रहेनन् साहित्यकार एवं भाषाशास्त्री बालकृष्ण पोखरेल !

म्यूजिक खबर
प्रकाशित: १२ फाल्गुन २०७५, आईतवार

बिराटनगर । वरिष्ठ साहित्यकार एवं भाषाविद् प्राध्यापक बालकृष्ण पोखरेलको निधन भएको छ । गएको शनिबार विराटनगरको श्री अस्पतालमा भर्ना भएका पोखरेलको शनिबार राति निधन भएको हो ।

मस्तिष्कघातबाट पीडित प्राध्यापक पोखरेलको रक्तचाप एक्कासी घटेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । भाषाविद् पोखरेल एक महिनादेखि थलिएका थिए । ८६ वर्षीय प्राध्यापक पोखरेललाई भारतको सिक्किममा रहेको गान्टोकमा छोरीको घर गएको बेलामा मस्तिष्कघात भएको थियो ।

गान्टोकबाट काठमाण्डौ ल्याई उनको नर्भिक अस्पतालमा उपचार भएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि उनलाई विराटनगर ल्याएर स्पार्क अस्पतालमा उपचार गराइरहेकोमा एक्कासी स्वास्थ्य बिग्रिएपछि गएको शनिबार श्री अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि उनलाई घर लगिएको थियो । उनको शनिबार राति १ बजे विराटनगरको जलेज रोडस्थित आफ्नै घरमा निधन भएको हो ।

पोखरेलले १ सय ३० वटा बढी पुस्तक लेखेका छन् । उनले बालकृष्ण पोखरेलकै नामबाट भने ३ वटा पुस्तक मात्र लेखेका छन् । खस जातिको इतिहास, ५०० वर्ष र भाषाको शब्दकोष लेखेका छन् । उनलाई नजिकैबाट अध्ययन गरेकी कवि सीमा आभाषका अनुसार पोखरेलले आफ्नै नामबाट पुस्तक कति लेखे भन्ने थाहा नभए पनि विभिन्न नामबाट उनले पुस्तक लेखेका थिए ।

साहित्य योगदान
पोखरेलको जन्म वि।सं। १९९० भाद्र कृष्णाष्टमीमा भएको हो । बाबु सुब्बा शारदा पोखरेल र आमा कृष्णछायाँदेवीका सुपुत्रका रूपमा चिसापानीगढी, मकवानपुरमा भएको हो । उनी रूपावासी, वसन्त, वत्सल, इसावापुर, लक्ष्मीविलास पाध्या, केकेमनुक्च्यो पोखरेल, गढतिरे साहिलो, हिमालपाने बराल आदि उपनामबाट पनि नेपाली साहित्यका क्षेत्रमा चिनिन्छन् ।

उनी कलकत्ता विश्वविद्यालयबाट ऐतिहासिक भाषाशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न रहेका थिए । २०२७ सालदेखि २०३६ सालसम्म महेन्द्र मोरङ क्याम्पसमा र स्नातकोत्तर क्याम्पस खुलेपछि सोही क्याम्पसमा भाषाविज्ञान प्राध्यापन गर्ने पोखरेलले २०४६ मा अवकास लिएर स्वतन्त्र रूपमा अध्ययन गरेको पाइन्छ ।

उनी २०३६ देखि २०४१ सम्म नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य रहे । यही समयमा उनले बृहत् नेपाली शब्दकोशको सम्पादनमा गहनतम योगदान पुर्‍याएका छन् । पोखरेलले विभिन्न छद्म नामबाट विभिन्न कृतिहरूको रचना गरेका छन् । पोखरेल अनेक भाषिक तथा साहित्यिक संस्थाहरूमा आवद्ध थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु