• एकैघरमा सभ्यताको त्रिवेणी

    म्यूजिक खबर
    प्रकाशित: ३१ श्रावण २०७१, शनिबार

    काठमाडौं, ३० साउन । गीतकारत्रय रमेश सुवेदी, दामु मार्सिफुल र कविता उपाध्यायको लेखनको त्रिवणी सभ्यता आज राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । एकैघरका तीन स्रष्टा रमेश, दामु र कविताको शब्द रचनामा तयार पारिएको सभ्यताको वरिष्ठ गीतकार एवं गजकार डा.कृष्णहरि बरालद्वारा लोकर्पण गरिएको हो । आधुनिक गीतहरुको संग्रह लोकर्पण समारोहमा वरिष्ठ संगीतकार बुलु मुकारुङ, गायक शिशिर योगी, गीतकार भावेश भुमरी, रवि प्राञ्जल, संगीतकार अविद लगायतको उपस्थिति रहेको थियो । रापती समाज काठमाडौंका अध्यक्ष शशि शर्मा मजगैँयाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित स्रष्टाहरुले सभ्यतामाथि केन्द्रित रहेर बोलेका थिए । तीनजना गीतकारको गीत समावेश भएको सभ्यता एल्बमको सम्पूर्ण संगीत भने सन्तोष श्रेष्ठले गरेका छन् ।
    सभ्यता लोकार्पण कार्यक्रममा मन्तव्य दिँदै कविता उपाध्यायले एकै घरका परिवारले रोल्पादेखि आएर काठमाडौंमा भेला भइ स्रष्टाहरुका सामु आफूलाई उभ्याउन पाएकोमा खुशी व्यक्त गर्दै एकघरका हामी तीन स्रष्टाले सांगीतिक सभ्यता दिन सफल भएको बताएकी थिइन् । उनले सभ्यता तयारका क्रममा र आफ्नो गीति लेखनको बारेमा प्रष्ट पारेकी थिइन् । त्यस्तै दामु मार्सिफुलले संगीतकार सन्तोष श्रेष्ठसँगको सामिप्यता र साहित्यिक परिवारभित्रका आफूहरुको बारेमा बताएका थिए । उनले रोल्पादेखि भोजपुर जोडिएको भए पनि रोल्पादेखि नेपालसम्मको यात्रामा आफूहरु हिंडेका बताएका थिए । संगीतकार श्रेष्ठसँगको सुरुवातका दिनहरुलाई स्मरण गर्दै उनले आफ्नो गीति लेखन र संगीतकार सन्तोष श्रेष्ठको संगीतको सुरुवातका बारेमा रोचक प्रसंगहरु सुनाएका थिए भने संगीतकार श्रेष्ठले पनि आफ्नो बाल्यकालको रोचक प्रसंग सुनाउँदै संगीतको यात्रामा आफ्नो प्रवेश र सभ्यताको निर्माणका बारेमा प्रष्ट पारेका थिए । श्रेष्ठले आफ्नो परिवार र स्कुलदेखि नै बच्चाहरुलाई चाहेको कुरा गर्न पाउने अधिकार प्रदान गर्न सकियो भने उनीहरुले आफ्नो बाटो आफैंले तय गर्न सक्ने बताउँदै डर त्रासभित्र कुनै पनि सिर्जना बन्न नसक्ने बताएका थिए ।
    त्यस्तै कार्यक्रमका अतिथि संगीतकार अविदले संगीतकार श्रेष्ठको संगीतमा तयार भएको सभ्यतामा एकैघरका तीन स्रष्टाको सिर्जनाले सशक्त बनेको बताउँदै सफलताको शुभकामना दिएका थिए भने गीतकार भावेश भुमरीले सभ्यता एल्बममाथि समीक्षा गरेका थिए । भुमरीले सभ्यताभित्रका गीतहरुमाथि केन्द्रित रहेर दामु मार्सिफूलको पहिलाका गीतले आफूलाई छोएको र अहिलेका गीतले पनि छुन सफल भएको बताएका थिए । सभ्यतामाथि केन्द्रित रहेर संगीतकार एवं समीक्षक बुलु मुकारुङले भावेश भुमरीसँगको पुरानो यादलाई सम्झँदै ‘प्यूठानकाले गीत लेख्छन् ?’ भन्ने गरेको भए पनि आज मध्यपश्चिम गीतसंगीतको उर्वरभूमि भएर आएको बताए । मुकारुङले अहिलेको गीतसंगीतको उद्योग गीतकारले नै धानेको बताउँदै गीतकार रमेश सुवेदीले आफ्ना भाइबुहारीलाई पनि सँगै लिएर सांगीतिक दौरानमा हिंड्नु भएकोमा बधाइ दिएका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बरालले सभ्यतामाथि प्रकाश पार्दै गीतकार त्रय र संगीतकार श्रेष्ठको सांगीतिक यात्रा निकै सफलताको श्रेष्णीतर्फ उचाइ लिँदै गरेको बताए । बरालले गीतसंगीतको अहिलेको अवस्थामा सर्जकहरुको सिर्जना आइरहनुपर्ने बताउँदै रमेश सुवेदी, दामु मार्सिफुल र कविता उपाध्याय एकै घरका स्रष्टाहरु गीत लेखनको अभियानमा लाग्नुले पनि हामी सिर्जनशील परिवार हुनुपर्छ भन्ने समाजमा सन्देश जानु हो भन्ने बताएका थिए । बरालले पुराना गीतहरुका याद गराउँदै गीत लेखन भनेको सरल, सबैले रुचाइने खालको हुनुपर्ने बताएका थिए । राप्ती साहित्य परिषद र रापती समाज काठमाडौंको आयोजनामा कार्यक्रम दीपु दर्पणले संचालन गरेका थिए । एल्बमभित्र रहेका पाँच वटा गीतहरुमा अन्जु पन्त, प्रमोद खरेल, स्वरुपराज आचार्य, कृष्णभक्त राई लगायतको स्वर रहेको छ ।

    2 3 4 5 6

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु