धुर्मुस सुन्तलीले बनाउने भए चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

म्यूजिक खबर
प्रकाशित: १६ माघ २०७५, बुधबार

काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेशनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त घोषणा गरेको हो । आजै कार्यक्रमकाबीच फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् । रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । ‘यो रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुनेछ,’ फाउण्डेसनका प्रमुख धुर्मुसले भने, ‘साथै हामी आईसीसीका सम्पूर्ण मापदण्डहरु पूरा गर्नेछौं ।’

 

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् । उनले यसअघि चारवटा वस्ती निर्माण गर्दाको अनुभव रंगशालामा खन्याउने उल्लेख गरे । धुर्मुसले जनसहयोगबाटै भूकम्पपीडित, बाढी पीडित र मुसहरहरुका लागि नमूना वस्ती बनाएका थिए ।

रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ । अब गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको धुर्मुस बताउँछन् ।

चितवनमा बन्ने क्रिकेट रंगशाला कमलको फुल आकारको हुनेछ । यसमा २५ हजार दर्शक अट्नेछन् । बहुउपयोगी हुने यो रंगशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिने छ ।

थ्री डी भिडियोमा रंगशालाको बाहिरी भाग पनि निकै आकर्षक देखिन्छ । बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् ।

खेल अभ्यासका लागि दुई वटा खेलमैदान रहनेछन् । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ । समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गर्ने बताइएको छ ।

 

रंगशालाको थ्रीडी डिजाइन यस्तो छः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु