ग्रीनकार्ड लिएर अमेरिका जानेमाथि दूताबासको प्रश्न ? मच्चियो खैलाबैला

म्यूजिक खबर
प्रकाशित: १९ पुष २०७५, बिहीबार

काठमाडौं । पछिल्लो समय विभिन्न डकुमेन्ट पेश गर्दै ग्रीन कार्ड लिनका लागि दौडिरहेका कलाकारहरुको मनमा यतिखेर खैलाबैला मच्चिएको छ । एक दुई वटा गीत गायो, एक दुईवटा चलचित्रमा अनुहार देखायो विभिन्न डकुमेन्ट बनायो अनि अमेरिकातिर ग्रीन कार्डका लागि दौडियो गर्न थालेका कलाकारहरुलाई अमेरिका दूताबासले प्रश्न गर्न थालेपछि जाने लाइनमा भएका कलाकारहरुको मनमा ढ्याङ्ग्रो ठोक्न थालेको छ ।

पछिल्लो समय ग्रीन कार्डको आवेदन दिएर अमेरिकामा नै बस्न चाहने चलचित्रकर्मी एवं संगीतकर्मीको संख्या बढ्दै जाँदा अमेरिकी दूताबासमा पनि त्यसको लाइन बढ्दै गएपछि खोजीनीति सुरु भएको हो । केही दिन अगाडि ग्रीन कार्डका लागि दिएको आवेदनका बारेमा चलचित्र विकास बोर्डसँग दूताबासले अवार्डका बारेमा सोधपुछ गरेको बताइएको छ ।

पछिल्लो समय अवार्डको संख्या बढ्दै गएपछि ग्रीन कार्डका लागि आवेदन दिनेहरुको चाप बढ्दै गएको बुझिएको छ । अवार्ड पाउनेले त सक्कली प्रमाणपत्र बुझाएर जाने भए तर बजारमा कसैको अवार्डका डकुमेन्ट स्क्यान गरेर अर्कैले पेश गर्ने र विभिन्न शीर्षकमा अवार्ड लिएको भन्दै डकुमेन्ट पेश भएको दूताबासले शंका गर्दै चलचित्र विकास बोर्डसँग ‘नेपालमा यति धेरै अवार्ड हुन्छ ? भनेर सोधेपछि बजारमा हल्लीखल्ली मच्चिएको हो ।

यतिबेला अमेरिकी दुतावासले नेपालको कुन अवार्ड विश्वसनिय हो भनेर समेत खोजी गर्न थालेको स्रोत बताउँछ । यतिमात्र होइन, अमेरिकी दुतावासले एउटै अवार्डमा उत्कृष्ट भएको भन्दै धेरै आवेदन आउने गरेको समेत उल्लेख गरेको श्रोतले बताएको छ । एउटाले अवार्ड पाउँदा सोही अवार्ड बोकेर तस्बिर खिच्ने र सोही तस्बिर आवेदनमा समावेश गर्ने प्रचलन समेत बढेको वुझिएको छ भने आयोजकलाई नै थाहा नदिई अवार्ड पाउनेको डकुमेन्टलाई प्रयोग गर्नेहरु पनि बढेको स्रोत बताउँछ ।

नेपालमा आयोजना हुने दर्जन बढी अवार्ड मध्ये धेरै विवादमा पर्ने गरेका छन् । कलाकारका लागि यस्तो अवार्ड विदेश जानका लागि सबैभन्दा बलियो प्रमाण बन्ने गरेका छन् । तर, एउटा बर्ष कुनै एक विधामा एक जनाले मात्र अवार्ड पाउने गर्छन् । तर, सोही बर्ष एउटै अवार्डमा एकै विधामा अवार्ड पाएको भन्दै धेरै आवेदन आउन थालेपछि दुतावास समेत आश्चर्यमा परेको वुझिएको छ ।

त्यसो त विभिन्न संस्थाले गर्ने गरेको म्यूजिक अवार्डका आयोजकहरुलाई पनि दूताबासले खोजी गर्दै प्रत्येक वर्ष क–कसले अवार्ड प्राप्त गरे भन्ने सूची संकलन गरिरहेको भन्ने पनि स्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु