आलाप रेकर्डिङ स्टुडियो र लाइभ दोहोरी स्टुडियोको उद्घाटन

म्यूजिक खबर
प्रकाशित: ३० फाल्गुन २०७५, बिहीबार

काठमाडौं । आलाप म्यूजिक रेकर्डिङ स्टुडियो र आलाप लाइभ दोहोरी स्टुडियोको सामाखुशी शाखाको हिजो एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । वरिष्ठ गायक, संगीतकार एवं चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा दोहोरीको उद्घाटन गरिएको हो ।
कार्यक्रममा वरिष्ठ गायिका एवं राष्ट्रिय सभा सदस्य कोमल वली, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका वरिष्ठ उपाध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी, रापती समाज काठमाडौंका अध्यक्ष प्रविन रेग्मी, निवर्तमान अध्यक्ष शशि शर्मा मजगैंया, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी, प्रस्तोता समाज नेपालका कोषाध्यक्ष ईश्वर भुसाल लगायत सयभन्दा बढी गीतसंगीत क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।


सोही कार्यक्रममा विदेशमा बसेर संगीतमा लगानी गर्ने, आलाप स्टुडियोसँग सहकार्य गर्ने कम्पनीहरु, पाँचौं वर्ष पूरा गरेका म्यूजिक अवार्ड आयोजकलाई सम्मान गरिएको थियो । त्यसैगरी मौलिक सिर्जना गर्ने वरिष्ठ गीतकार रमेश बिजी, गायक तथा सर्जक वसन्त थापा, चलचित्र उद्योगमा लोकगीतलाई प्राथमिकतामा राखेर चर्चाको शिखरमा पु¥याउने गायक तथा संगीतकार राजनराज शिवाकोटीलाई सम्मान गरिएको थियो ।

त्यसैगरी गीतसंगीतलाई मात्रै केन्द्रविन्दूमा राखेर पत्रकारिता गर्ने म्यूजिक डायरीका प्रधान सम्पादक तुलसी गिरी ‘भावुक’ र म्यूजिक खबरकी प्रकाशक तथा सम्पादक सविता पोखरेललाई सम्मान गरिएको थियो । त्यस्तै रेडियो पत्रकारितामा गीतसंगीतलाई नै प्रथामिकतामा राखेर लामो समयदेखि क्रियाशील रहेका राजु बोहोरालाई संचारकर्मी सम्मान प्रदान गरिएको थियो ।


त्यस्तै लोक दोहोरीलाई रात्रीकालिन व्यवसायका रुपमा परिमार्जित गर्दै कलाकार उत्पादन एवं कलाकारको जिविकोपार्जनमा महत्वपूर्ण योगदान दिएवापत लोकदोहोरी व्यवसायी संघका अध्यक्ष विनोद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यसैगरी स्टुडियोसँग सम्बन्धित रेकर्डिष्ट, वाद्यवादक र प्राविधिकहरुलाई पनि सम्मान गरिएको थियो भने आलाप लाइभ दोहोरीमा दोहोरी गाउने कलाकारहरुलाई आम्दानीको १० प्रतिशत मुनाफासहित कदर पत्र प्रदान गरिएको थियो ।


कार्यक्रममा बोल्दै आलाप स्टुडियोका संचालक झलक संगीतम्ले जो जहाँ बाट काम गरे पनि आखिर गीतसंगीत क्षेत्रकै श्रीबृद्धिमा काम गरिरहेको हुँदा उहाँलाई सम्मान गर्न पाउनु नै आलाप म्यूजिक रकेर्डिङ स्टुडियोको कर्तव्य हुनु आउने बताए । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ गायक, संगीतकार नारायण रायमाझीले झलक संगीतम्को कार्य देखेर आफू निकै खुशी रहेको बताउँदै उहाँको निरन्तरता, क्रियाशीलता र संगीतप्रतिको लगाव नै आजको यो उपलब्धीपूर्ण उचाइ भएको बताए ।

तस्विरः राजु बोहोरा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु