हिन्दी एल्बमको तयारीमा बसन्त

म्यूजिक खबर
प्रकाशित: ९ पुष २०७१, बुधबार

काठमाडौं । कवि, गीतकार तथा उद्योगपति बसन्तकुमार चौधरी बलिउडतिर लम्किएका छन् । विभिन्न कवितासंग्रह र नेपाली संगीत क्षेत्रलाई ५ उत्कृष्ट एल्बम दिइसकेका चौधरी अहिले हिन्दी भाषाको गीति एल्बम ल्याउने तयारीमा छन् । माया बल्झेछ, तिम्रो नाममा, रिफेल्कसन अफ लभ, वन्ली लभ र लभ फरेवरजस्ता नेपाली एल्बम ल्याएका चौधरीले हालैमात्र बलिउडका एकसे एक गायन हस्ती लिएर ‘मोमेन्ट्स अफ लभ’ नामक एल्बम तयार पारेका छन् । उक्त हिन्दी एल्बममा पनि माया पिरतीकै कुरा समेटेको गीतकार तथा कवि चौधरीले बताएका छन् ।
चौधरीको एल्बममा बलिउडका ख्यातिप्राप्त गायक÷गायिका रुपकुमार राठौर, निती मोहन, सान, जावेद अली, मोहित चौहान, पलक मुचाल र श्रेया घोषालले स्वर दिएका छन् भने बलिउडकै प्रतिभाशाली नवसंगीतकार शुसांक शंकरले संगीत दिएका छन् । भारतको विभिन्न सहरमा पुगिसकेको सो पप एल्बममा गायिका श्रेया घोषालले भने दुई सेमी क्लासिक गीत गाएकी छन् ।
‘एउटा नेपालीको रचना अन्तर्राष्ट्रिय बजारमा जाओस् अनि एउटा नेपाली हिन्दीमा गीत रचेर अन्तर्राष्ट्रिय रुपमा जानसक्दोरहेछ भन्ने उदाहरणका लागि हिन्दी रचनामा एल्मब तयार पारेको हुँ’ चौधरीले भने, ‘फेरि संगीतको कुनै भाषा पनि हँुँदैन ।’ भारतमै प्रतिष्ठित गीतकार भएपनि उनीहरुसँगको प्रतिस्पर्धामा जान बलिउडका बेस्ट सिगर लिएको उनको भनाइ छ । उनी भन्छन्, ‘अहिलेसम्म जतिपनि प्रतिक्रिया पाएको छु, ज्यादै उत्साहवद्र्धक छ ।’ उनले आफ्ना गीतका म्युजिक भिडिया पनि मुम्बईमै बनाउने सोच बनाएका छन् । त्यसका लागि मुम्बईका विक्रम सिंहलाई संयोजकका रुपमा जिम्मा दिएको उनी बताउँछन् ।
गीतकार चौधरी यतिमै सन्तुष्टि छैनन् । उनी आप्mनो गीत रचनाको शृंंखलालाई नेपाली र हिन्दी गीत तथा गजलबाट थप उचाई दिने तयारीमा छन् । रुपकुमार राठौर र पंकज उदासलाई लिएर सुरा र सुन्दरीलाई विषय बनाई एउटा छुट्टै गजल एल्बम निकाल्ने उनको तयारी छ । ‘मोमेन्ट्स अफ लभ’कै रेकर्डिङका क्रममा रेकर्ड भएका दुई गीत बलिउड फिल्ममा समेत आउने चौधरीको भनाइछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु