
काठमाडौं । नेपालको राष्ट्रगानका रचयिता ब्याकुल माइला (प्रदीप कुमार राई)लाई पितृशोक परेको छ । आज गएराति १ बजेतिर ओखलढुंगाको हिलेपानीस्थित उनका पिता मानबहादुर राईको निधन भएको हो ।
उनको जन्म वि.सं. २००४ साल असोज महिनामा भएको थियो । वीस वर्षसम्म स्थायी शिक्षण सेवा गरी निवृत्त जीवन कालमा गा.वि.स. अध्यक्ष र जिल्ला विकास सदस्य भई जीवनभर समाज र राष्ट्रको सेवामा क्रियाशील रहेका राईको गएराति निधन भएको कुरा सामाजिक सञ्जालमार्फत गीतकार व्याकुल माइलाले लेखेका छन् ।
उनले फेसबुकमार्फत् लेखेका छन्– ‘आर्दश र निष्ठावान व्यक्तिका धनी सामाजिक जीवनमा सधैं समर्पित पिता पाएरै म आज सिङ्गो देशको माया पाउन सफल व्यक्ति हुने सौभाग्य पाएको छु । उहाँको निधनले धरा भासिएको, आकास खसेको, जताततै पहिरो चलेको आभाष गरेको छु ।’
मानबहादुर राई विगत केही वर्षदेखि हेमाटोमा र मधुमेह रोगबाट पीडित थिए । नियमित ६ थरी औषधि सेवन गर्दै आएका राई केही दिन यतादेखि अलि असहज महसुस गर्दैआएका थिए । आज राती शौचालय गई फर्केर सुकला गर्ने वित्तिकै उनको निधन भएको बताइएको छ ।