• रायमाझी र गौतमले गरे कविता अर्यालको तीज गीत ‘तीजका गीत कस्ता बने’ लोकार्पण

    म्यूजिक खबर
    प्रकाशित: ८ भाद्र २०८१, शनिबार

    काठमाडौँ । गायिका कविता अर्यालको ‘तीजका गीत कस्ता बने’ बोलको गीत लोकार्पण गरिएको छ । राष्ट्रिय लोक सन्चारकर्मी नेपालको आयोजनामा न्यु मिलेनियम स्कुल ललितपुरमा भएको कार्यक्रमका बीच सार्वजनिक गरिएको थियो । समारोहका प्रमुख अतिथि प्रतिष्ठित गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझी, बिशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य सोविता गौतम लगायतका अतिथिले सामूहिक रुपमा सार्वजनिक गरेका थिए ।
    कार्यक्रममा प्रमुख अतिथि नारायण रायमाझीले गायिका कविताले मौलिकतालाई ध्यान दिएर गीत निर्माण गरेकोमा धन्यवाद दिएका थिए । पछिल्लो समय तीजको मर्म बोल्ने गीतहरु कम भएकाले यस्ता गीत बन्नुपर्नेमा जोड दिए । रायमाझीले पहिले चेलीको कथा तीजका गीतमा आउँथे तर अहिलेका गीतमा त्यो मर्म नभेटिएको भन्दै श्रृष्टा आफै सुध्रिनुपर्ने बताए । ‘केहि समय अघिसम्म दुर्गेश थापाको गीत आउँदा बिकृति ल्यायो भन्थे तर अहिले ति भन्दा कस्ता कस्ता गीत आएका छन् । जुन गीतहरु सुन्न पनि अप्ठ्यारो लाग्छ,’ रायमाझीले भने । ‘समाजमा बसिसकेपछि समाजमा पचाउने गीत बनाउनुपर्छ ।’

    यस्तै बिशिष्ट अतिथि सोबिता गौतमले तीजको इतिहास आजको गीतबाट जान्ने मौका पाएको बताइन् । उनले भनेकी छिन्, ‘योे तीजको गीत मात्र नभएर इतिहास बनेर बस्नेमा विश्वास लिएकी छु ।’ साथै गौतमले समाजमा पछिल्लो समय बिकृति फैलाउने गीत आइरहेको भन्दै यो समाज बनाउने जिम्मा राजनितिज्ञको मात्र नभई सबैको दायित्व रहेको बताइन् । ‘एक असल नेता आउँदैमा देश बदलिन्छ भन्ने होइन् । देश बदलिन, समाजमा रहेका हरेक ब्यक्ति बदलिनु आवश्यक छ । समाजका हरेक क्षेत्रका ब्यक्तिको नेतृत्व बदलिनु पर्छ । त्यसमा पनि कला क्षेत्रमा रहेका ब्यक्तिहरुले समाज परिवर्तनमा ठुलो भूमिका खेल्छन् । त्यसैले कलाकर्मीले बिशेष ध्यान दिनुपर्छ’ गौतमले भनिन् । उनले पछिल्लो समय देखिएको बिकृतीले गीतसंगीतमा पनि चलचित्रमा जस्तै सेन्सरसिपको आवश्यकता महसुस भएकोसमेत औंल्याइन् । ‘चलचित्रलाई नियमन गर्न सेन्सर गर्ने निकाय छ भने गीतसंगीतका लागि पनि यसको आवश्यक छ, सांसद गौतमले भनिन् ।

    कार्यक्रममा राष्ट्रिय लोक सन्चारकर्मी नेपालका संस्थापक अध्यक्ष गोविन्द गिरीले पहिले चेलीका बेदना तीजका गीतमा आउने गरेको तर अहिले उत्ताउला, उट्पट्याङ गीतलाई तीज गीतको नाम दिने गरिएको भन्दै त्यस्ता काम नगर्न स्रष्टाहरुलाई अनुरोध गरे ।

    त्यस्तै अतिथि चलचित्र पत्रकार संघका उपाध्यक्ष कुबेर गिरीले पछिल्लो समय गीतहरु ब्यवसायिकतामा बढी केन्द्रित भएपछि बिकृति आउने रहेछ भन्दै त्यो कुरालाई स्वयम स्रष्टाले नै सेन्सर गर्नुपर्ने बताउँदै गायिका कविता अर्यालले मौलिकतालाई ध्यानमा राखेर गीत सार्वजनिक गरेकोमा बधाइ दिए ।

    गायिका कबिता अर्यालले भने आफ्नो नयाँ गीतको सन्दर्भमा बोल्दै सधैं आफूले मौलिकतामा ध्यान दिएको बताइन् । ‘गीत भनेको सोचाई हो । मानिसले आफ्नो सोचाईमा आएको कुरा ब्यवहारमा देखाउने हो । तीजका गीतमा तीज बिशेष मौलिकता झल्किनुपर्छ । तीजका गीत डिस्कोमा नाँच्ने खालका हुनु हुँदैन । डिस्को देखि भजनका गीतसम्म आफ्नै महत्व छ र तीजको पनि छुट्टै महत्व छ’ गायिका अर्यालले भनिन् । ‘तीज महिला दिदीबहिनीहरुको महान चाड हो । परिवारको, समाजको मतलब नगरेर छाडा प्रबृतिमा हिड्नु हुँदैन । तीजका गीत रत्यौली जस्ता हुनुहुँदैन’ गायिका अर्यालले बताइन् ।
    कार्यक्रममा सभापति राष्ट्रिय लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले गायिका कविता अर्यालको गीतको सफलताको शुभकामना दिँदै मौलिकता नछाडेकोमा धन्यवाद दिए । उनले गायिका कविताले जस्तै सबै स्रष्टाले आफूले के गरिरहेको छु र कस्तो सिर्जना दर्शक तथा स्रोतालाई दिँदैछु, त्यसले के सन्देश जान्छ भन्ने ख्याल राख्न आग्रह गरे संस्थाका सचिव कमल सरगम चौलागाईंले सन्चालन गरेको कार्यक्रममा उपाध्यक्ष हरि दुलालले स्वागत मन्तब्य दिएका थिए ।
    सार्वजनिक गीत ‘तीजका गीत कस्ता बने’ गायिका कविता अर्यालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतमा शब्द, संगीत गायिका स्वयमकै छ । विनोद बाजुरालीको संगीत संयोजन रहेको छ । भिडियोमा स्मृति तिमिल्सिनाको कोरियोग्राफी र निर्देशन रहेको छ । करण चैंसिरले खिचेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु