हामीले सानै कक्षा देखि महाकवि देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरेलाई सँगसँगै पढ्दै आयौ तर सँगै हिड्न भने राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग मात्रै पायौ । सिंगो नेपाली साहित्य जगतको एउटा जिउँदो इतिहास घिमिरेलाई काव्य प्रतिष्ठान नेपालले अनुज पुस्तादेखि अग्रज पुस्ता सम्मलाई एउटै थलोमा भेटायो, चिनायो । पछिल्लो समय पाठक भन्दा लेखक बढी भएको, अधिल्लो पुस्ता र पछिल्लो पुस्ताका बिचमा ठुलो खाडल रहेको कुरालाई काव्य संवादले झुटो सावित गरिदिएको छ । ९५ वर्षिय घिमिरेका कविता सुन्न र सुनाउन १० देखि उनकै समकालीन उमेरका श्रष्टाको उपस्थिती थियोे राजधानीको लैनचौरमा ।
१२ वर्षमा खोला फर्कन्छ भन्छन् साच्चै फर्कदो रहेछ जस्तो लागेको छ राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई । कविबर घिकिरेले अब फेरी कवि र कविताको दिन फिरेको महशुस गरे हिजो राजधानीको काव्य समारोहमा । नियमित काव्ययात्राको थालनी गरेको काव्य प्रतिष्ठान नेपाले पहिलो श्रृङखलामा राष्ट्रकवि घिमिरेलाई प्रस्तुत गरेको हो । साढे पाँच दशकको यात्रा तय गरेका घिमिरेले सो काव्ययात्रामा कविता मात्रै सुनाएनन् ठट्यौलोपाराले कुराकानी गरेर करिव ५ सयको हाराहारीमा उपस्थित भएका स्रोता र दर्शकलाई हँसाए पनि । ढल्कदो वयमा काव्य वाचनका लागि आफ्नै उपस्थितीलाई रमाइलो गरी घिमिरेले मञ्चमा राखिएको ठुलो पोष्टरको आफ्नै हँसिलो तस्विर औंल्याउदै भने ‘म यहाँ पस्नासाथ तँ को होस्, तँ बुढो भइछस् कसरी वाचन गर्न सक्लास ?’ भनि आफ्नो तस्विरले आफैलाई प्रश्न गरेको टिप्पणि गरेका थिए ।
यो छाया छवि केही पनि होइन भन्न सक्तछु मै पनि
सुख र दुःख सञ्चित गर्छु यत्नले तैपनि
‘किन्नर किन्नरी’ कविता संग्रह भित्रको यो कविता वाचन सँगै घिमिरेले थालनी गरेको काव्ययात्रामा अग्रज पुस्ताका कमलमणि दीक्षित देखि अनुज पुस्ताका रितीज न्यौपानेसम्मले घिमिरेका काव्य वाचन गरेर सुनाएका थिए । कार्यक्रममा साहित्यकार कमलमणी दीक्षितले कवि घिमिरेसँग भन्दा उनका कवितासँगको सहयात्रा लामो रहेको तर्क प्रस्तुत गर्दै घिमिरेका सबै किताब आफ्नो पुस्तकालयमा उपलब्ध नभएको कविलाई जानकारी गराए । ‘गौरी’ शोक काव्य वाचनका लागि हँसिलो मुहार लिएर स्टेजमा पुगेकी गायिका लोचन भट्टराई स्टेजबाट फर्कदा आँखाबाट आँसुका मुहान फुटाएर फर्किन । सुरिलो स्वरमा ‘गौरी’ गाएर आँसु पुछ्दै गरेकी भट्टराईलाई घिमिरेले हातले इसारा गर्दै छेउमै बोलाए र उनको कपालमा हात राख्दै कविता त यसरि पो पढ्नु पर्छ भने, उनको गलामा ५ सयको उपस्थिती मौन बनेको थियो ।
आफूलाई नदुखि लेखेको सिर्जनाले अरुलाई नछुने घिमिरेको तर्क थियो । फरक फरक क्षेत्रका बिभिन्न ब्यक्तिले घिमिरेका केहि प्रतिनिधि गीत, कविता वाचन गरेर सुनाइ सकेपछि फेरी आफै सिर्जना वाचनमा जुटेका घिमिरेले ९५ वर्षदेखि साचेर राखेको फूर्तिलोपन देखाउदै म कविता पढ्न ड्यासमै आऊ कि ? भनेर प्रश्न गर्दा हल एकपटक गुञ्जिएको थियो ।
हाँगाबाट कोईली बोल्यो को हो को हो भनी
गोरेटोमा मैले बोले म हो म हो भनी
प्रश्न होइन उत्तर होइन अचम्म हो खाली
मेरो काम अन्य छैन प्रारम्भ हो खाली ।
आफ्नो लेखनको अनुभव सुनाउँदै घिमिरेले सुनाए ‘म लेख्नु भन्दा पहिले त्यो गीतमा जिउँछु, आत्मासाथ गर्छु र अनि त्यसपछि मात्रै लेख्छु । लेखिसकेपछि मेरा सिर्जनाको पहिलो पाठक भएर पढ्छु, पढ्दा मलाई छोयो भने अरुलाई दिन्छु छोएन भने दिन्न ।’ राष्ट्रकविको अनुभवमा जीवनले बुढो भए भन्दैन रे । घर्कदो उमेरसँगै आँखामा बसेको धमिलो बादल पन्छाएर पनि मान्छे राम्रो चिज फर्केर हेर्न लालायीत हुन्छ । भोलीलाई सम्झिएर आज त्रासमा बाँच्न नहुने धारणा थियो घिमिरेको । आफू जसरी बाचीन्छ अरुलाई पनि त्यसैगरी बचाउन सबैलाई आग्रह गरेका छन घिमिरेले ।
कविले कार्यक्रमको प्रशंसा गर्दै भने आफूले लेखेको कविता अरुले पाठ गरेर सुनाउनु त्यो पनि आफूले चाहेको त्यो भन्दा ठुलो उपलब्धि हामी लेखकका लागि अरु केही हुदैन । काव्य यात्राको आयोजना सुन्नकै लागि हुनु पर्ने धारणा व्यक्त गर्दै घिमिरेले कविताको भाव अनुसारको पाठ गर्न अनुज पुस्तालाई सिकाएका थिए । राष्ट्रलाई कवि कलाकारले आफ्नोपन दिन सक्नु पर्ने भन्दै उनले आयोजक प्रभु विकास बैंकलाई कृतज्ञता प्रकट समेत गर्न भ्याएका थिए ।
काव्य यात्रामा राष्ट्रकविका कवितामा गायक अमृत गुरुङ, गायिका लोचन भट्टराई। कवि सरस्वती प्रतिक्षा, सनतकुमार वस्ती, केदार शर्मा, अदिती अग्रवाल, अभिनेता अनुप बराल, कुलपति बैरागी काईला लगाएतकाले आवाज भरेका थिए । कार्यक्रमको अवधारणा र उद्देश्य निक्कै राम्रो भएपनि कविता पाठ गर्न छानिएका प्रतिनिधिले सिर्जनालाई केहि हदसम्म न्याय गर्न नसकेको होकी ?