सिआरबिटी बन्द हुँदा व्यापारीमा रुवाबासी

म्यूजिक खबर
प्रकाशित: ८ पुष २०७०, सोमबार

काठमाडौं, ८ पुस । गीतसंगीतको क्षेत्रमा पछिल्लो समय व्यापार नभइरहेको अवस्थामा रिङ ब्याक टोन (आरबिटी)को माध्यमले मात्र गीतसंगीत चलेको भन्ने गरिएको छ । सिडी, क्यासेटहरु बिक्री नभइरहेको अवस्थामा पाइरेसीले सबै स्रष्टाहरु मरिरहेको अवस्थामा स्रष्टाहरु लगानी गर्न भने छाडेका छैनन् । स्रष्टाहरु त आफैंमा मरिरहेको अवस्था भए पनि अब यस क्षेत्रमा लागेका गीतसंगीत बेच्ने कम्पनीहरुमा भने करिब तीनमहिना देखि बन्द अवस्थामा रहेको सिआरबीटीका कारण रुवाबासी चलेको छ ।
नेपाल टेलिकमबाट दिँदै आएको सिआरबिटी सेवा करिब तीन महिनादेखि बन्द अवस्थामा छ । आन्तरिक कारण देखाउँदै टेलिकमले बन्द गरेको सिआरबिटी सेवामा व्यवसायीहरुलाई भने ठूलो मार परिरहेको छ । सिआरबीटी डाउनलोडबाट आउने रकमबाट स्रष्टाहरुलाई शोषण गर्दै आएका व्यापारीहरुमा अहिले खैलाबैला नै भएको छ । टेलिकमले भने सिस्टम बन्न समय लाग्ने बताउँदै आए पनि वास्तविक कुरा भने स्रष्टा मर्ने काम नहोस् भनेर नै बन्द गरिएको एक स्रोतले बतायो ।
मेरो गीतको सिआरबीटी यति गयो तेरो गीतको यति जाबो भनेर चोकमा खुरापाती गफ हाँक्नेहरु अहिले सिआरबीटी सेवा मात्र बन्द हुँदा कम्पनी बन्द गरुँ कि चलाऊँ भन्ने सोचमा विभिन्न ठाउँमा प्रतिक्रिया दिइरहेका छन् । स्रष्टाले लगानी गरेर कम्पनीलाई बुझाउने गरेका गीतसंगीतबाट न स्रष्टालाई उचित रोयल्टी दिने गरिएको छ न स्रष्टको लगानी उठाउने कुनै काम भएको छ । स्रष्टा मात्र सिआरबीटी दर्ताका लागि कम्पनीमा बुझाउने र आफैं पैसा तिरेर कम्पनीको लोगो राख्दै प्रचार प्रसार गर्ने गरिरहेको बेला स्रष्टा माथि उठ्न सकिरहेका छैनन् । एकातिर स्रष्टाको सिआरबीटी बेचेर रातारात घर ठड्याउने संगीत व्यापारीहरुको कारण संगीत उद्योग डुबिरहेको छ भने संगीत उद्योगमै बसेर व्यापार गर्नेहरुले नै पाइरेसी गर्न छुट दिइरहेको कारण स्रष्टाहरु मरिरहेको र गीतसंगीत बिक्री नभएको आरोप विभिन्न व्यक्तिहरुले लगाइरहेकै छन् ।
एकातिर रोयल्टी संकलनका नाममा उठाउने भन्दा गुमाउने काम भइरहेको छ भने अर्कोतिर स्रष्टाको लगानीमा कम्पनीका मालिक भनाउँदाहरु मोटाउने काम भइरहेको छ । यसका कारण संगीत उद्योगमा पाइरेसी बढेको भनिए पनि पाइरेसी गर्न छुट दिइएको प्रष्ट भइरहेको छ । संगीतमा लगानी बालुवामा पानी भइरहेको छ स्रष्टाहरुलाई भने संगीत व्यापारीहरु भने राम्रा गीत बेचेर लाखौं कमाउने सपनामै मस्त भइरहेका छन् । यो अवस्थामा स्रष्टाहरु एक जुट हुनु र संगीत क्षेत्रमा सम्बन्धित तबरबाट नीतिनियमको कार्यान्वयन हुनु जरुरी देखिन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु