
काठमाडौ । नेपाली सुगम सङ्गीत तथा फिल्मी दुनियाँमा दर्जनौं कालजयी र ब्लकबस्टर गीतहरू पस्केर श्रोताको मन जितिसकेका चर्चित सङ्गीतकार अर्जुन पोखरेल अब चलचित्र निर्माताका रूपमा सिने बजारमा होमिएका छन्। उनले निर्माण गरेको पहिलो महत्त्वाकाङ्क्षी नेपाली चलचित्र ‘बेहुली’को आधिकारिक पोस्टर (फर्स्ट लुक) सार्वजनिक भएको छ । योसँगै चलचित्र उद्योगमा उनको यो नयाँ ‘इनिङ’लाई निकै चासो र उत्सुकताका साथ हेरिएको छ।
लामो समयदेखि केवल धुन र शब्दको जादुमयी संसारमा रमेका अर्जुन पोखरेलले ‘बेहुली’मार्फत पहिलोपटक चलचित्र निर्माण (प्रोडक्सन) मा हात हालेका हुन्।
चलचित्रको सङ्गीत निर्देशन पनि आफैँले सम्हालेका अर्जुनले यसमा तिजको उल्लासमय माहौल र बेहुलीको मर्मस्पर्शी कथालाई सङ्गीतमय रूपमा जोड्ने प्रयास गरेका छन्।
मण्डला थिएटरमा आयोजित पोस्टर रिलिज कार्यक्रममा टिमले मिडियासामु फरक शैलीको प्रवर्द्धन पस्किए। जहाँ मुख्य कलाकारहरू पारस बम ठकुरी र दिव्या रायमाझी हुबहु पोस्टरकै विद्रोही अवतार (बेहुली पहिरन र हतकडी) मा प्रस्तुत भएका थिए।
सार्वजनिक पोस्टरमा नव(नायिका दिव्या रायमाझी वैवाहिक रातो पहिरनमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय) को छातीमा टाउको अडेसाएर भावुक मुद्रामा देखिएकी छिन्। पोस्टरमा सबैभन्दा बढी ध्यान तान्ने तत्त्व भने पारसको हातमा लागेको हतकडी र अनुहारको चोट हो। निर्माता अर्जुन पोखरेलका अनुसार यो चलचित्र केवल सामान्य प्रेमकथा मात्र नभएर एउटा गम्भीर सामाजिक र कानुनी द्वन्द्वको त्रिकोणात्मक कथा हो, जसले दर्शकलाई ‘यो प्रेम हो कि अपराध’ ? भन्ने दोधारमा पार्नेछ।
यस चलचित्रलाई सशान कँडेलले निर्देशन गरेका हुन् भने कथा माधव शर्माले लेखेका हुन्। चलचित्रमा पारस र दिव्याका साथै सुशान्त कार्की, सरिता गिरी, विशाल पहारी र पदम तामाङ जस्ता पोख्त कलाकारहरूको अभिनय छ। नरेन्द्र मैनालीको छायाङ्कन रहेको यस चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलले सुरक्षित गरिसकेको छ।
‘द डिभाइन म्युजिक’ र ‘सम्मान इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्मित यो चलचित्र आगामी हरितालिका तीजको पावन अवसर पारेर भदौ २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ ।