चक्र र शान्तिश्रीको स्वरमा गढवाली गीतको नेपाली भर्सन ‘चियाको होटल’

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०८०, शुक्रबार

काठमाडौं । गढवाली गीतको नेपाली भर्सन ‘चियाको होटल’ सार्वजनिक भएको छ । गढवाली गीतमा ‘चाहको होटल’ नामले लोकप्रियता हासिल गरेको यो गीत नेपाली भर्सनमा पनि नयाँ रेकर्ड गरी भिडियोसहित सार्वजनिक भएको छ । नेपाली भर्सनमा गायक चक्र बम र गायिका शान्तिश्रीले स्वर दिएका छन् । असिम मंगोलीको संगीत उत्पादन रहेको यो गीतको नेपाली शब्द सिर्जना भने चक्र बमको रहेको छ ।

मशकबीन नेपाल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको यो गीतको म्यूजिक भिडियोमा भने गायक चक्र बम र इन्डियन नायिका श्वेता महराले अभिनय गरेका छन् । प्रकाश भट्टको कोरियोग्राफी एवं निर्देशन रहको यो भिडियोको छायाँकन नवराज उप्रेतीको टिमको रहेको छ । भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।
‘चाहको होटल’ गढवाली गीतको भर्सन भने मशकबीन यूट्यूब च्यानलबाट सार्वजनिक भएको छ । जुन गीत अहिले १८ मिलियन भन्दा बढीले हेरिसकेका छन् । जुन गीतको भिडियोमा पनि नायिका श्वेता महराले नै अभिनय गरेकी छन् ।

भारतको उत्तराखण्डको मौलिक संगीत र नेपाली संगीतलाई जोडेर बिश्व बजारमा संगसंगै लैजाने हिसाबले यो सहकार्य भएको निर्देशक प्रकाश भट्टले जानकारी दिए । “चाहको होटल” Mashakbeen studio बाट बजारमा आएको हो । अब नेपाली गीतलाई गढवाली भाषामा रेकर्ड गराउने र गढवाली गीतलाई नेपाली भाषामा रेकर्ड गराएर सहकार्यका साथमा गीतको बजार विस्तार एवं व्यवसायिकीकरण गर्ने लक्ष्यका साथ यो सहकार्य अघि बढेको निर्देशक भट्टले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु