साहित्यकार अनल गौतमका दुई पुस्तक ‘बार्दली’ तथा ‘दाहिने हाते सिक्का र साईकल’ लोकार्पण

म्यूजिक खबर
प्रकाशित: २८ असार २०८०, बिहीबार

काठमाडौं । युवा साहित्यकार अनल गौतमले एकै पटक दुई वटा पुस्तक सार्वजनिक गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साहित्यिक कार्यक्रमका बीच साहित्यकार गौतमको उपन्यास ‘बार्दली’ तथा कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ एकै साथ लोकार्पण गरिएको हो ।

वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार डा.रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणा लगायतका व्यक्तित्वले ती पुस्तकहरु लोकार्पण गरेका हुन् ।

लोकार्पण समारोहमा लेखक गौतमलाई वधाई दिँदै कलाकार मदन कृष्ण श्रेष्ठले गौतमका उपन्यास तथा कथा संग्रह निकै नै रोचक र समयसामयिक लागेको बताएका छन् ।

कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ को समीक्षा गर्दै सञ्चारकर्मी महेश राणाले संग्रहमा समावेश ११ वटा कथामध्ये कुनै न कुनै एक कथाले पाठकले अवश्य छुने धारणा व्यक्त गरे ।

समालोचक डा.रामप्रसाद ज्ञवालीले ‘बार्दली’ उपन्यासको समालोचना गर्दै लेखक गौतमको सरल शैलीमा भावना व्यक्त गर्न शैलीको प्रशंसा गरे । उपन्यासले प्रेमको नयाँ परिभाषा व्यक्त गरेको भन्दै डा।ज्ञवालीले उपन्यासले नयाँ पुस्तालाई केही सन्देशसमेत दिने आशय व्यक्त गरे ।

कार्यक्रममा बोल्दै लेखक गौतमले पुस्तक लेख्न भन्दा सार्वजनिक गर्न कठिन भएको पुरानो अनुभव स्मरण गर्दै यसपटक ऐरावती प्रकाशन प्रालिसंगको सहकार्यमा दुई वटा पुस्तक पनि सहजै सार्वजनिक गर्न सकिएको बताए ।

ऐरावती प्रकाशन प्रालिका प्रमुख रामदेव पाण्डेको अध्यक्षतामा आयोजित समारोहमा पाण्डेले साहित्यका गौतमको लेखन शैलीको प्रशंसा गर्दै विषम परिस्थितिमा छोटो समयकै अन्तरालमा दुई पुस्तक प्रकाशित गरेको बताए ।

मुलतः आख्यान विधामा कलम चलाउन रुचाउने गौतमलाई यसमा पनि कथा तथा उपन्यासमा विशेष रुची छ ।

२०३८ साल असार १७ गते हेटौंडा–५, मकवानपुरमा जन्मिएका साहित्यकार गौतमले २०६४ सालमा ’शुभ प्रभात’ शीर्षकको हाईकु संग्रह प्रकाशन गर्दै औपचारिक साहित्यिक प्रकाशनको यात्रा प्रारम्भ गरेका हुन् । त्यसपछि साहित्यकार गौतमले २०६६ सालमा कविता संग्रह ‘चिनारी’ सार्वजनिक गरेका थिए ।

गौतमलाई साहित्यकारको रुपमा स्थापित गर्ने काम उनले २०७० मा प्रकाशित गरेको कथोपन्यास ‘घाट घाटका कथा’ ले गर्यो । यो कथोपन्यासमार्फत उनी पाठकको मन–मनमा बस्न सफल भएका थिए । २०७० सालमै गौतमले गीति संग्रह ’सरसी’ पनि प्रकाशित गरेका थिए ।

कथा संग्रह ‘दाहिने हाते सिक्का र साईकल’ मा के छ ?

कथा संग्रह ‘दाहिने हाते सिक्का र साइकल’ मा कुल ११ वटा कथाहरु समावेश गरिएको छ । यो कथा संग्रहमा फरक परिदृष्यका कथाहरु समावेश गरिएका छन् । यो कथा संग्रहमा साहित्यकार गौतमले बाल्यवस्थाका कथादेखि लिएर यौवन अवस्थाका मानवीय संवेदनामा आधारित कथाहरु समावेश छन् । विगत अनि वर्तमानका हाम्रै वरपरका भौगोलिक क्षेत्रभित्र बाल तथा युवा मनोविज्ञानलाई चित्रण गर्दै सामाजिक वस्तुस्थितिलाई समेत जोडेर लेखिएका कथाहरु जिवन्त प्रतित हुन्छन् । यो पुस्तकका केही कथाहरु अलि काल्पनिक झैँ लागेता पनि तिनको वर्णनले यथार्थता झल्काउने कोशिस भने गरेकै छन् ।

‘बार्दली’ मा युवा वर्गले भोगेका अनुभवहरु

लेखक गौतमको यसअघिको उपन्यास ‘लभ एट २५’ को दोश्रो भागको रुपमा लेखिएको उपन्यास हो– ‘बार्दली’ । यो उपन्यासमा एक जना संर्घषशील युवाको कथा हो । पहाडबाट काठमाडौं झरेको एउटा विद्यार्थी, युवाको मेहेनत, उसको जीवनमा आउने विविध उतार–चढाव तथा त्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित यो उपन्यासले हालका युवा वर्गले भोगेका अनेकौं अनुभवहरु समेटिएको छ । ‘बार्दली’ उपन्यासमार्फत उपन्यासकार गौतमले थोरै रोमान्टिक, थोरै पीडाबोध अनि यथार्थपरक जीवन भोगाई झैँ लाग्ने शैलीमा लेखकले पाठकलाई आकर्षित गर्न खोजेको देखिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु