ज्योति प्रकाशले ल्याए ‘जून र ज्योति’ (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ५ आश्विन २०७५, शुक्रबार

५ असोज, काठमाडौं । गायक तथा संगीतकार ज्योतिप्रकाशले आफ्नो पहिलो एल्बम जून र ज्योति सार्वजनिक गरेका छन् । त्रिभुवन विश्वविद्यालयमा चित्रकलाको प्राध्यापन गर्दै आएका ज्योतिप्रकाश आफैंमा चित्रकारको रुपमा ख्याति कमाएका कलासाधक हुन् । आफूलाई हरेक ठाउँमा फरक तरिकाले प्रस्तुत गरेर फरक पहिचान दिन खोज्ने ज्योति प्रकाशले गीतसंगीतमा पनि फरकपन लिएर आएका छन् । आधुनिक गीत संगीतमा उनले ल्याएको यो पहिलो एल्बम हो । चन्द्र भट्टचनको एकल रचनामा ज्योति प्रकाशले संगीत र स्वर प्रदान गरेका छन् ।

वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यतामा गायक एवं संगीतकार ज्योति प्रकाशले पहिलो एल्बम ‘जून र ज्योति’ सार्वजनिक गरेका हुन् । कार्यक्रममा गीतकार एवं कवि डा.नवराज लम्सालले ज्योति प्रकाश र चन्द्र भट्टचनको एल्बम जून र ज्योति एक राम्रो कृतिका रुपमा परिचित भएको बताएका थिए ।

संग्रहका गीतमाथि समीक्षा गर्दै कवि एवं गीतकार नवराज लम्सालले चन्द्र भट्टले सबै गीत मनबाट लेखेकाले गीत राम्रो भएको बताए । मध्यम स्तरका भए पनि गीत कर्ण्प्रिय बनेको उनको कथन थियो । पत्रकार एवं गीतकार शान्तिप्रियले पनि गीत राम्रा बनेको बताए ।

संगीतकार राजु सिंहले र गीतकार चुडामणि देवकोटाले पनि गीतको प्रशंसा गरे । गायक प्रेमध्वज प्रधानले ज्योतिप्रकाशको चित्र सिर्जनाजस्तै स्वर पनि कर्ण्प्रिय भएको बताए । कलाकार केके कर्माचार्यले गीत राम्रो बनेको तर भिडियो केही कमजोर भएको टिप्पणी गरे ।

कार्यक्रममा एल्बमभित्रका दुई गीतको भिडियोसमेत सार्वजनिक गरिएको थियो । विन्ती छ मलाई निष्ठुरी नभन बोलको म्यूजिक भिडियोलाई संचारकर्मी सुमन बैरागीले निर्देशन गरेका छन् । जसमा नारायण ढकाल र विनिताले अभिनय गरेका छन् भने ज्योति प्रकाश आफैंले छायाँकन गरेका छन् । यस भिडियोलाई दिनसन शाहले सम्पादन गरेका हुन् ।

त्यस्तै हिजो भन्दा आज राम्री बोलको गीत वरिष्ठ पत्रकार शान्तिप्रियले निर्देशन गरेका छन् । जसमा खुश्बु खड्का र सनम कठायतले अभिनय गरेका छन् । यस गीतको छायाँकन पनि ज्योति प्रकाश आफैंले गरेका हुन् भने वीरेन्द्र भाट विपिनले सम्पादन गरेका छन् ।
एल्बमभित्र जाने निष्ठुरी, विन्ती छ मलाई, कति रातहरु, तिमीसँग, हिजोभन्दा आज राम्री जस्ता गीत समावेश गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु