चेलिबेटी बेचबिखनसम्बन्धी हरिवंशको नयाँगीत ‘हिड माया हिड’

म्यूजिक खबर
प्रकाशित: १ पुष २०८०, आईतवार

काठमाडौं । हाँस्यकलाकार हरिवंश आचार्यले नयाँ चेलबेटी बेचबिखन सम्बन्धी गीत ल्याएका छन् । यसअघि चेलबेटी बेचबिखनकै विषयमा ‘कर्कलो कोक्याउला’ र ‘काउली’गीत गाएका आचार्यले अहिले ‘हिड माया हिड’ बोलको गीत ल्याएका हुन् ।

माइती नेपालको प्रस्तुतिमा बनेको यो गीतमा हरिवंशकै शब्द र संगीत छ । स्वरमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छिन् । ‘यो चेलिबेटी बेचबिखन सम्बन्धी जनचेतनामुलक गीत हो,’ गीतबारे हरिवंशले भने, ‘चेलबेटी बेचबिखन सम्बन्धी समस्या हाम्रो देशको नियती जस्तै भइसक्यो । पहिले पहिले चेलिबेटीहरुलाई भारतमा लगेर बेचिन्थ्यो, अहिले त्यो खाडी मुलुकसहित अफ्रिकालगायत अन्य मुलुकतिर पनि सरेको छ । मसाज सेन्टर या डान्सबारको काम भनेर लाने तर त्यहाँ पु¥याएपछि देहव्यापारमा लगाउने, यातनादिने लगायतका समस्या बढिरहेका छन् । त्यही कथा हामीले गीतमार्फत भन्न खोजेकाहौं ।’

हरिवंश यो समस्या समाधान नभएसम्म यस विषयमा निरन्तर जनचेतनामुलक गीत गाइरहने बताउँछन् । ‘सर्जकका हिसाबले यस्तो विषयमा लगातार गीत गाइरहन नपरोस् भन्ने नै लाग्छ । तर देशको नियतीले बाध्य बनाइरहेकै छ,’ आचार्यले भने ।

साहस शाक्यको एरेन्ज, श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको गीतको भिडियोमा हरिवंशसँगै कलाकारहरु प्रियंका कार्की, कविता न्यौपाने, बालकृष्ण ओलीलगायत कलाकारको अभिनय छ । गम्भिर विष्टको कन्सेप्ट र निर्देशन रहेको यो गीतको भिडियोमा कसरी गाउँ–गाउँबाट युवतीहरुलाई ललाई फकाई गरेर विदेश पु¥याइन्छ भन्ने कथा देख्न सकिन्छ । पवन सुस्लिङले खिचेको यो गीतको भिडियो सम्पादन प्रविण भट्टले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु