सिडी कपी गर्ने पाँच सञ्चालक पक्राउ

म्यूजिक खबर
प्रकाशित: २८ कार्तिक २०७१, शुक्रबार

इलाम । प्रतिलिपि अधिकार ऐनविपरीत नेपाली चलचित्र र गीतको सिडी नक्कल गरी बिक्री गर्ने पाँच पसल सञ्चालकलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम बजारस्थित युनिक साइबर एन्ड क्याफेका इलाम नगरपालिका–९ का कल्याण बस्नेत, लैवरी साइबर क्याफेका इनपा–२ का दिलकुमार श्रेष्ठ, युनिक मोबाइल सेन्टरका इनपा–२ का नवराज दाहाल, स्काई मोबाइल सेन्टरका इनपा–२ का सुवास प्रधान र एक्ट्रा मोबाइल सेन्टरका इनपा–२ का प्रवीन तामाङलाई नेपाल प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयबाट अनुगमनमा आएको अनुगमन टोलीले पक्राउ गरेको हो ।
अनुगमन टोलीले प्राप्त उजुरीका आधारमा ती पसल सञ्चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिनुभयो । प्रतिलिपि अधिकारविपरीत कार्य गम्भीर प्रकृतिको भएकाले मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिलिपि अधिकार ऐनविपरीत कार्य गरेमा पहिलोपटक रु १० हजारदेखि रु एक लाख जरिवाना वा छ महिनासम्म कैद तथा दोस्रोपटक भए रु २० हजारदेखि रु दुई लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु