
काठमाडौं । चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको चलचित्र संग्रहालयको लागि अत्याधुनिक रेडएमएक्स क्यामेरा बोर्डलाई प्रदान गरिएको छ । बोर्डका अध्यक्ष दिनेश डिसीले क्यामरा ग्रहण गरेका हुन् । उपकरण ग्रहण गर्दै अध्यक्ष डीसीले चलचित्र क्षेत्रको ऐतिहासिक यात्रालाई संग्रह र सम्मान गर्ने अभियानमा यो सहयोग महत्वपूर्ण रहेको बताए ।
चलचित्र सम्पदालाई व्यवस्थित रूपमा संग्रह गर्ने लक्ष्यका साथ बोर्डले संग्रहालयको तयारीलाई तीब्र रुपमा अगाडि बढाएको छ । डेढ दशकदेखि सक्रिय छायाँकार पुरुषोत्तम प्रधानको नेतृत्वमा सिने–फोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले क्यामेरा प्रदान गरेका हुन् ।
‘चलचित्रको इतिहास, प्रविधि र योगदानको संरक्षण केवल कागजमा होइन, दस्तावेज र उपकरणमार्फत प्रमाणित गर्ने समय आएको छ’ डिसीले भने । संग्रहालयमार्फत नेपाली चलचित्रका पुराना क्यामेरा, उत्पादन उपकरण, पोस्टर, संगीत सामग्री, पटकथा, पुरस्कार, सम्मान लगायतका ऐतिहासिक सम्पदा संरक्षित गरिने बोर्डले जनाएको छ ।
प्रदान गरिएको उक्त क्यामेराबाट ‘मायाज बार’, ‘छ एकान छ’,‘अझै पनि’ लगायतका चलचित्र छायाँकन गरिएको थियो । क्यामेरा प्रदान गर्दै बुढाथोकीले नेपाली चलचित्रको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन सहयोग गरेकोमा आत्मसन्तुष्टि भएको बताए । ‘चलचित्र क्षेत्र हाम्रो पहिचान हो । यसको इतिहासलाई सुरक्षित राख्नु सबैको दायित्व हो’ बुढाथोकीले भने ।