गायक लक्ष्मीप्रसाद जोशी अर्थात् एलपी जोशी, जसले विनायो बाजालाई विश्वसामु चिनाउनका लागि गीतको माध्यम बनाए । उनले सिर्जना गरेको गीत ‘रिटिङ रिटिङ नबजाउ विनायो विनायोले मन मेरो छिनायो’ जति चर्चा कमायो उति नै विनायो बाजाले पनि चर्चा पायो । पूर्वी भेगमा रहेका किराँतहरुको बाजा जुन पूर्वेली लोकभाकामा प्रयोग गरिने बाजा हो विनायो । जुन गीतको माध्यमले नेपालीहरुको माझमा स्थापित बन्न सफल भएको थियो ।
बिनायो किराँतहरूको परम्परागत नेपाली बाजा हो जो छिप्पिएको मालिङ्गोबाट बनाइन्छ । बाँसको सानो – लगभग छ ईन्चको भाटाको बिचमा खोपेर जिब्रो निकालि दुई छेउमा धागो बाँधेर तथा सुन्दर बुट्टा खोपेर बिनायो बनाएको हुन्छ । यसरी बनाएको बिनायोलाई जिब्राको अगाडि पट्टीको लामो डोरीलाई झड्कारेर बजाईन्छ । यसरी बजाउँदा विभिन्न भाका निकाल्नलाई बिनायोलाई मुखको दुबै ओठमा राखी भित्रवाट हावाको धक्काद्वारा आएको कम्पनलाई जिब्रोबाट प्रभावित गरिन्छ । त्यही विनायोलाई गीतमार्फत लोकिप्रय बनाउने गायक हुन् एलपी जोशी ।
१९९३ सालमा धनकुटा–६ बीचबजारमा जन्मिएका जोशीले आजीवन लोक संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका थिए । बाल्यकालदेखि गीतसंगीतमा चासो राख्ने जोशीले लोकगीत सम्राटको उपाधिसमेत पाइसकेका छन् । खासगरी उनको रिटिङ रिटिङ, वल्लो खोलो, पल्लो खोलो, निगालो घारीमा च्याखुरा नाच्यो, खिपीमा खिपी बिनायो बाजालगायतका गीतहरू बहुचर्चित छन् ।
हिन्दी भजन गाएर सांगितिक यात्रा शुरु गरेका जोशीलाई लागेको थिएन कि सुप्रसिद्ध लोक गायक नै बन्छु भन्ने तर उनी गायक नै भएर अमर भए । २००८ सालमा नृत्य क्षेत्रमा प्रवेश गरेका जोशीले १० सालमा चित्रकला, १३ सालमा गायन र १६ सालमा साहित्य क्षेत्रमा प्रवेश गरेर आफ्नो प्रतिभालाई थप तिखारे ।
वि.सं. २०१३ सालमा पहिलो गीत ‘नेपाली माया नेपालै कस्तो छ, सरमा सर अक्षर लेख्ने नेपाली माया नेपाली कागजैमा’ बोलको रेकर्ड गराएका थिए । २०२० साल पहिल्यै उनका धेरैजसो गीत रेकर्ड भइसकेका छन् । सुनेको कुरा टपक्क टिप्ने खुबी थियो उनमा । प्रायः उनका सबै गीत जनजनको हृदयमा झुन्डिएका छन् । निरन्तर साधना, जादुमय कौशल र मीठो स्वरको कारण उनी विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित भए । २०१९ सालमा राष्ट्रव्यापी लोकगीत सम्मेलनमा तत्कालीन राजा महेन्द्रबाट उनले स्वर्ण पदक थापेका थिए । उनले २०५९ सालमा रेडियो नेपालबाट पनि सुप्रसिद्ध लोकगायकको उपाधि पाएका थिए ।
त्यस्तै लोकसंगीतकै क्षेत्रमा योगदान गरेबापत २०२२ र २०२९ सालमा उत्कृष्ट लोक गायक सम्मान, २०६७ सालमा संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान सम्मान, २०६२ सालमा वाणी प्रकाशन, २०७७ सालमा स्वर सम्राट नारायण गोपालको ३० औ स्मृति दिवस जस्ता ख्याति प्राप्त संघसंस्थाबाट सम्मान र अभिनन्दन पाएका थिए ।
अभिनय, नृत्य, चित्रकला, खेलकूद र साहित्य क्षेत्रमा पनि उनको रस भिजेको थियो । चलचित्र ‘हिजो आज भोलि’ मा उनले नायिका भुवन चन्दसँग कुशल नायकको भूमिका निर्वाह गरेका थिए । उनले नौ चलचित्रमा अभिनय गरेका छन् । उनी निकै रउसे थिए । उनी जहाँ पुगे पनि गीत गाउने छोड्दैन थिए । उनी जति रउसे थिए, उत्तिकै हक्की पनि थिए । ‘बुवाले भजन गाएको देखेर १५÷१६ बर्षमै हार्मेनिमा हात बसाउँदा लागेको थिएन मेरो सांगीतिक क्षेत्रकै ढोका खुल्यो । तर भइदियो त्यस्तै जुन मैले सोचेकै थिइन ’ उनले भने ‘त्यसपछिका दौडधुपले सायदै मात्र साँस्कृतिक कार्यक्रमहरु छाडे ।’ यसैगरी पहिलोपटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य मुनामदनको गीतिनाटकसमेत मञ्चन गरेका थिए।
उनी जहाँ जहाँ जान्थे गीत गाउने इच्छा राखिहाल्थे । धनकुटामा जन्मिएका जोशीको मावली घर धरान । मावली पुग्दा उनले त्यसबेला चर्चामा रहेको शेर्पा भाषाको गीत समेत गाउन छाडेनन् । अर्थै नबुझे पनि उनले सोयाला बोलको गीत गाएर साथीसंगीलाई चकित पारेका थिए । कसैमाथि पनि अन्याय र अत्याचार भए खुलेर लड्नुपर्छ भन्ने हक्की स्वभावका थिए जोशी । त्यसैले त उनी २०१३ सालमा इलामको जेलमा ४ महिना नजरबन्द पनि परे । इलाम हाइस्कूलका प्रधानाध्यापक डीवी गौतमलाई विनाकारण गरिएको गिरफ्तारी गरिएकोबिरुद्धमा लड्दा उनी जेल पुगे । तर ४ महिनापछि छुटे ।
गीत, संगीत र मौलिक संस्कृति संकलन र जगेर्नाका क्षेत्रमा खटेका उनले किराती समुदायको बाजा ‘बिनायो’लाई चिनाएका थिए । उनलाई पनि ‘रिटिङरिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’ गीतले प्रसिद्धीको शिखरमा पु¥याएका थिए । रेडियो नेपालमा रेकर्ड भएको उनको यो गीत चलचित्र ‘हिजो–आज–भोलि’ मा समेटिएको पनि समेटिएको छ । रेडियो नेपालमा उनका तीन दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।
यी जस्तै ‘खिपीमा खिपी बिनायो बाजा मुखैको तालमा बज्दै छ गम्केर चट्टै’, ‘मादलै बज्यो घिन्ताङमा घिन्ताङ–ढोल बज्यो घुम्घुम्ती’, ‘वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो भनेर’, ‘केको माला केको माला सुपारीको माला’, ‘निगालो घारीमा च्याखुरा नाच्यो’, ‘कान्छी मट्याङट्याङ’ उनले गाएका अति लोकप्रिय गीत हुन् । गायक फत्तेमानले गाएको लोकगीत ‘मादलै बज्यो घिन्ताङमा घिन्ताङ’ , पुष्प नेपाली र रुवी जोशीले रेकर्ड गरेको ‘कान्छी मट्याङ–ट्याङ’ गीत जस्ता उनले दर्जनौं गीत संकलन गरेका छन् । जोशीका रेडियो नेपालमा रेकर्ड ४५ मध्ये अधिकांश गीत अझै चर्चित छन् । उनले सयौं गीत गाए पनि मौलिक बाजा बिनायोले नै उनलाई चर्चामा ल्याएका थिए ।
त्यस्तै गीत–संगीत र मौलिक संस्कृति जगेर्नाका क्षेत्रमा खटेका जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो ।
‘रिटिङ रिटिङ नबजाऊ बिनायो’ गीत २०१७ सालमा रेकर्ड भएको थियो । तर पछि २०५३ सालमा म्युजिक नेपालबाट रिटिङ रिटिङ नामको गीति एल्बम निकालेका थिए ।
सातजना दाजुभाइका छैटौं सन्तानका रूपमा रहेका जोशीका ५ दिदीबहिनी छन् । उनका श्रीमती र एक छोराको निधन भइसकेको छ । सबैका आआफ्नै खाले कथाव्यथा हुन्छ नै । उनको पनि छुट्टै जीवन भोगाइ थियो । २०२५ साल चैत ४ गते विन्दासँग प्रणयसूत्रमा बाँधिएका उनले २०६८ साल कात्तिक १८ गते उनीसँगको मीठो साथ गुमाउनुपरेको थियो । श्रीमतीसँग भाइटीकाको बेला भएको संवादले त उनलाई झनै नरमाइलो बनाउने गरेको थियो । दाजुभाई टिका लगाएर बाँकी रहेका दुईटा माला ४ दिनसम्म पनि नओइलाएको श्रीमतीले देखाएपछि उनले श्रीमतीलाई भनेका थिए ‘राखन त भगवानलाई पनि काम लाग्छ नभए आफैंलाई पनि काम लाग्छ’ नभन्दै त्यही माला लगाएर उनले श्रीमतीलाई जीवनबाटै बिदाई गरे । जोशीलाई लागेको थिएन श्रीमती विन्दाले आफ्नै शवका लागि आफै माला उनेकी थिइन भन्ने । तर भइदियो त्यस्तै । श्रीमती विन्दालाई ५८ बर्षको उमेरमा नै बिदा गर्नुपर्दा गायक लक्ष्मी प्रसाद जोशी मात्र होइन जोशी चौक नै नरमाइलो मानिरहेको थियो ।
दर्जनौं गीत गाउँदा पनि श्रीमतीप्रति समर्पित गर्न नपाएका जोशीले उनको मृत्युपछि ०६८ साल पुष ३ गते ‘मेरो मायाको मृत्यु शव वाहन भएर उभियो’ शीर्षकको कबिता लेखे ।
मेरो गीतमा तिम्रो खुशी अब कसले दिन्छ
बिनायोमा जालो लाग्दा कसले पुसिदिन्छ ।।
फोटोसँगै बोल्छु एक्लै मनैभरी बोल्छु
स्वर छैन झझल्कोमा झल्को बनि पोल्छु ।।
ओल्लो खोलो पल्लो खोलो न्याउली रुने पार्यौं
रिटिङ रिटिङ बिनायोको मनै रुने पार्यौ ।।
दुबै मिली संसारलाई हेर्ने आँखा चिम्लिएर
तिम्रो जीवन मेरो माया खरानी भै उड्दै गयो
अभागी दिन कालो खबर भएर उभियो
एकाबिहानै मेरो मायाको मृत्यु शव बहान भएर उभियो ।।
दैबले हान्या बज्र कस्ले रोक्न सक्छ
नियतीको भाग्य रेखा कस्ले छेक्न सक्छ ।।
आफ्नै मुटु फुट्दा पनि बाँच्नु पर्दो रैछ
मायाले मायाले नै साँच्नुपर्दो रैछ ।
श्रीमतीको निधनपछि जोशी चोकको किराना पसलमा आफ्नी अर्धाङ्गिनीसँगै देखिन छाडे । श्रीमतीको यादलाई पसलमै राखिएको फोटोमार्फत भुलिरहेका थिए । बर्षमा एक दिन श्रीमती विन्दाको नाममा स्थापना गरिएको अक्षयकोष मार्फत उनी स्रष्टालाई सम्मान गर्दै आएका थिए । अनेकौं पीडा झेल्दै भए पनि उनी रूचिको क्षेत्रमा लागिरहे । त्यसैले उनी नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेका थिए ।
लोक संस्कृतिको क्षेत्रमा नामी भएका उनले केही महिना पहिले मात्रै डाक्टरको मानार्थ पाएका थिए । ‘उनलाई भारतको इन्डियन युनभिर्सिटीले डाक्टरको मानार्थ उपाधि दिएको थियो । पछिल्लो समयमा राष्ट्रपतिबाट पनि सम्मानित भएका थिए ।
जोशी बोन्साई साहित्य प्रतिष्ठान दमक, अरुण उपत्यका साँस्कृतिक समूह, साहित्य कला संगम दमक, साहित्य चौतारी विर्तामोड, साधना कला केन्द्र धरान, दमक क्याम्पस साहित्यिक मञ्च जस्ता दर्जनौं संघसंस्थासँग आबद्ध रहेर काम गरेका थिए । साहित्य लेखनका समेत प्यासी जोशीले लोक गीत, लोक गजल र कविताको संगालो ‘अनावृत्ति’ २०६० सालमा नै सार्वजनिक गरेका थिए ।
‘ओल्लो खोलो पल्लो खोलो
कमिलाको गोलो भनेर
हो राना ज्यू, कमिलाको गोलो भनेर ।
च्याट्टै पारी सिइदेउ दर्जी
च्याट्टै पारि सिइदेउ दर्जी
कान्छी ल्याउने चोलो भनेर हौ राना ज्यू कान्छि ल्याउने चोलो भनेर ।’
कान्छी ल्याउने चोलो सिउन दर्जीलाई विन्ती गरिरहेका जोशी बुढेसकालमा बरु एक्लै भए । श्रीमतीको निधनपछि उनले कान्छी ल्याउने हिम्मत गरेनन् । श्रीमती विन्दालाई गुमाएपछि उनी ८ बर्षदेखि एक्लै जीवन गुजारिरहेका गायक जोशीको ८८ वर्षको उमेरमा २०८१ साउन १० गते निधन हुन पुग्यो । राष्ट्रले एक अमूल्य निधि गुमायो तर गायक जोशी सदासर्वदा अमर भए । उनकोे सिर्जना सदाबहार बनिरह्यो ।