहित्यमा नै रमाइरहेका राजकुमार राई र साब्लाबुङ साहित्यिक पत्रिका नेपाली भाषा साहित्यमा स्मरणयोग्य नाम बनेको छ । राजकुमार राई हङकङमा बस्दै आएका व्यक्तित्व हुन् । उनी हङकङमा रहे पनि नेपाली साहित्यले अझ ठूलो प्रगति गरोस् भन्ने उद्देश्यका साथ दिनरात साहित्यमा नै खटिरहेने गर्छन् । नेपाली साहित्यको उत्थानमा आफूलाई अग्रपंक्तिमा नै राखिरहेका राजकुमारले हङकङबाट नै विशुद्ध साहित्यिक पत्रिका साब्लाबुङ निरन्तर प्रकाशन गरेर नेपाली साहित्यलाई विस्तार गरिरहेका छन् ।
संखुवासभाको शितलपाटीमा जन्मिएर गाउँमा नै प्रारम्भिक अध्ययन सकेका उनी अहिले नेपाली साहित्यभन्दा अन्यत्र आफ्नो दिमागलाई नघुमाउने नेपालीमध्येका एक पर्छन् हङकङमा । १७ वर्षको हङकङ बसाई गरिसकेका राजकुमारलाई नेपाली साहित्यको ठूलो चिन्ता छ । विश्वमा नेपाली साहित्य, भाषा, गीतसंगीत फैलिरहेको अवस्थामा हङकङमा भने त्यसको प्रभाव शुन्यतातिर लम्किरहेको महसुस उनीमा छ । नेपाली भाषा साहित्यको मृत्य विश्वमा नै हुनुछ भने हङकङमा पहिला हुन्छ भनेर ठोकुवा गरिरहेका राजकुमारले हङकङमा बसोबास गर्ने नेपालीहरुमा नेपालीत्वको भावना नभएको पनि उल्लेख गरेका छन् । हङकङमा बस्ने नेपालीहरु जातीय द्वन्द्वमा चुर्लुम्ब डुबेका कारण नेपाली नेपालीबीचका सांस्कृतिक, भाषिक र धार्मिक सद्भाव नै खलबलिन पुगेको छ, राजकुमारले दुखेसो पोख्दै भने अब हङकङले नेपालीलाई प्रवेशमा रोक लगाउन थालेको अवस्थामा त्यहाँ नेपाली भाषासाहित्यले मृत्युवरण गर्नुभन्दा कुनै विकल्प नै छैन । दोस्रो पुस्तासम्म केही नेपालीभाषाको प्रयोग भए पनि तेस्रो पुस्ताले त्यहाँको स्थानीय भाषालाई नै प्रमुखता दिँदै गएपछि नेपालीभाषी नै नहरने अवस्था हङकङमा रहेको उनले बताए । नेपालमा भएको राजनीतिक प्रभावका कारण हङकङमा रहेका नेपालीहरुबीचमा पनि जातीय विभेदले चरम सीमा नाघेको राजकुमार बताउँछन् । आफू राई भएर पनि मंगोलहरुले ब्राम्हण क्षेत्रीविरुद्ध गरेको अन्याय सहन नसक्ने राजकुमार पहिला नेपाली हुँ भन्ने सोच जहिलेसम्म राई, लिम्बु, गुरुङ, मगरकाबीचमा आउँदैन त्योबेलासम्म जातीय सद्भाव कायम हुन नसक्ने ठोकुवा गर्छन् । त्यस्तै हङकङमा भएको धार्मिक परिवर्तनका कारण हिन्दू धर्मले पनि हङकङबाट अवसानको गति लिइरहेको राजकुमार बताउँछन् । हङकङ छिरेपछि सम्पूर्ण नेपालीहरु पैसाका लागि क्रिश्चियन धर्मतर्फ आकर्षित भएर हिन्दू धर्मलाई घृणा गरेर आफ्नो संस्कृतिमाथि प्रहार गरिरहेका कारण आफ्नो धर्म संस्कृतिबाट टाढा रहनुपरेको उनले बताए ।

sablabung
नेपाली कांग्रेसको राजनीति गर्दागर्दै हङकङतिर हानिएका राजकुमारलाई अहिले पनि राजनीतिले तर्साउने गरेको बताउँछन् । राजनीति भनेको फोहोरी खेल भएको बताउँदै आफूमाथि भएको राजनीतिको पीडाले अहिलेसम्म पनि झस्काइरहने उनले बताए । हङकङमा बसोबास गरेको डेढ दशमा उनले नेपाली साहित्यभन्दा अर्को विकल्प नै सोचेनन् । विगत चार वर्षदेखि ‘साब्लाबुङ’ नेपाली साहित्यिक पत्रिका प्रकाशनमा ल्याइरहेको राजकुमारले साब्लाबुङ प्रकाशन हङकङबाट तीनवटा पुस्तकसमेत प्रकाशनमा ल्याएका छन् । कविता, कथा, संस्मरण, निबन्धजस्ता साहित्यका विविध पाटोमा कलम चलाउँदै उनले नेपालीभाषा साहित्यको विकास गर्नु नै आजको आवश्यकता भएको बताएका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु