ए मान्छे !
तिमीले मुने आइज भन्दा
म्याँ म्याँ गर्दै
दगुर्दै, लुट्पुटिदै
वरिपरि घुम्दै
तिम्रो कान्छी छोरीसंगै
खेलेर हुर्किएको
मेरो पाठोलाई
कसरी
दशैंको भाग भनेर
छुट्याउँन सक्यौ ?
तिमीलाई जस्तै
हामीलाई पनि
मर्न डरलाग्छ,
जिउँन मन लाग्छ
प्यास लाग्छ,भोक लाग्छ
जाडो गर्मी सबै लाग्छ
हैन भने
किन दूध पिलाउनु पर्थ्यो
हामीलाई पनि
आफ्नो सन्तानको माया लाग्छ ।
ए मान्छे
आफ्नी छोरीलाई
कन्यादान गरेर पठाउँदा
सातगाउँ हल्लाउँने गरी
रुने तिमी
मेरो पाठोलाई
कसरी
दशैंको भाग भनेर
छुट्याउँन सक्यौ ?
हामी पनि
छुट्याउन सक्छौँ आफ्नो र अर्को
हैन भने
अँध्यारोमा तिमी घर आउँदा
किन आवाज दिनु पर्थ्यो ?
खोर छेउमा नयाँ मान्छे आउँदा
गोठै भत्किने गरि
किन कराउनु पर्थ्यो ?
जहाँ चर्न पुगेपनी
घर चिनेर किन फर्किनु पर्थ्यो ?
केहीबेर तिमिलाई नदेख्दा
किन
दाम्लै चुँडालौं जसरी
तिमिलाइ खोज्नु पर्थ्यो ?
ए मान्छे
हामीले तिम्रा पाठालाई
सिँङ्ग सम्म हानेका छैनौँभने
मेरो पाठोलाई
कसरी
दशैंको भाग भनेर
छुट्याउँन सक्यौ ?
आफ्नै सन्तानको
कान र कलेजो पोलेर खानुपर्छ
टाउको उसिनेर
गीदी फ्राइ खानुपर्छ
ह्यकुलो भुटेर खानुपर्छ
ए त्यो आँन्द्रा भुँडी पखाल
आँन्द्रा भुँडीको
भुटन बनाएर, मासु तारेर
खुट्टा प्रेसर कुकरमा
सिटि लगाएर
झोल हालेर खानुपर्छ
यस्तो
संवाद सुनिरहँदा पनि
म एउटी
बाख्राको पाठोको आमा
कसरी बाँचेकीहुँला
के गर्नु
घाँटीमा डोरि छ
तर पनि
झुन्डिएर मर्न सकिएन
ए मान्छे
हामीलाई मर्न पनि
तिम्रै अनुमती पर्खनु रहेछ ।
(पुस्तकप्रसाद)