‘अबिरल यात्रा’ मा ज्ञानु राणालाई सम्मान ! राजुको कन्डक्टमा गुञ्जिए हिट गीतहरु !

म्यूजिक खबर
प्रकाशित: २४ माघ २०७५, बिहीबार

स्वर , संगीत र गायनमार्फत नेपाली संगीतमा अटुट योगदान पुर्याएर इतिहास बनाएका स्रष्टाहरुलाई जीवनकालमै सम्मान गर्ने उदेश्यले दि हिडन ट्रेजरले ‘अबिरल यात्रा’ सांगीतिक कार्यक्रम गर्दै आएको छ । संस्कृतिको विकासका लागि अनि पुराना सर्जकलाई नयाँ पुस्तासंग जोड्ने उद्देश्यवाट पनि अविरल यात्रा तेश्रो संस्करण राजधानीमा भव्य रुपमा सम्पन्न भएको छ । यो वर्ष ‘अबिरल यात्रा–२०७५’ मा बरिष्ठ गायिका ज्ञानु राणालाई प्रस्तुत गर्दै रु १ लाख र सरस्वतीको मुर्ती सहित सम्मान गरिएको छ । यसभन्दा अघिका संस्करणमा गीतकार यादब खरेल र संगीतकार दिपक जंगम प्रस्तुत तथा सम्मानित भैसकेका छन् ।


खचाखच संगीतप्रेमी र संगीतकर्मीले भरिएको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा लोकप्रिय संगीतकार राजु सिंहको कन्डक्टमा ‘अबिरल यात्रा’ सम्पन्न भएको हो । गायिका ज्ञानु राणाको सम्मानार्थ भएको पूर्णतः सांगीतिक कार्यक्रम अविरल यात्रा –२०७५ मा गायिका ज्ञानु राणाले नै स्वर भरेका गीतहरु गुञ्जयमान भए । ज्ञानु राणाका स्वरमा सार्वजनिक भएका अन्दाजी २ सय गीतहरु मध्ये लोकप्रियता पाएका १४ गीतलाई समारोहमा प्रस्तुत गरिरहँदा कार्यक्रममा सांगीतिक माहोल छाउन पुग्यो ।

गायिका ज्ञानुलाई रु एक लाख सहित सम्मान अर्पण गरिएको ‘अबिरल यात्रा’ कार्यक्रममा नेपालका उत्कृष्ट २१ वाद्यवादकको राम्रो अर्केष्टा प्रस्तुतिमा विभिन्न गायकगायिकाले गीत प्रस्तुत गरेका थिए । गायकहरु सुरजकुमार थापा, महेन्द्र श्रेष्ठ, विकाश राणा गायिकाहरु प्रश्ना शाक्य , सरिता शाही र मिना निरौलाले एकल युगल सामुहिक गीत गाएर ज्ञानु राणालाई साथ दिइरहँदा दर्शक आनन्दीत र रोमाञ्चित बनेका थिए ।

संगीतकार राजु सिंहको संगीत संयोजन तथा परिचालनमा भएको कार्यक्रममा गायिका ज्ञानु राणा चौतारीमा ‘म बसे होला कि’ सदाबहार गीत गाउँदै झुल्किन् । उनले १४ वर्षको उमेरमा बुबा धर्मराज थापाको हात समातेर गीत गाउँन रेडियो नेपाल छिरेको क्षणको स्मरण गरेकी थिइन् । सदा गायनकलाबाट प्रशस्तै चर्चा कमाएकी उनले यात्रामा पनि उपस्थित दर्शकलाईै मन्त्रमुग्ध बनाएकी थिइन् ।

राणाले बुवाकै ‘आज फेरि काफल पाक्यो….’ पनि गाइन् ।


कार्यक्रममा अन्य गायकगायिकाले समेत राणाकै गीत गाए । गायिका प्राश्ना शाक्यले ‘अब त जाउँ क्यारे घर’ गाउँदा दर्शक उत्प्रेरित बन्न पुगे । गायिका सरिता शाहीले ‘कसैले बुझेन मेरो मनको बहलाई’ र ‘मेरो लोभी आँखाले’ गाउँदा दर्शकबाट उत्तिकै साथ पाइन् । चलचित्र पाश्र्व गायनमा निकै चर्चा कमाएकी अर्की गायिका मिना निरौलाले सुनिल कटवाल रचित ‘मायालु छोडि नदेउ मेरो हात’, ‘पीरै र्पयो कत्तिको’ र ‘आशाको दियो’ गीतहरु प्रस्तुत गरेर दर्शक झुमाएकी थिइन् ।

त्यस्तै सरिता शाही र विकासजंग थापाले ‘शिरीमा शिरी’ महेन्द्र श्रेष्ठ र मिना निरौलाले ‘मान्छेको माया यहाँ’ प्राश्ना शाक्य र सुरजकुमार थापाले ‘च्याङ्बा होइ च्याङ्बा’ सुनाएर दर्शकको ध्यान तानेका थिए । महेन्दै र प्राश्नाले ‘हिरा के हो चिन्नलाई’ गाउँदा पनि माहोल निकै तातेको थियो ।

संगीतकार राजु सिंहले उत्कृष्ट कन्डक्ट गरेको कार्यक्रममा दिनेशराज रेग्मी, रबिन कार्कीढली, कुमार महाराज, दीपक थापा, सुरज श्रेष्ठ प्रधान, सौखिन सिंह, अनुप दास, रूपेश सिंह, सुन्दरकुमार महर्जन, भुवन गन्धर्व, सुधीर चौधरी, मोहनकृष्ण ढली, नारायणदास कार्कीढली, केशव सुनाम, मनोहर सुनाम, किशोर कार्कीढली, विनीता कार्कीढली, निरोज कार्कीढली, अभिषेक कार्कीढली, रत्न विश्वकर्मा र धर्म गन्धर्वले बाजागाजामा साथ दिएका थिए ।

गायिका राणालाई हिडनट्रेजरका अध्यक्ष गोपालसुन्दर लाल कक्षपतीले सरस्वतीको मूर्ति र एक लाख रूपैयाँसहित सम्मान अर्पण गरेका थिए ।
‘अबिरल यात्रा’ आयोजक संस्था दि हिडन ट्रेजर विगत दुई दशकभन्दा लामो समय अगाडीदेखि ‘मिस नेपाल’ नामक सौन्दर्य प्रतियोगिता गर्दै आईरहेको छ । विगत तीन वर्षदेखि ‘अविरल यात्रा’ शिर्षकमा भव्य सांगीतिक कार्यक्रम पनि आयोजना गर्न थालेकोमा चौतर्फी प्रशंसा बढ्न थालेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु