मन्जु पौडेल, गायिका एवं कार्यक्रम संचालिका
काठमाडौं, २८ बैशाख । कार्यक्रम प्रस्तोताको रुपमा परिचित भएकी गायिका मन्जु पौडेल आफूलाई गायिका भन्दा पनि कुशल कार्यक्रम संचालिकाको रुपमा चिनिएको बताउँछिन् । आफ्नो गायन र कार्यक्रम संचालनको क्रममा भएका अनुभवका साथै गीतसंगीतको क्षेत्रमा भएका गतिविधिसँग केन्द्रित रहेर उनीसँग म्यूजिक खबरका लागि मन्जु पौडेलसँग नारायण ढकालले गरेको कुराकानी :
तपाईं आफूलाई गायिका, नायिका वा कार्यक्रम प्रस्तोता के भनेर चिनाउनुहुन्छ ?
दर्शकस्रोताले जसरी चिन्नुभएको छ म त्यही मन्जु पौडेल हुँ । म पहिला त एउटा राम्रो कार्यक्रम प्रस्तोता हुँ । त्यसपछि गायिकाको परिचय दिन्छु ।
बाल्यकाल ?
बाल्यकाल मेरो गुल्मी जिल्लाको बंघा गविसमै बित्यो । म एउटा चन्चले, नजानेर पनि बाठी स्वभावको । मेरो स्कुले जीवन उतै गाउँतिर बित्यो । त्यही स्वभाव अहिलेसम्म जारी छ ।
बाल्यकालको अविश्मरणीय क्षण ?
धेरै छन् । त्यो मध्ये आठ कक्षामा पढ्दाखेरी एकजना केटा साथी हुनुहुन्थ्यो । मलाई उहाँले मन पराउनुहुँदोरहेछ । त्यो मैले थाहा पाउँदा मैले उहाँलाई सजायँ दिएको थिए । त्यो बच्चा स्वभावका बेला दिएको सजायँ अहिले पश्चाताप लागिरहन्छ ।
अहिले पनि त केटाहरु पछि लागेका होलान् नि ?
अहिले त बुझ्ने भएको छु । त्यतिबेला मैले बुझिनँ । एउटा सेलीब्रेटी, केटीको पछाडि केटाहरु लागेनन् भने त त्यो के सेलीब्रेटी ? त्यसको अर्थ नै रहँदैन । केटीको पछाडि केटाहरु लागेनन् भने केटी हुनुको कुनै अर्थ छैन ।
काठमाडौं कहिले प्रवेश गर्नुभयो ?
म २०६५ सालमा काठमाडौं आएको हुँ । म बुटवलमा छँदा २०६० सालदेखि नै रेडियोमा काम गर्थें । काठमाडौं आएपछि म स्टार एफएममा काम गरेँ । त्यसपछि म काठमाडौं आएर नेपाल टेलिभिजनमा कार्यक्रम प्रस्तोताको रुपमा काम गरेँ । गीतसंगीतको कार्यक्रम संचालन गर्दै जाँदा मलाई गीतसंगीतको पनि मोह बढ्यो र गायनतर्फ मोडिएँ ।
यो ठाउँसम्म आइपुग्दा कत्तिको संघर्ष गर्नुप¥यो ?
अवश्य नै । कुनै पनि सफलता पाउनको लागि मेहनत गर्न पर्छ नै । अझै पनि म स्ट्रगलकै पिरेडमा छु । स्थापित हुनका लागि निरन्तर आफ्नो कार्यक्रमा लगनशील भएर लागिरहेको छु ।
मिडियाले कत्तिको सपोर्ट गरेको छ, भेदभाव कत्तिको हुन्छ ?
म आफैंले एडभरटाइज गरेर पर्सन टु पर्सन लोकप्रियता कमाएको मान्छे हुँ । म कुनै पनि इलोक्ट्रोनिक होस् या पेपरका साथी सबैले सहयोग गरेका छन् । भेदभाव भन्ने कुरा मिडियाका केही आरजेहरुबाट हुँदो रहेछ । कुनै ठाउँमा मलाई प्रोग्राम चलिरहेको बेला आरजेहरुले त्यस्तो कुरा गरेको मैले सुनेको छु । मलाई त आयोजकले पो बोलाएको हो । रेडियोकर्मीलाई डाह हुँदोरहेछ तर मलाई त्यस्ता कुराले कुनै असर पर्दैन ।
तपाईंको विचारमा संगीत के हो ?
गीतसंगीत भनेको हामी सबैको मेडिशन हो । मैले छोटकरीमा भन्नु पर्दा जसरी हामी जीउनका लागि सबै कुराको आवश्यकता पर्छ त्यसरी नै यो संगीतको आवश्यक परिरहेको हुन्छ । संगीत अमूल्य छ ।
तपाईं त आफ्नो मात्रै गीत गाउँदै आउनुभएको छ, अरुको गीत गाउने अफर आएको छैन ?
अफर नआएको भने पक्कै होइन, तर मैले आफूलाई व्यवसायिक गायिकाको रुपमा लिएको छैन । यस मानेमा की मैले अझै सिक्नु पर्ने छ, एउटा राम्रो गायिका बन्नका लागि अझ धेरै मेहनत गर्नै बाँकी छ । म राम्रो सिङ्गरको रुपमा स्थापित भइसकेको छैन । त्यसैले म जहिले गायनमा सफल हुन्छु त्यो बेला अरुको गीत पनि गाउनेछु ।
गीत निकालेर लगानी खेर जाँदैन, यसबाट बाँच्न सकिन्छ त ?
पैसा कमाउने उद्देश्यले गीत गरेको छैन । मैले मात्र पर्फमको लागि र लोकप्रियताको लागि गीत निकाल्ने गरेको छु । लोकप्रिय गीत बजारमा ल्याउन सकियो भने स्टेज पाइन्छ । एकातिर म गीत निकालेर स्टेज पाउँछु भने अर्कोतिर म एउटा कार्यक्रम संचालिका भएका कारण पनि डबल पार्टका लागि स्टेजहरु पाइरहेको छु । यसरी नै स्टेजहरु पाइरहेँ भने बाँच्न सकिन्छ ।
पाइरेसी बढ्यो भनिन्छ, यसलाई कसरी रोक्न सकिएला ?
हामी गायक गायिकाहरु पाइरेसी बढ्यो भन्ने त गर्छौ नै तर प्रविधिको विकाससँगै चोरी पाइरेसी बढ्छ नै । तर हाम्रो नेपाली गीत संगीतमा पाइरेसीको कुरा भन्दा पनि सिस्टमको कुरा मुख्य हुन आउँछ । संगीतको क्षेत्रमा कुनै नीति नियम लागू नै हुँदैन, सिस्टमको कुरा नै हुँदैन भने त्यहाँ चोरीको कुरा सामान्य हुन्छ । यसलाई रोक्नका लागि गायक गायिका एवं संगीतकर्मीको साथमा सरकारले पनि पहल गर्नुपर्छ ।
कतिवटा एल्बम बजारमा ल्याउनुभयो ?
अहिलेसम्म चार वटा तिजको एल्बम, तीन वटा लोकदोहोरी र लोकपप गीत बजारमा ल्याएको छु । त्यस्तो टिपिकल लोकगीत भने गाएको छैन ।
प्रेमलाई कसरी परिभाषित गर्नुहुन्छ ?
प्रेम त राम्रो कुरा हो । यसलाई पोजेटिभ तरिकाले हेर्नुपर्छ । प्रेम सबै ठाउँमा आवश्यक हुन्छ । तर प्रेमका नाममा यूज एण्ड थ्रो गर्ने उद्देश्य बोकिएको हुन्छ भने नराम्रो हो । उमेर अनुसारको प्रेम हुन्छ तर त्यो स्वच्छ मनले गरिन्छ भने अमर बन्न पनि सक्छ ।
अहिले बजारमा जस्ता पनि गीतसंगीत आइरहेको छ नि, यसलाई कसरी लिनुहुन्छ ?
यो पनि एउटा विकास हो । गीतसंगीतको निर्माणमा प्रविधिको विकासलाई सदुपयोग गरेर नयाँ नयाँ गीतसंगीत निर्माण भइरहेका छन् । तर हामीले गीत संगीत बजारमा ल्याउँदा कि लोकप्रिय बन्नुप¥यो कि भने मौलिकतालाई प्रमुखतामा राख्नुप¥यो । विकाससँगै विसंगति आउनु भनेको सामान्य हो ।
यस्तो विकृति रोक्न के गर्नुपर्ला ?
गीतसंगीतमा पनि सेन्सर बोर्ड हुनुपर्छ । कुनै पनि क्राइट एरियाबिना जस्ता पायो त्यस्तै गीतसंगीत बजारमा आउँदा कसको गीत कुन हो भन्ने छुट्याउन गाह्रो भएको छ । यसका लागि सम्बन्धित निकायले नीति नियम लागू गर्दै सेन्सर बोर्डको स्थापना गर्नु सरकारको कर्तव्य हो भन्ने लाग्छ ।
नयाँ आउनेहरु गीत राम्रो नहुँदा पनि चर्चामा हुन्छन् नि ?
कला र गला भन्दा पनि उनीहरु पैसाको भरमा चर्चा कमाउन खोजेका हुन्छन् । पैसाकै भरमा गीत सबै मिडियामा बजाइरहने र मेरो गीत एक नम्बर छ भन्ने, सिआरबिटीमा पनि आफैं कार्ड किनेर हालिरहने वा पैसा खुवाएर भए पनि नम्बर एकमा ल्याउन खोज्नेहरु पनि यो क्षेत्रमा धेरै छन् । पैसाले मात्रै कलाकार बन्नेहरु धेरै समय टिक्दैनन् । गीतसंगीत भनेको कला र गलामा आवश्यकता हुन्छ ।
अब नयाँ कोसेली के ल्याउँदै हुनुहुन्छ ?
स्रोताहरुलाई नयाँ कोसेली भन्नुपर्दा एउटा लोकपप र पञ्चेबाजाको गीत ल्याएको छु २०७१ सालको कोसेलीका रुपमा मैले ल्याएको यो गीतले पक्कै पनि तपाईंहरुको मन छुने छ । यो गीतको चर्चापछि मैले अरु कोसेलीहरु पनि लिएर आउने नै छु ।