
काठमाडौं । आगामी साउन १ गते देखि प्रदर्शनको तयारीमा रहेको सामाजिक कथानक चलचित्र ‘गौँथली’ को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २० सेकेन्ड लामो आधिकारिक ट्रेलर बाहिरिएसँगै चलचित्रको प्राविधिक र साङ्गीतिक क्रान्तिको बलियो सङ्केत दिएको छ। उच्च स्तरीय मेकिङ, भिजुअल क्वालिटी र कानमा गुन्जिरहने पाश्र्व सङ्गीतको चौतर्फी प्रशंसा भइरहेको छ। डा.कपिल रिजालको निर्देशनमा तयार भएको यस चलचित्रले आफ्नो बलियो प्राविधिक पक्षकै कारण बजारमा थप चर्चा कमाइरहेको छ ।
चलचित्रमा नेपालका तीन पुस्ताका स्थापित सङ्गीतकारहरू शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ। चलचित्रको पहिलो गीत ‘आँखा भरी आँसु’ ले रिलिज हुनासाथ दर्शकमाझ एउटा बलियो भावनात्मक छाप छोडिसकेको छ । त्यस्तै ट्रेलरमा प्रयोग गरिएको एलिस कार्कीको ब्याकग्राउन्ड स्कोरले दृश्यहरूको गहिराइ र पात्रहरूको भावनालाई दर्शकको मनसम्म पुर्याउन मुख्य भूमिका खेलेको छ। यी कारणले पनि चलचित्र साङ्गीतिक रूपमा निकै धनी भएको अनुमान लगाउन सकिन्छ ।
ग्रामीण परिवेश, नेपाली समाजको मौलिकता र पात्रहरूबीचको द्वन्द्वलाई हरि हुमागाईंले आफ्नो क्यामरामार्फत निकै कलात्मक र जीवन्त रूपमा कैद गरेका छन्। ट्रेलरमा देखिएका दृश्यहरूको ‘कलर ग्रेडिङ’ र भिजुअल टोन निकै कसिलो छ। ट्रेलरमा कथाको कौतुहलतालाई कायमै राख्दै दृश्यहरूलाई जसरी संयोजन गरिएको छ, त्यसले सम्पादक मिलन श्रेष्ठको परिपक्वता झल्काउँछ। ट्रेलरको बहावले कतै पनि दर्शकलाई अल्मल्याउँदैन। यसकारण चलचित्र साङ्गीतिक रूपमा निकै धनी बनेकोमा विश्वस्त हुन सकिन्छ ।
दुई दशकअघि वरिष्ठ चिकित्सक तथा गीतकार डा. भोला रिजालले निर्माण गरेको र नेपालकै पहिलो ुगीति फिल्मु मानिने ‘गौँथली’ को गौरवशाली विरासत ९५१ औँ दिन मनाउन सफल० लाई यो नयाँ संस्करणले आधुनिक प्रविधिको उच्च प्रयोगमार्फत अझ उचाइमा पुर्याउने सङ्केत दिएको छ। भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्मित यस चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ र प्रकाश घिमिरे लगायतको सशक्त अभिनय रहेको छ। प्राविधिक रूपमा बलियो र साङ्गीतिक रूपमा सुमधुर बनेकाले ‘गौँथली’ यस वर्षकै उत्कृष्ट र व्यावसायिक रूपमा सफल चलचित्र बन्ने छाँटकाँट ट्रेलरले देखाएको छ।