रोयल्टीविरुद्ध गतिविधि बढाउँदा बुढासुब्बाका संचालक गिरी प्रहरी नियन्त्रणमा

म्यूजिक खबर
प्रकाशित: १९ असार २०७५, मंगलवार

१९ असार, काठमाडौं । सिर्जनाको सार्वजनिक प्रयोग बापत अनिवार्य तिनुपर्ने रोयल्टी तिर्न अटेरी गर्नेका बिरुद्ध स्रष्टा सर्जक एकजुट भएका छन् । प्रतिलिपी अधिकार ऐन र नियमावली कार्यान्वयनमा अटेरी गर्नेका बिरुद्ध उनीहरुले बैधानिक हस्तक्षेप गर्न सुरु गरेका हुन् ।
सोमबार राजधानीमा आयोजना गरिएको गीत संगीतको डिजिटल प्लेटफर्म मार्फत बिक्री बितरण गर्ने उदेश्यले शुरु गर्न लागिएको फोपी नामक एप सार्वजनिक गर्ने कार्यक्रममा संगीत रोयल्टी संकलन समाज नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल, गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, नेपाल सांगीतिक संघ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, राष्ट्रिय संगीतकर्मी संघ लगायत सरोकारवाला संस्थाका पदाधिकारी सहितको टोलीले बैधानिक हस्तक्षेप गरेका हुन् ।

 


एप सञ्चालकले संगीत रोयल्टी संकलन समाज मार्फत लिनु पर्ने अनुमति नलिएर गीत संगीतको बिक्री बितरण शुरु गरेकाले रोक्नका लागि हस्तक्षेप गरिएको संगीत रोयल्टी संकलन समाज नेपालले जनाएको छ ।
स्रष्टा सर्जकको नैतिक तथा आर्थिक अधिकार सुरक्षीत गर्नेगरि अनुमति लिएर शुरु गर्ने जुनसुकै संघ संस्थाको ब्यापार ब्यवसायलाई कहि कतै अवरोध नगरेकोे तर सर्जकको प्रतिलिपी अधिकारको हनन् भएका स्थानमा कानुनि अधिकार प्रयोग गरिएको संगीत रोयल्टी संकलन समाज नेपालका महासचिव महेश खड्काले जानकारी दिएका छन् ।
यसअघि त्यस प्रकारको डिजिटल प्रबिधि मार्फत गीत संगीतको ब्यवसाय गर्नेहरु योण्डर म्यूजिक, म्यूजिक नेपाल स्ट्रिमिङ, म्यूजिक संसार नेपाल, स्म्युअल लगायतका एपहरु र अनलाइन ब्यापार गर्नेहरुले रोयल्टी तिर्न मञ्जुर हँुदै समाज मार्फत अनुमति लिएका छन् ।
फोपी एपसँग सहकार्य गरेका बुढासुब्बा म्यूजिक प्रालिका सञ्चालक नवराज गिरीले कार्यक्रम स्थल पुगेका स्रष्टा सर्जकको अधिकार माथी धावा बोलेपछि संगीतकर्मीहरु आक्रोशीत भएका थिए । गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर कमल पोखरी पु¥याएको थियो ।
कमल पोखरी प्रहरीमा दुबै पक्षबीच लामो छलफल भएको थियो । प्रहरी नायव उपरीक्षक (डिएसपी)को उपस्थितिमा भएको छलफलमा कानूनले दिएको स्रष्टाले पाउनु पर्ने रोयल्टीको अधिकारबाट बञ्चित गर्न खोज्ने बुढासुब्बा म्यूजिक प्रा.लि.ले प्रतिलिपी अधिकारको ठाडो उल्लंघन गरिरहेकोले सो विरुद्ध आफूहरुले प्रहरी प्रशासनको साथ लिनु परेको स्रष्टाहरुले बताएका थिए ।

 


संगीतकार संघ नेपालका सदस्य शशी गुरुङ र बुढासुब्बा प्रमुख गिरीबीच प्रहरीकै अगाडि हात हालाहाल भएको थियो । संगीतकार संघका संरक्षक लक्ष्मण शेषले बुढासुब्बाले अहिलेसम्म सर्जकको रोयल्टी नतिरेकाले आफूहरुले प्रहरी प्रशासनको साथ लिनु परेका बताए । शेषले अधिकार प्राप्तिका लागि सबै संघ संस्था एकजुट भएको बताए ।
रुसी सांस्कृतिक केन्द्रमा आयोजित फोपी एप लन्च समारोहमा प्रहरीले हस्तक्षेप गरेपछि समारोह तनावग्रस्त बनेको थियो । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि बनाएर एप लन्च गर्ने तयारी थियो । अशोक शर्मा, नवल खड्का, शोभित बस्नेत, गोपाल कायस्थ, केपी पाठक, लगायतका फिल्म निर्माता समेत कार्यक्रममा उपस्थित थिए ।
आविष्कार टेक्नोलोजी प्रा.लि.संस्थाले संगीत, फिल्म सहितका कन्टेन्ट एप मार्फत् इन्टरनेट प्रयोगकर्ताले सजिलै हेर्न मिल्ने भन्दै एप लन्च गर्न लागेको थियो । प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुलीले स्रष्टा सर्जकको बैधानिक अधिकारका लागि जुनसुकै कदम चाल्न पछि नपर्ने बताए । यो शुरुवात मात्र भएको पराजुलीले बताए ।
सञ्चार मन्त्रालयको २०७३ को निर्णय अनुसार ४ नम्बर बुँदामा बिद्युतिय सञ्चार माध्यमहरुले संगीत रोयल्टी संकलन समाज नेपालसँग सम्झौता गरेर मात्र गीत संगीतको प्रयोग गर्ने गराउने भन्ने उल्लेख छ ।
प्रतिलिपी अधिकार ऐनले गीत संगीतको सार्वजनिक प्रयोग गरे बापत स्रष्टा सर्जकलाई अनिवार्य रोयल्टी तिर्नु पर्ने स्पष्ट कानूनी ब्यवस्था छ ।
एप निर्माता ‘आविष्कार टेक्नोलोजी’का प्रमुख कार्यकारी अधिकृत प्रशान्तराज कार्कीले आफूले प्रतिलिपी अधिकारको उल्लघन गर्न नचाहेको प्रतिकृया दिएका छन् । यो बारेमा सरोकारवाला केहि संघ संस्था संघ छलफल गरेको उनले दावी गरेका छन् । तर रोयल्टीको दायित्व र अनुमति लिनु पर्ने बारे आफूलाई पूर्ण जानकारी नभएको कार्कीले बताएका छन् । उनले एप लञ्च कार्यक्रममा बिथोलिदा दुःख लागेको बताएका छन् ।
नेपाली मनोरञ्जन उपभोक्ताको माग र कला क्षेत्रमा आफ्नो मेहनतले चलचित्र, गीत, सिरिज तथा अरु सामग्री बनाउनेहरुलाई उचित लाभ हुने गरी यो एप तयार पारेको र यो एपले सेतुको काम गर्ने उनको दाबी छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु