पहिचान हराएका हातहरुको कथासङ्ग्रह ‘टाँकीको फूल’

म्यूजिक खवर
प्रकाशित: १९ पुष २०७५, बिहीबार
  • सुमन बैरागी/म्यूजिकखबर

दाजु गुरुङ नेपाली भाषा साहित्यका असल विद्यार्थी हुन् । नेपाली साहित्यको लागि नेपाल बाहिर दार्जिलिङपछि हङकङलाई लिइने गरिन्छ । अझ भन्नुपर्दा नेपाली साहित्यको ‘हब’ बनिरहेको छ हङकङ । संखुवासभामा जन्मिएर सपनाको फूल टिप्न विदेशिनेहरुमध्येका एक हुन् दाजु गुरुङ । पूर्व प्राध्यापकसमेत रहेका दाजु गुरुङ धेरै नेपाली युवाहरुजस्तै सपनाको शहर काठमाडौं हुँदै अझै ठूलो सपना बोकेर हङकङ छिरेका हुन् । दुई दशकदेखि हङकङ बस्दै आएका कथाकार गुरुङ समय र भूगोलको परिधिसँगै सम्झनाका तरेलीहरुमा कथामार्फत् देखिएका छन् ।

उनैकै शब्दमा भन्नुपर्दा ‘जिन्दगीको बचत खातामा केव थाकेका यात्राभित्र समयले डामेको अनगिन्ती खस्रा, चाम्रा, डाम र खतका धर्साहरु स्थायी पूँजि र परिचय भएर बसिदिँदा रहेछन् र बसिरहेछन् जिन्दगीभरका लागि ।’ हो यसैभित्रका अनेकौं सपनाहरुभित्र फूलेको देखिन्छ टाँकीका फूलहरु । हरेक पलपलमा रहर बोक्ने शरीरलाई छिचोलेर भित्रभित्रसम्म पुगेर मानअपमानका काँडाहरुले घोचिरहेका छन् उनका कथाले पनि । साहित्यभित्र राम्रोसँग आफू हराएका छन् र अरुलाई पनि हराउने प्रयास राम्रोसँग गरेका छन् टाँकीका फूलहरुभित्र । पछिल्लो समयको आधुनिकीकरणसँगै नेपाली भाषामा गैरनेपाली मातृभाषीहरुले पनि अधिकार स्थापित गरिसकेका छन् भन्ने कुरा दाजु गुरुङका कथासंग्रह ‘टाँकीका फूलहरु’भित्र देखिन्छ । ‘टाँकीका फूलहरु’ नेपालको पहाडी भूभागमा फूल्ने गर्छ । जुन फूल फुल्दा लोभलाग्दो पाखारुमा रहरलाग्दा तस्विर झल्किन्छन् त्यसरी नै दाजु गुरुङका कथाभित्र रंगीन सपनाका तस्विरहरु खिचिएका छन् । टाँकीका फूल टिप्न गएका नेपालीहरुभित्र रहेर उनले दुःख सुखलाई आख्यानको स्वरुपमा परिणत गरेका छन् । विदेशमा रहेर पनि आफ्नो भूगोललाई चिनाउनका लागि उनले मौलिकता बोकेको ‘टाँकीका फूल’ लाई नै कथासंग्रहको नाम दिएका छन् ।

१७ वटा कथाहरु समेटिएको पुस्तकमार्फत कथाकारले हङकङका नेपालीका भोगाईलाई उजागर गरेका छन् । हङकङ आएर नेपालीले नयाँ समाजमा मारेको छलाङ, संघर्ष गर्दाका मानसकि उतारचढाव एवं कुन्ठाहरू कथामा समेटिएका छन् । कथाकार गुरुङ दुई दशकदेखि हङकङ बस्दै आएका छन् ।
शुरुमा कविता सङ्ग्रह निकाल्ने योजना बोकेर हिंडेका दाजु गुरुङले केही कविताहरु त सोसल मिडियाहरुमा पनि केही प्रकाशित गरे । कविताको पाण्डुलिपि आफैंलाई मन नपरेपछि कथा लेखनतिर लागेका उनले ‘टाँकीका फूलहरु’ अर्गानिक स्वादमा ल्याएको देखिन्छ ।


कथाहरूमा प्रशस्त बिम्बहरुको प्रयोग भएको छ । डलरको बिम्बका लागि टाँकी प्रयोग भएको कथामा हङकङमा नेपालीहरूले कसरी टाँकी टिप्छन्, कसले फल्छ, कहाँ कहाँबाट आउँछन् फूल टिप्ने हातहरु, फूल टिप्दा पहिचान हराएका हातहरुको कथा कस्तो हुन्छ ? यी सबैको समाधान ‘टाँकीका फूलहरु’ भित्र चित्रण गरिएको छ । नेपालीले फूल टिप्ने रहरमा हातहरु रगताम्य भएका प्रसंग एवं फूलहरूसँगै ओइलिएर झरेका सपनाहरूलाई कथाकारले यथार्थतामा पस्किन सफल भएका छन् । कथासंग्रह पठनीय बन्न सफल भएको छ । दाजु गुरुङलाई सफलताको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु