डा. आश बहादुर तामाङ
नेपालको लोक गीतहरुको उर्वर भूमि गण्डकी प्रदेशको लमजुङ्ग जिल्ला काफलस्वंरा गाउँमा २० फाल्गुण २०१७ सालमा दल बहादुर लामाको छोरी “नानी” को रुपमा जन्मनु भएको थियो लोक गायिका धन माया तामाङ।२० थरीभन्दा बढी लोक भाकाहरु गाउन सक्ने उहांले लोप हुन लागेका ठेट लोक गीतहरु नेपाल मै पहिलो पटक ७२ देखि ७४ वर्षको उमेरमा रेकर्ड गरेर “धन”अडियो तथा म्युजिक भिडियोहरु प्रस्तुत गरी लोक संगित संरक्षण र सम्बर्द्धनको क्षेत्रमा ठूलो गुण लगाउनु भएको छ।परेवाडांडा गा.वि.स वडा नं.८ पुर्काङ्ग (हाल सुन्दर बजार नगरपालिका वडा नं.२ पुर्काङ्गका टुहुरो“कान्छा दाई” (लोक गायक चन्द्र बहादुर तामाङ) संगै ठाडो भाका दोहोरी गाएको चिनापर्चीले १६ वर्षको उमेरमा विवाह बन्धनमा बाधिएर ९ वटा सन्तान (४ सन्तानको मृत्यु भईसकेको) को जायजन्म भएको थियो।“मधुरिमा फूल कुमारी महतो सम्मान २०५८” द्वारा समेत सम्मानित उहां ७५ वर्षको उमेरमा दमको व्यथाबाट पीडित भई काठमाण्डौंमा ५ पौष २०६१ सालमा हामीलाई “धन” चिनो छाडेर स्वर्गवास हुनु भएको थियो,अझै उहांहाम्रो सम्झनामा जीवन्त हुनु हुन्छ र युगौयुग अमर रहनु हुनेछ।
नेपालमै पहिलो पटकठाडो भाका, ढिलो भाकार दाई गीत रेकर्ड गरी श्रोता दर्शकमाझ“धन” (२०५८ अडियो र २०६३ मा अडियो भिजुअल) प्रस्तुत गरेपछि उहां नेपाली जनमानसमा निकै लोकप्रिय बन्नु भयो र यी लोक गीतहरु संगित पारखी लगायत सबैले बुझ्ने मौका पाएका छन्।“धन”संगालोमा संगालिएकाअन्य झयाउरे भाका, लोक गीत, तीज गीत,राष्ट्रिय गीतहरुलेलोक भाका र लोक संस्कृतिलाई जोगाउन महत्वपूर्ण योगदान गरेको छ।
लोक गायिका धनमाया तामाङ निरक्षर हुनुहुन्थ्यो भने श्रीमान चन्द्र बहादुर तामाङ साक्षरसम्म हुनुहुन्थ्यो।उक्त क्षेत्रमै कहलिएका श्रीमान लोक गायक र लोक भजन गायक भएपनि प्राविधिक असुविधाको कारण उहांको कुनै पनि गीत रेकर्ड हुन भने पाएन।मेलापात, रोधी, चाडपर्वमा हुने सांगितिक माहौलले धनमायालाई लोक गीतमा तिखारिने मौका मिल्यो तर पनि“कि पढेर जानिन्छ, कि परेर जानिन्छ” भने झैं उहांलाई जिन्दगीमा धेरै भोगेर, परेर, संघर्ष गरेर सिक्ने मौका मिल्यो र गायनमा उहांको धाराप्रवाह रुपमा मनको सरस्वती फुर्दथ्यो।आफ्नो श्रीमान २४ जेष्ठ २०४२ सालमा बितेपछि आमाको मातृवात्सल्य र सन्तानप्रतिको जिम्मेवारीमा कुनै कमी आउन नदिनु भएकोले उहांका सन्तानहरुसंग समाजमा गौरवका साथ जीवन निर्वाह गरिरहेका छन्।
२/३ वर्षकै कलिलो उमेरमा आमाको मायाबाट वञ्चित भई राम्रोसंग दुध खान नपाई हुर्कन परेकोले समर्पणको रुपमा जिन्दगी भर दुधको थोपा लिनु नभएको उहांले टुहुरो जीवन विताएर गर्भे टुहुरो श्रीमान चन्द्रबहादुर तामाङसँग दाम्पत्य जीवनमा बाँधिन पुग्नुभएकोमाउहांको दुःखमय र संघर्षमय जीवनकथा आज हामी सबैकोप्रेरणाको श्रोत बनेको छ।कथै कथाको जीवनगाथा बोक्नुभएकी उहाँले जीवनका उकाली ओरालीमा भोग्नु परेका कैयौं दुःखलाई सहजरूपमा लिएर लोकगीतलाई सहारा बनाएर सुखमा परिणत गर्नुभयो।बनपाखा, मेलापर्व, रोधीघर, चाडवाडमा कहिले एक्लै र कहिले दोहोरी लोकगीतहरू निरन्तर रूपमा गाउँनुभयो।निरक्षर व्यक्तिको पनि आत्मकथा हुन्छ जुन इतिहासको पानामा समेटिंदा ‘धन’ बन्नसक्छ भन्ने अभिलाषा लिई उहाँले सम्झेर बताउन सक्नुभएको जीवनका कथा व्यथाहरूलाई समेटिएको उहाँको आत्मकथा ‘धन’ प्रकाशन समेत भएको छ।“धन”आत्मकथा प्रकाशन गर्नुको मुख्य उद्देश्य निरक्षर, संघर्षशील, पौरखी, कुनाकन्दराकी महिलाको जीवनमा भोग्नुपरेको कथाव्यथा र उहाँको जीवनको उत्तरार्द्धमा लोकगीतलाई जगेर्ना गर्नुभएको देनलाई उजागर गरी भावी पुस्ताहरूलाई प्रेरणाको श्रोत बन्न सकोस् भन्ने रहेको छ।
जीवनको अधिकांश समय दुःखमा बिते पनि ती दुःखलाई लोकगीतल हसिलो र रसिलो पारेको थियो उहांलाई।यो भन्न सकिन्छ कि उहाँको जीवन र लोकगीतमा अन्तरनिर्भरता थियो। उहाँ जस्तो सुकै आपद-विपदमा समेत समाजमा संघर्षशील र उदाहरणीय भएर सगर्व जिउनुभयो।माइती काफलस्वाँरा र घर पुर्वाङ्गमा रहेका उहाँका धेरै गाउँले साथी सङ्गिनीहरूलाई घर-गृहस्थी गर्न मात्र होइन त्यस भेकमा अति प्रचलित ठाडो भाका, ढिलो भाका रझ्याउरे गीतहरूसमेत सिकाउनुभयो।
काम गर्नमा अत्यन्त काजु, जाँगरिली भएको हुनाले नै छोरीमान्छे भएर पनि छोरामान्छेसरह निभेक दिने गर्थे उहाँलाई गाउँका साहूहरू।तामाङ, गुरुङ समाजमा हुर्केकी अत्यन्त सोझी उहांलाई खस भाषा राम्रोसंग बोल्न गाह्रो थियोतापनि पुर्काङ्ग जस्तो ठाउँमा घुलमिल हुन र जीवन निर्वाह गर्न धेरै नै संघर्ष गर्नु परेको थियो। उहां माइती गाउँमा केटाकेटी नै छँदा घरमा खानेकुरा नभई मागी हिड्दा पाएको पिना भोकको झोंकमा खाँदा सुख्खा भई अडदकिएर झण्डै मरेको भन्ने दुःखको कथामात्र होइन पेटमा ७ महिनाको गर्भ हुँदा समेत घरमा नूनको गर्जो टार्न ठोरीबाट ६ पाथी नूनर १ जरकिन मट्टितेल १४ दिन लगाएरल्याएको तत्कालिन परिवेशको संघर्षपूर्ण जीवनले हामी सबैको मन छुन्छ र रुन्छ।
खरो व्यवहार गर्न रूचाउने उहाँ समाजमा नारी र गरीवप्रति हुने अन्यायमा निकै जुझारू रूपमा प्रस्तुत हुनुहुन्थ्यो।२०४२ साल जेठ २४ गते श्रीमान चन्द्रबहादुर तामाङ स्वर्गारोहण हुनु भएपछि सोही साल जेठ २९ गते छोरा एस.एल.सी. पहिलो क्षेणीमा उत्तीर्ण भै काठमाडौं साथीहरूसंग पढ्न जांदा आफ्नो चौबन्दी चोलोको पुरानो थैलीमा दुमो राखेको पैसा,गोरू, बाख्रा बेचेरै भए पनि खर्च पठाइ पढाइलाई खर्च गर्न हिच्किचाउनु भएन।आफ्नो जन्मथलोलाई पटक्कै छाड्न नचाहने उहांलाई कति कर गर्दा पनि घर छाडेर काठमाडौं बस्न मान्नुभएन।१/२ दिन काठमाडौंमा रहंदा समेत उहांको मन घरमा नैहुन्थ्यो।उपचारको सिलसिलामा छोरासंग काठमाण्डौं डेरामा बस्ने मौका जुर्दा “धन” का लोक गीतहरु रेकर्ड भएका थिए र ठाडो भाका दोहरी गाउन जो पायो त्यहिले गाउन नसक्ने र काठमाण्डौंमा ठाडो भाका गायक नपाइदा आफ्नै छोरासंग दोहरी ठाडो भाका जगेर्ना गर्ने हेतुले गाउनु भएको थियो।
काठमाडौं बसाइको क्रममा हाम्रो गाउँघरतिर हामीले गाउँको, सुनेको ठाडो भाका ढिलो भाका, दाई गीत, लोकभजनजस्ता लोकगीतहरू सुन्न नपाउंदा यी ठेट गीतहरू लोप भएर त जांदैन? भन्ने लागेर आमा छोरा सल्लाह भयो र उहां ७२ वर्षको हुंदा ती लोकगीतहरु रेकर्ड गरी “धन”लोकगीत सङ्गालो प्रस्तुत भयो। “धन”लोकगीतको सङ्गालो प्रस्तुत भएपछि उहाँले धेरै सञ्चार माध्यमहरूमा लोकगीत र उहाँबारे धेरै कुराहरू बताउनुभयो।उहांको चाहना थियो ती रेकर्ड भएका लोकगीतहरू नहराऊन्।उहांको यो चाहनालाई ध्यानमा राखी उहांको उमेर ७४ वर्ष हुंदा अन्तिम गीतको रुपमा रेकर्ड गरिएको राष्ट्रिय गीतलाई समावेश गरी “धन”भी.सी.डी. र धन आत्म कथा समेत निर्माण र प्रस्तुत उहांको छोराले गर्नु भएको छ।
उहांका कति सहकर्मी र पहिलेका पुराना गायक गायिकाले युगौंदेखि परम्परागतरूपमा गाउंदै आएको ठेट लोकगीत उहांहरुसँगै हराएर गए होलान्, कति संकलित भए होलान् तर बास्तविक लोक गायक, गायिका भने गाउँका कुना कन्दरामा मात्र सीमित रही आमसञ्चार माध्यमबाट विमुख भए। “बूढा मरे भाषा सरे” भने झैं आफ्ना पुर्खाले गरेको कुराहरुलाई सादै जान, हस्तान्तरण र पुस्तान्तरण गर्दै अझै पनि हाम्रो पुरानो ठेट लोक संस्कृतिहरू ज्यूँका त्यूँ जगेर्ना गर्ने हामी सबैकोसाझा प्रयासको खांचो छ।जिउँदा धरोहर बूढापाकाबाट हाम्रा इतिहास ब्यूँताउन सकिन्छ र भावी पिढीलाई हाम्रो वास्तविकता ज्ञान गराउन सकिन्छ ।
संस्कृति सामाजिक मूल्यको सूचक, र सभ्यताको पहिचान तथा समाजको प्रतिविम्व हो भने संस्कृति अन्तर्गत पर्ने लोकगीत माटोको ढुकढुकी हो।लोकगीत उकाली ओराली, भञ्ज्याङ, चौतारी, मेलापात, वनपातमा सुख दुःखको स्वःस्फूर्त हुने अभिव्यक्ति पनि हो।गण्डकी क्षेत्रमा खासगरि लम्जुङ जिल्लामा अति प्रचलित तर हराएर जान लागेका यी ठेट लोकगीतहरूलाई ७२ वर्षको पाको उमेरमा पनि रेकर्ड गराएर लोकगीतको जगेर्ना गरी राष्ट्रलाईनै महत्वपूर्ण योगदान गर्ने धन मायाको धन आत्मकथा र उहांकोकालजयीगीतहरुले नेपालको पहिचान तथा गाउँले नेपाली नारीको यथार्थलाई प्रतिविम्वित गरेको छभने उहांको झझल्को दिलाई रहेकोछ।उहांको भौतिक शरीर हामी बीच नभएको १९ वर्ष लागे पनि उहांको अमर अजर कृति अजम्बरी भएर रहेका छन्।१९ औं वार्षिकीको पुण्यतिथीमा उहां प्रति हार्दिक श्रद्धाञ्जली।
(डा. आश बहादुर तामाङ लोक गायिका धन माया तामाङको सुपुत्र हुनुहुन्छ)