• जगतमर्दन थापाको ‘म पतझड तिमी मधुमास’

    म्यूजिक खबर
    प्रकाशित: १६ श्रावण २०७५, बुधबार

    १६ साउन, काठमाडौं । वरिष्ठ गायक थापाको नयाँ एवं चौथो एल्बम ‘म पतझड तिमी मधुमास’ हिजो साउन १५ गते सार्वजनिक गरिएको हो । शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यता एवं वरिष्ठ गीतकार चलचित्र निर्देशक चेतन कार्कीको सभापतित्वमा सार्वजनिक गरिएको हो । शब्द, संगीत र स्वरको अदभूत तालमेलले भरिपूर्ण गीतिएल्बम हो ‘म पतझड तिमी मधुमास’ । प्रतिष्ठित भारतीय गायिका उषा मङ्गेशकरसँग युगल गायन रहेको ‘म पतझड तिमी मधुमास’ ले फरक मिठास र सौन्दर्यबोध दिलाएको उपस्थिति अतिथिहरुले शुभकामना मन्तव्य दिएका थिए ।


    म्यूजिक खबरको आयोजनामा भएको उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिँदै म्यूजिक खबरका अध्यक्ष सुमन बैरागीले उहाँको ८३ वर्षको जोश र जाँगर देखेर युवाअवस्था भएको बताएका थिए । त्यस्तै संगीतकार शिखर सन्तोषले गायिका उषा मंगेशकरसँगको सहकार्यमा गायक जगतमर्दन थापासँग काम गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । त्यसैगरी गीतकार प्रकाश सायमीले गायक जगतमर्दन थापाको बारेमा इतिहासका पाना पल्टाएका थिए भने गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले जगतमर्दन थापा गीतसंगीतको क्षेत्रका ज्यूँदा इतिहास भएको बताएका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले लाजिम्पाट, लैनचौरको इतिहास कोट्याउँदै त्यहीं क्षेत्रलाई कर्मथलो बनाउने जगतमर्दन थापा संगीत इतिहासमा अमर नाम भएको बताएका थिए । अझै जोश र जाँगर लिएर अगाडि बढेका गायक थापाको सक्रियता देखेर युवाअवस्था आएको बताएका थिए ।


    त्यसैगरी वरिष्ठ गीतकार चेतन कार्कीले गायक जगतमर्दन थापा अपरान्ह पुरुष भएको बताउँदै उनका गीतसंगीतमाथि चर्चा गर्दै शुभकामना दिएका थिए । कार्यक्रम संचारकर्मी, लेखक निर्देशक दिनेश डिसीले संचालन गरेका थिए ।
    एल्बम ‘म पतझड तिमी मधुमास’ लाई मोहित मर्दन थापाले निर्माण गरेका हुन् भने म्यूजिक नेपालले बजार व्यवस्थापन गरेको छ । एल्बमभित्र मायालु नयनको इशारा, सपनीमा रुवाउँछ, धुवाँजस्तै उड्छ यो मन, वसन्तझैं फुलिदिन्छु, मेरो माया कस्तो कस्तो र कोइलीले सम्झाइदियो जस्ता माधुर्य गीतहरु रहेका छन् । यो एल्बमका वरिष्ठ गीतकार रत्नशमशेर थापा, विश्व वल्लभ, जगत मर्दन थापा, सहदेव ढुंगाना र मोहित मर्दन थापाका शब्द रहेका छन् भने मदनसिंह, मनोहर सुनाम, राजु सिंह, किरण कँडेल, शिखर सन्तोष र महेन्द्र संगीत निकेतनको संगीत रहेको छ ।
    नेपाली गीतसंगीत जगतका अथक साधक हुन् वरिष्ठ गायक जगतमर्दन थापा । कालजयी र माधुर्य संगीत पस्किँदै आउनुभएका थापा सदाबहार गुन्जिने स्वर साधकका रुपमा स्थापित छन्। विगत सात दशकदेखि स्वर साधनामा समर्पित थापाले आजपर्यन्त सांगीतिक नभमण्डलमा आफ्नो चमक छरिरहेका छन्, जसले विशिष्ट र अर्थपूर्ण पहिचान कायम राखेको छ ।


    वि.सं. १९९३ साल माघ २७ गते जन्मिनुभएका थापाको साधना यात्रा २०१३ सालदेखि प्रारम्भ भएको हो । त्यस अवधिपश्चात रेडियो नेपालबाट उहाँका कथा, कविता, गीतहरु प्रसारण हुन थाल्यो । यद्यपि गीतसंगीत क्षेत्रमा नयाँ अध्याय कोर्ने कार्यको सुरुवात भने २०१८ सालमा कलकत्तास्थित हिज मास्टर्स भ्वाइसबाट ‘माया लुकाई लुक्दैन’ र ‘कोइलीले सम्झाइदियो’ जस्ता कालजयी गीत रेकर्ड भएपछि भयो । बीसको दशक (सन् १९६५) मा मुम्बईमा रेकर्ड भएको ‘मायालु नयनको इशारा’ र ‘कुहिरोसँग डाँडाकाँडा’ जस्ता गीतले थापाको सांगीतिक उचाईमा मजबुत इँटा थप्ने कार्य ग¥यो ।
    लामो समय सरकारी सेवामा रहे पनि संगीतको साधना र सानिध्यमा नै रहेका थापाले स्वदेशमै उच्च प्रविधियुक्त रेकर्डिङ स्टुडियोहरु खुलेपछि पुनः गायनतिर लाग्दै आफ्नो स्वरलाई निखारता ल्याउन शास्त्रीय संगीतको औपचारिक शिक्षा समेत लिन थाले । अर्थशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका थापाले संगीतमा बी.म्यूज गरेका छन् । संगीतको विश्वविद्यालयस्तरीय ज्ञान लिने उद्देश्यले उनले ७३ वर्षको उमेरमा भारतको इलाहवाद प्राज्ञ संगीत समितिबाट बी.म्यूज गरेका हुन् । थापा संगीत साधनामा संसारमा रमाउनेहरुका निम्ति उमेर कहिल्यै बाधक बन्दैन भन्ने उदाहरण बनेका छन् ।


    वरिष्ठ गायक थापाका अहिलेसम्म चार वटा गीति एल्बम संगीत पारखीहरुले उपहार पाइसकेका छन् । २०५८ सालमा सार्वजनिक ‘४० वर्षअघि ४० वर्षपछि’ नामक एल्बम सांगीतिक यात्रालाई जोड्ने कडी बन्न पुग्यो । २० दशकमै स्वर अर्पण गरेका चार र नयाँ चार गरी आठ वटा गीत समेटेर उक्त एल्बम निस्किएको थियो । थापाको दोस्रो एल्बम ‘मनको शान्ति’ २०६८ मा सार्वजनिक भयो । उनको दोस्रो एल्बममा ‘लुकीलुकी’, आजभोली, तिम्रो चाहनाको, हे साइँली तिम्रो, भन लौ नढाँटी सहित नौ गीत रहेका छन् । थापाको तेस्रो एल्बम ‘माया लुकाई लुक्दैन’ २०७३ सालमा सार्वजनिक भएको हो । उनको तेस्रो एल्बममा चर्चित गीत ‘आशाको दियो बालेर’ तिम्रो माया लसरीपसरी, अचानक आज किन लगायत नौ वटा गीत समावेश छन् ।

     

    कार्यक्रममा उषा मंगेशकर र गायक थापाको स्वरमा रहेको म पतझड तिमी मधुमासको सार्वजनिक गरिएको थियो । दिनेश डिसीद्वारा निर्देशित उक्त भिडियोमा अभिनेत्री सञ्चिता लुइँटेल, विशाल पहाडी लगायतको अभिनय रहेको छ । गोपाल आर क्षेत्रीको छायाँकन रहेको भिडियोमा माधव बेल्बासेको सम्पादन रहेको छ ।

    कार्यक्रममा वरिष्ठ गीतकार किरण खरेल, रत्नशमशेर थापा, राजेन्द्र थापा, विश्व बल्लभ, श्रीपुरुष ढकाल, उन्नती शीला बोहरा, वरिष्ठ गायक प्रेमध्वज प्रधान, रामेश श्रेष्ठ, वरिष्ठ संगीतकार शम्भूजित बास्कोटा, शक्ति बल्लभ, राजु सिंह लगायत गीतसंगीत क्षेत्रका करिब ६ सय विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु