हामीले सम्मान गरेनौं भने हाम्रो पनि सम्मान हुँदैनः अध्यक्ष शर्मा

म्यूजिक खबर
प्रकाशित: १३ श्रावण २०७३, बिहीबार

राधिका अधिकारी । प्रस्तोता नेपालका अध्यक्ष एवं लोकप्रिय गायक हेमन्त शर्माले एक कार्यक्रममा बोल्दै भने – हामी आफैंले अग्रजलाई सम्मान गर्न जानेनौं भने हाम्रो सम्मान पनि हुँदैन । हामीले संस्कार र परम्पराको खातिर काम गरेकै छैनौं त्यसैले हामीलाई हेर्ने दृष्टिकोण पनि त्यही अनुसारको हुँदै गएको छ । अझै बेला गएको छैन, हामीले अग्रजको सम्मान गर्दै संस्कार र परम्पराको थालनी गर्नुपर्छ शर्माले भने । अग्रजका गीतहरु सुनेर त्यही गुनगुनाउँदै हामी गीतसंगीत कर्ममा लागेका हौं अब हाम्रा गीत सुनेर यो क्षेत्रमा आउनेले एउटा संस्कार सिक्नुपर्ने अवस्था छ त्यसको लागि हामीबाट नै यसको सुरुवात हुनु जरुरी भएको अध्यक्ष शर्माले बताए ।

hemanta sharmaआज नेपाली गीत संगीतका क्षेत्रमा स्थापित र सफल हुनेहरुको नाम गन्न थाल्ने हो भने त्यस्को बेग्लै फेहरिस्त बन्छ । लामो सूची बन्छ । तर, आज जो लोकप्रियताको शिखरमा हुनुहुन्छ उहाँहरु आफैले यो सांगीतिक गोरेटो कोरेका होईनन् । सांगीतिक क्षेत्रमा लागेका अग्रजहरुको बाटो समातेर यहाँसम्म आईपुगेका कति अनुज पुस्ताले आफ्ना अग्रजको सम्झना गरे त्यो आफ्नो ठाउँमा छ । तर, पछिल्लो समय प्रस्तोता समाजले आफू हिडेको बाटो बनाउँने अग्रजको सम्मानमा एउटा भव्य कार्यक्रम गर्ने भएको छ । नेपाली गीतसंगीतका कार्यक्रम धेरै हुन्छन् । स्रष्टा सम्मान पनि हुने गरेका छन् । तर, अधिकांश कार्यक्रम राजधानी केन्द्रित हुँदै गर्दा प्रस्तोता समाज नेपालले राजधानी बाहिरका ७ अग्रज स्रष्टालाई एकै पटक सम्मान गर्ने भएको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी रिटिङ रिटिङ नबजाउ विनायोका गायक एल बि जोशी, आलु र तामा हजुर छेपारोलाई जामा गीतका गायक शोम बहादुर घलान, हे आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँलाका गायक महेश पाल्पाली, धिरेन्द्र प्रेमर्शी, मधुबाबु थापा, चन्द्रकला शाह र प्रेम देव गीरीलाई ५ हजार ५ रुपैयाँ नगद सहित सम्मान पत्रले सम्मान गरिने प्रस्तोता समाजका अध्यक्ष हेमन्त शर्माले बताएका छन् । हिजो गीतसंगीतमा लागेका तर पछिल्लो समय गीतसंगीतमा सक्रियरुपमा लाग्न नसकेका अग्रजलाई सम्मान गरेर आफूहरुलाई पनि पछिल्लो पुस्ताले सम्झना गर्ने एउटा संस्कारको थालनी गर्दै गर्दा प्रस्तोता समाजले सोहि दिन सोहि कार्यक्रममा केहि गायक गायिकालाई उनीहरुका गीत संगीतको रोयल्टी वितरण गर्दै छ ।

कार्यक्रममा कलाकारहरुले १ सय रुपैयाँदेखि ३७ हजार रुपैयाँसम्म रोयल्टी रकम पाउँने छन् । समाजका अध्यक्ष शर्माले उक्त दिन प्रस्तोताहरुले पाउँने उक्त रोयल्टी रकम पनि अग्रजहरुको कमाई भएको बताएका छन् । यो पुस्ता नै अग्रजको कमाई भएकाले यो पुस्ताले गरेको हर राम्रो कामको जग र प्रेरणा अघिल्लो पुस्ता रहेको शर्माको भनाई छ । कार्यक्रम आउँदो शुक्रबार हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु