सैलुङ डाँडामा गुञ्जियो ‘बादलसँगै…’

म्यूजिक खबर
प्रकाशित: १७ बैशाख २०७३, शुक्रबार

काठमाडौं । गायिका कुन्ति मोक्तानले कुनैबेला गाएको गीत ‘माथि माथि सैलुङ्गेमा चौरी डुलाउँनेलाई…’  अझैपनि संगीतप्रेमीको मुखमा झुण्डीरहेको हुन्छ । मोक्तानको यो गीत सुन्नेवित्तिकै त्यही सैलुङ डाँडाको याद आउँछ, जहाँ चौरीगोठ र गुराँसले रताम्मै ढाकेको हुन्छ । तर, त्यही रमणीय सैलुङ्गे डाँडामा यो साता भने गुञ्जियो, ‘बादलसँगै उडेर आउँला…।’ उक्त गीत गुञ्जिरहँदा त्यहाँ न चौरीगोठ देखियो न त गुराँस फूलेकै थियो । बरु गीतको तालमा बादलसँगै उड्ने प्रयत्न गर्दैथिइन्, मोडल सम्पदा बानियाँ । सम्पदालाई साथ दिइरहेका थिए, अभिनेता तथा मोडल नरेन खड्काले । हो, यो साता तीव्र हावाको धुन सुसाइरहने दोलखाको त्यो सैलुङ डाँडामा गायिका अनिला राईको गीत ‘बादलसँगै…’ गुञ्जियो ।

_MG_9358

फाट्टफुट्ट चौरीगाई र गोडा चर्ने त्यो डाँडामा अनिलाको ‘बादलसँगै उडेर आउँला…’ गीत लाउडस्पिकरमा गुञ्जिँदा टाढा–टाढाबाट गाउँलेसमेत झुम्मिन आएका थिए । गीतको ताल र भावमा हराइरहेका सम्पदा र नरेनलाई नजिकबाट नियाल्न आएका उनीहरुले गीत निकै मनपराए । एक गाउँले भन्दैथिए, ‘गीतको बोल नै बादलसँगै उडेर आउँला रहेछ । अनि पो यहाँ सुटिङ गर्न आका रहेछन् । जेहोस् गीत राम्रो रहेछ ।’

_MG_9374

यस गीतको शब्दरचना पनि गायिका अनिलकै रहेको छ । ‘बादलसँगै उडेर आउँला…’ यो गीत बेलायतमा बस्दै आएकी गायिका अनिलाको ‘स्वरांकन’ एल्बमको हो । यसै गीतको भिडियो छायांकनका लागि फोटो पत्रकार तथा म्युजिक भिडियो निर्देशक नविन गरुङ लगायतको एउटा टिम सैलङ डाँडा पुगेको थियो । टिममा रहेका सदस्य आ–आफ्नो क्षेत्रमा परिपक्क भएपनि सैलुङ डाँडाचाहिँ सबैको पहिलोपटक थियो । ‘यो मेरो पहिलो सैलुबयात्रा हो’ मोडल सम्पदाले भनिन्, ‘सोचेभन्दा राम्रो रहेछ । म त एक्साइटेड भएँ ।’

IMG_1779

त्यस्तै, नरेनले गीतमा मात्र सुन्दै आएको सैलुङ डाँडा पुग्दा एक्साइटेड भएको बताए । ‘मैले यस्तो रमणीय स्थल होला भनेर सोचै थिइँन’ उनले भने, ‘तर, साँच्चीकै सुन्दर स्थान रहेछ यो ठाउँ ।’ सैलुङ डाँडाको प्रकृति बयान गरेर वास्तवमै साध्य छैन । तर, भिडियो छायांकनका लागि पुगेका टिमलाई मौसमले नराम्ररी धोका दिएको थियो । सधैं वरिपरी विभिन्न हिमालको दृश्य देखिने सैलुङ डाँडा त्यो दिन तुवाँलोले नछोड्न भिडियोका निर्देशक नविन निकै निराश भएका थिए । चारैतिर तुवाँलो छाएका कारण हिमालको दृश्य छायांकन गर्न नसकिएपछि सैलुङकै रमणीय स्थलहरुलाई मात्र क्यामेरामा कैद गरियो । सैलुङको दृश्य कैद गर्ने पनि नविन नै थिए । ‘हिमालको दृश्य खिच्न नपाएपनि भिडियो राम्रो बनेको छ’ निर्देशक नविनले भने, ‘हामीलाई चाहिएको बादल र प्रकृति सुन्दरतालाई छायांकन गर्न पाएका छौं ।’ यो गीतको छायांकन भक्तपुरको रोज भिलेज स्थित एउटा घरमा समेत छायांकन गरिएको छ । तीन दिनसम्म छायांकन गरिएको यो गीतको म्युजिक भिडियोबाट गायिका अनिला त आशावादी छन्नै, मोडलद्वय सम्पदा र नरेनले यस भिडियो प्रति धेरै अपेक्षा गरेको बताएका छन् । ‘बादलसँगे उडेर आउँला…’ अनिलाको ‘स्वरांकन’ को तेस्रो भिडियो हो । यसअघि यस एल्बमको दुई भिडियो सार्वजनिक भइसकेका छन् ।

_MG_9464

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु