
काठमाडौं । नेपाली सुगम संगीत क्षेत्रकी प्रतिष्ठित एवं वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा ‘शीला’को एकल सांगीतिक साँझ आयोजना हुने भएको छ। विगत ६० वर्षदेखि साहित्य र ५४ वर्षदेखि गीत लेखनमा निरन्तर सक्रिय उहाँको सम्मान र सिर्जनाहरूलाई समेटेर “फर्की आऊ शान्ति तिमीः उन्नती शीला संगीत समर्पण साँझ” आयोजना गर्न लागिएको हो।
गीत–संगीत क्षेत्रको उत्थान र उठान गर्ने उद्देश्यका साथ स्थापना भएको ‘उन्नती बोहरा “शीला” गीत पुरस्कार मञ्च २०८३’ को आयोजनामा यो कार्यक्रम हुन लागेको हो।
आगामी कार्तिक १५ गते शनिबार काठमाडौँको भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा अपराह्न ठीक २स्०० बजेबाट कार्यक्रमको भव्य शुभारम्भ हुनेछ।
वि।सं। २०२३ साल भाद्र ४ गते ‘आमा म हारेकी छैन’ नामक देशप्रेमको कविताबाट आफ्नो साहित्यिक यात्रा सुरु गर्नुभएकी शीलाले २०२९ सालमा ‘डाँडा काँडा ढक्कमक्क ढाकी गुराँस मुस्कुराउँदा’ बोलको पहिलो गीत सिर्जना गर्नुभएको थियो।
विशेष गरी वि.सं. २०५८ सालमा देशमा द्वन्द्व चुलिएका बेला उहाँले शान्तिको आह्वान गर्दै रचना गर्नुभएको कालजयी गीत ‘फर्की आऊ शान्ति तिमी’ लाई नै मुख्य शीर्षक बनाएर यो एकल साँझको परिकल्पना गरिएको हो।
लामो सांगीतिक यात्राका क्रममा उहाँले सिर्जना गर्नुभएका ‘सिमलको फूल सरी’, ‘मेरो शून्य शून्य बानी’, ‘बदनाम हुन देऊ’, ‘खोला जस्तै बगिरहेछु’, ‘तिम्रो आसक्ति का’ र ‘धर्तीको सन्देश’ जस्ता अनेकौँ मर्मस्पर्शी, सुगम एवं राष्ट्रभक्तिपूर्ण गीतहरू नेपाली संगीत आकाशमा निकै लोकप्रिय र चर्चित छन्।
कार्यक्रमको व्यवस्थापन ग्ल्यामर प्लस (Glamour Plus) ले गरिरहेको छ भने डिजिटल पार्टनरका रूपमा म्युजिक नेपाल (Music Nepal) रहेका छन्।