दुर्गालाल श्रेष्ठलाई अमर भावना राष्ट्रिय स्रष्टा सम्मान, ब्याकुल माइलालाई गीतकार विशेष सम्मान

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार
Durgalal Shrestha_Byakul Maila_Geetkar

काठमाडौं । गीतकार संघ नेपालले आफ्नो स्थापना दिवसको अवसर पारेर वरिष्ठ गीतकार दुर्गालाल श्रेष्ठलाई ‘वर्ष अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०७९’ र राष्ट्रगानका रचयिता ब्याकुल माइलालाई ‘गीतकार विशेष सम्मान–२०७९’ प्रदान गर्ने भएको छ । आगामी जेठ १४ गते आइतबार काठमाडौंको राष्ट्रिय नाचघर जमलमा स्थापना दिवसको कार्यक्रम आयोजना गर्दै २०७९ वर्षको सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको हो । वरिष्ठ गीतकार श्रेष्ठलाई नगद राशि १ लाख ५१ हजार र ब्याकुल माइलाईलाई १५ हजार नगद राशिसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गर्ने निर्णय गरेको संघका अध्यक्ष वसन्त वित्यासी थापाले जानकारी दिए ।

त्यसैगरी संघले वर्षको डायस्पोरा गीतकार सम्मान गीतकार खेम रिजाललाई १५ हजार राशिसहित सम्मान गर्ने भएको छ भने विष्णु मन्सरा घले मातृभाषा गीतकार सम्मान २०७९ बाट लिम्बू भाषाका गीतकार भगत सुब्बा –लाजेसा याक्थुङ्बा) लाई २५ हजार २ सय ५२ नगद राशिसहित सम्मान गरिने भएको छ ।
Durgalal Shrestha_Byakul Maila_Geetkar

त्यस्तै गीतकार संघ नेपालले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘वर्ष गीत पुरस्कार–२०७९’का उत्कृष्ट दश गीत छनौट गरी प्रेस विज्ञप्ति जारी गरेको छ । संघका महासचिव टीका राईद्वारा जारी प्रेस विज्ञप्तिमा यस वर्षको भैरवनाथ रिमा कदम वर्ष गीत पुरस्कार–२०७९ का लागि वर्षका उत्कृष्ट दश गीतकारका गीत छनौट गरिएको सूची सार्वजनिक गरिएको छ । जसमा उमेश लम्साल –एक मुठी सास, सञ्जीव पारदर्शी– भुइँ सोरी ढोगे हैं, रत्नप्रसाद अनामणि श्रेष्ठ– आज मेरो कक्षामा, अरुण तिवारी– जन्म र मृत्यु, घनबहादुर थापा मगर – छोड्दै थिएँ जन्म थलो, सुन्दर पन्त – न त खेल हो, गोविन्द शृंखला– आउँछु भन्यौ, मदन मावो– ऐनाको अघि उभेर, प्रेनिङ प्रयास राई– गाउँघरको बोलीले र ध्रव प्रसाद अम्गाइँ – जमानत गुमायौ रहेका छन् ।

त्यस्तै यस वर्षको जगत मर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार–२०७९ का लागि उत्कृष्ट ३ पुस्तक चयन भएका छन् । जसमा यला यला – गंगाराज मुकारुङ, गीतसँग अपेक्षा – गणेश श्रेष्ठ अपेक्षा, अनुभूतिका स्वरहरु – टीका भट्टराई नेपाल रहेका छन् ।
यो सम्मान तथा पुरस्कार आगामी जेठ १४ गते राष्ट्रिय नाचघर जमलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय सुदन किराँतीको प्रमुख आतिथ्यतामा हुने भएको संघका अध्यक्ष थापाले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु