हिट्स एफएम म्यूजिक अवार्डमा ज्ञानु राणालाई लाइफटाइम, वनफूलले ग¥यो ह्याट्रिक

म्यूजिक खबर
प्रकाशित: ५ माघ २०७६, आईतवार
HIts FM Music Awards

काठमाडौं । हिट्स म्युजिक अवार्डको २३औं संस्करणमा अग्रज गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मान गरियो । नेपाली संगीत क्षेत्रमा पाँच दशकभन्दा लामो योगदान पु¥याएको भन्दै वरिष्ठ गायिका ज्ञानु राणालाई समारोहमा ‘लाइफ टाइम एचिमेन्ट अवार्ड–२०७६’बाट सम्मानित गरिएको थियो । कार्यक्रममा उनको सम्मानमा केही कलाकारले गायिका राणाको गीतसमेत प्रस्तुत गरेका थिए ।

प्रत्यक्ष गीत संगीतको प्रस्तुतिसहित आयोजना गरिएको हिट्स म्युजिक अवार्ड–२०७६ मा प्रतिस्पर्धामुलक १६ विधामा अवार्ड प्रदान गरिएको थियो । अवार्डमा वनफूलले तीन विधामा अवार्ड चुम्दै ह्याट्रिक गर्न सफल भएको हो । वनफूलकी गायिका दुर्गा परियारले उत्कृष्ट गायिकाको अवार्ड चुमेकी थिइन् भने सोही गीतबाट संगीतकार सुरेश अधिकारी र संगीत संयोजक फणीन्द्र राईले पनि अवार्ड चुम्न सफल भएका थिए ।

शनिबार राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न २३ औं संस्करणको हिट्स म्युजिक अवार्डमा पप तथा रक गायक सविन राई एन्ड फेरोहले पप एवं रक गीत धन्यवादबाट तीन विधामा अरूलाई उछिनेका हुन् । सविन र उनको समूहले यो गीतबाट उत्कृष्ट समूह गाउनतर्फको अवार्ड, उत्कृष्ट रक गायनतर्फको अवार्ड र उत्कृष्ट पप एवं रक संगीत सिर्जनाको अवार्ड हासिल गरे ।

त्यसैगरी आधुनिक गायनतर्फ उत्कृष्ट गायकको अवार्ड तिम्रो यादमा‘गीतबाट दीपक श्रेष्ठले हाँँसिल गरे । आधुनिक गीततर्फ उत्कृष्ट रचनाको अवार्ड वर्तिका एम राईले ‘आशा’ गीतबाट हासिल गरिन् । सर्वोत्कृष्ट गीतको अवार्ड दीपक बज्राचार्यले गीत ‘मन मगन’बाट प्राप्त गरेका थिए । यस्तै, उत्कृष्ट गीतिसंग्रहको अवार्ड सुनिता कार्कीले आफ्नो गीतिसंग्रह ‘सुनमाला’बाट चुम्न सफल भइन् । सो अवार्ड समारोहमा नवप्रतिभाको अवार्ड ‘गल्ती’बाट बिक्रम बराललाई प्रदान गरियो । यस्तै, चलचित्रतर्फको उत्कृष्ट गीतको अवार्ड ‘गोजीमा दाम छैन’ बोलको गीतबाट राजनराज शिवाकोटीले चुम्न सफल भए ।
युगल गायनतर्फको अवार्ड महेश काफ्ले र मेलिना राईलाई गीत ‘नाच फिरिरी’बाट प्रदान गरिएको थियो । पप गायकको अवार्ड ‘मलाई म जस्तै बन्न देऊ’बाट शिव परियारले प्राप्त गरे । पप गायिकाको अवार्ड ‘छोडेर नजाऊ’बाट आस्था तामाङ मास्केले चुम्न सफल भइन् । यस्तै, उत्कृष्ट लोक गीतको अवार्ड ‘सालको पात टपरी हुने’बाट कुलेन्द्र विक र विष्णु माझीलाई प्रदान गरियो ।

कार्यक्रममा सविन राई एन्ड द फेरोह, दुर्गा परियार, सुनिता कार्की र वर्तिका एम राईले गायन प्रस्तुत गरेका थिए । यो अवार्डको आयोजना हिट्स एफएमले गरेको हो । २०७५ साल भरीमा सो एफएममा दर्ता भएका गीतबाट अवार्ड गरिएको आयोजक पक्षले जानकारी दिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु