२० वर्षदेखि निरन्तर गुन्जिएको आवाज

म्यूजिक खबर
प्रकाशित: १६ कार्तिक २०८०, बिहीबार
Singer Kalika Roka Magar

सबिता पोखरेल
म्यूजिक खबर/काठमाडौं

नेपाली लोकदोहोरी क्षेत्रलाई सुबासित बनाउने एउटा नाम हो कालिका रोका । कालिकाको मखमली स्वर रहेका धेरै गीतहरु सुनिसकेका छन्, नेपाली लोकगीत प्रेमीहरुले । लोक एवं लोकदोहोरीमा विशेषगरी विरहको ठेट भाकामा स्रोताले उनलाई बढी रुचाएको पाइन्छ । उनका सिर्जनामा मौलिकता पाइन्छ, लोक गीतको वास्तविक परिचय र पहिचान पाइन्छ ।
बाग्लुङ बडिघाटमा बाल्यकाल बिताएकी कालिका सरल स्वभावकी छिन्, पहिरन पनि साधारण मन पराउँछिन् । सानैदेखि लोकगीतमा रुचि थियो । कहिलेदेखि गीत गाउन थाल्नुभयो भनेर कसैले सोधेमा जवाफ छैन उनीसँग । कारण – कहिलेदेखि गाउन थालिन्, उनैलाई थाहा छैन । जुन बेला थाहा पाउन थालिन् त्यो बेलादेखि नै गुनगुनाउँथिन् । बिमा कुमारी दुरा, शर्मिला गुरुङ, राजु परियार, लक्ष्मी न्यौपाने, कृष्णा परियारका गीत सुनेर अघाउँदिनथिन् । सुनिरहन्थिन् अनि गुनगुनाइरहन्थिन् । जसले गर्दा लोकसंगीतमा यसरी घुलमिल भइन् कि, उनी आफैंले पत्तो पाइनन् । विद्यालयमा हुने कार्यक्रममा भाग लिन्थिन् । स्थानिय दोहोरी प्रतियोगितामा समेत सहभागि हुन थालिन् । धेरैजसो प्रतियोगितामा प्रथम नै हुन्थिन् । गायनका लागि विशेषतः बिमाकुमारी दुराका गीतहरु उनको रोजाईमा पर्थे । पुराना दिनलाई सम्झिंदै उनी भन्छिन् –‘प्रतियोगितामा बिमा दिदीका गीत गाउँथे । अब्बल ठहरिन्थें पुरस्कार र प्रशंसा पाउँथे । धेरैले स्याबास दिंदै भन्नुहुन्थ्यो – तिम्रो स्वर ‘सेम’ बिमा को जस्तै सुनिन्छ ।’ आज पनि कतिपय कार्यक्रममा उनलाई दोश्रो बिमाकुमारी दुराको रुपमा सम्बोधन गरिन्छ ।

सात सन्तान मध्ये पहिलो सन्तानका रुपमा जन्मिएकी उनको रुचीमा परिवारको सधैं साथ रह्यो । नाच्ने गाउँने उनको बानीबाट जोकोहि प्रभावित हुन्थे । कसैले गीत गाउन भन्यो भने धक नमानी नाच्दै गाइदिन्थिन् । जसका कारण ७–८ वर्षको उमेरमै एमालेको सांस्कृतिक विभागमा रहेर काम गर्ने अवसर पाइन् । उनको क्षमताको कदर गर्दै विष्णु भुसाल, रामहरी भुसालले सांस्कृतिक विभागमा प्रवेश गराएका थिए । सांस्कृतिक विभागको सहारा र परिवारको समर्थनमा उनले स्कुले जीवन बिताइन् ।
२०६० सालमा चैते दशैं मेला, बाग्लुङमा दोहोरी प्रतियोगिता कालिकाले पनि सहभागिता जनाइन् । उनको स्वरले सबैको मन जित्यो । प्रथम भइन् । उक्त मेलामा ढोरपाटन दोहोरी साँझका साहु उमेश थापा पनि सहभागि थिए । कालिकाको स्वर सुनेर उमेश प्रभावित भए । उनले कालिकालाई काठमाडौं प्रवेश मात्रै गराएनन्, आफ्नो दोहोरी साँझमा समेत गाउने अवसर दिए । केहि समय ढोरपाटन दोहोरी साँझमा काम गरिन् । त्यसपछि जुनकीरी दोहोरी साँझमा गुञ्जिन थालिन् । काठमाडौं आएपछि गायिका रेवती पौडेलको मार्गनिर्देशन र सपोर्टले उनको गायन यात्रालाई सहज बनायो । पौडेललाई उनी गुरु नै मान्छिन् । त्यस्तै गायिका सरु थापाको सपोर्ट पनि बिर्सन नमिल्ने बताउँछिन् । दोहोरीमा काम गर्दै जाँदा उनको स्वर सुनेर धेरैले प्रशंसा गरे । गीत रेकर्ड गराउने अवसर पाइन् ।
यसरी, आजभन्दा १९ वर्षअघि संगीतकै शिलशिलामा काठमाडौं प्रवेश गरेकी कालिकाको पहिलो गीत ‘सिमा मिचिदा खेरी’ हो । स्मृती ढुंगानाको उक्त गीतमा राजु परियारसँग गाएकी थिइन् । त्यसपछि संघर्ष गर्दै गायनमा अगाडि बढ्दै गइन् ।

अडियो क्यासेटको जमाना थियो । धेरै गीत गाउने अवसर पाइन् । सबैजसो क्यासेटमा ‘बि’ साइडमा उनको गीत पथ्र्यो । त्यतिबेला ‘ए’ साइडका गीतले बजार पिट्थ्यो । ‘बि’ का आउँथे जान्थे । त्यसपछि धनकुमारी थापा ‘सरु’ को ए बुढा म विदेश जाने हो तीज गीत गाउँने अवसर पाइन् । यो गीतबाट भने श्रोता समक्ष अब्बल गायिकाका रुपमा ‘नोटिस’ भइन् । अडियो, क्यासेटकै समयमा पनि उनका थुप्रै गीतले राम्रो ब्यापार गरे । त्यो समयको सांगीतिक व्यस्तताबारे कालिका भन्छिन् ‘दिनमै ३÷४ वटा सम्म गीतहरु गाउँथे ।’
त्यसपछि उनले मौसम गुरुङसँग गाएको ‘ब्लुतुथ अन गर’ गीतले गायिकाको रुपमा स्थापित गराइदियो । त्यो गीतलाई मिडिया, स्रोता दर्शकले रुचाएपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । मौसमसँग उनको सहकार्य पनि निरन्तर रहँदै आएको छ । मौसमको सहयोगले पनि यो क्षेत्रमा अटल भएर रहन सहज बनाएको हो उनको भनाई छ ।
आजसम्म उनले करिब १८ सय गीतमा स्वर दिईसकेकी छिन् । उनका लोकदोहोरी मात्र होइन, सालैजो, पञ्चेबाजा, कौडा, तीज गीतहरु पनि स्रोता, दर्शकले रुचाएका छन् । उनले गाएका ‘सुन कथा’, ‘एउटा राम्रो बाटो देखाइदेउ’, हिउँदको महिना (सालैजो), सागरै तरेर (पञ्चेबाजा), जाम हिंड युकेमा (तीज गीत), आउ नाचौं पातली कम्मर मर्काइ मर्काइ (तीज गीत) ए बुढा म विदेश जाने हो (तीज गीत), रेलिमाई, गोर्खाली काले, ब्लुतुथ अन गर, हरेक पल, लाहुरे मेरो पोई, लगायतका गीत हिट भए ।
रेकर्ड गरिएका गीतमा मात्र होइन उनी लाइभ दोहोरीमा पनि उतिकै अब्बल छिन् । राष्ट्रिय स्तरका थुप्रै दोहोरी प्रतियोगितामा सहभागि हुन थालिन् । गाउँदा सधैं मौलिकता र गुणस्तरीयतालाई ख्याल राख्छिन् । नेपाल लोक दोहोरी व्यवसायी संघद्वारा आयोजित टुबोर्ग दोहोरी प्रतियोगिता –२०६६ मा तृतीय, राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका नेपालको कास्कीमा भएको खुला दोहोरी गीत प्रतियोगितामा प्रथम, धादिङ महोत्सवमा भएको राष्ट्रिय दोकदोहोरी प्रतियोगितामा प्रथम, लमजुङ महोत्सवमा २०६५ मा खुल्ला दोहोरी गीत प्रतियोगितामा प्रथम, म्याग्दी महोत्सव २०६५ मा खुल्ला दोहोरी गीत प्रतियोगितामा प्रथम, ढोरपाटन कलाकेन्द्रको आयोजनामा राष्ट्रव्यापी खुल्ला दोहोरी गीत प्रतियोगिता २०६६ मा द्वितिय भएकी छन् ।

उनले गीतसंगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रियस्तर संघसंस्थाहरूबाट विभिन्न सम्मान र पुरस्कार समेत पाइसकेकी छिन् । त्यस्तै राष्ट्रिय अवार्ड पनि चुमेकी छन् । कालिकाले मुग्लिन पुल तरी बोलको गीतबाट दशौं म्यूजिक खबर म्यूजिक अवार्डमा सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड चुम्न सफल भएकी छन् । चौथो सगरमाथा म्यूजिक अवार्ड २०७९ र दोश्रो क्वालिटी इन्टरटेन्मेन्ट २०७९ मा सर्वोत्कृष्ट लोकदोहोरी गायिका ठहरिंदै अवार्ड उचालिन् । संघर्षपछि सफलताको यात्रामा हिंड्दै गरेकी उनी भन्छिन् –‘मेहनत र धैर्यता राख्यो भने नाम, दाम र सम्मान सबै मिल्ने रहेछ । खुशी छु ।’ त्यसैगरि मेला÷महोत्सवमा पनि व्यस्त छिन् । एकपछि अर्को गर्दै विभिन्न जिल्लामा पटक–पटक पुगेर प्रस्तुति दिंदै आएकी छिन । सांगीतिक यात्राकै क्रममा जापान, इजरायल लगायतका देशमा समेत पनि पुगेकी छिन् ।
’पहिला र अहिले गीत संंगीतमा पनि निकै फरक रहेको कालिका सुनाउँछिन् । आफ्नो यात्रा सम्झिदै उनी भन्छिन्, ‘पहिला–पहिलाको गीतहरुमा छुट्टै मिठास हुने गथ्र्यो । प्रविधिको विकाससँगै गीतसंगीतमा विकृति पनि आएको छ । पछिल्लो समय गीतसंगीतको बजार झनै साँघुरो हुदै गएको छ । चर्चाको हुटहुटीमा गीतको मौलिकतालाई बिर्सदै गएका छौं । अब भने सबै कलाकार गम्भीर हुन जरुरी छ । गायनको यात्रामा विभिन्न आरोह अवरोह सामना गर्दै आएकी कालिका ‘सिंगल’ छिन् । विवाहको विषयमा अहिलेसम्म केहि नसोचेको बताउँदै उनले भनिन् –‘आफू र आफ्नो क्षेत्रलाई बुझ्ने मान्छे पाए विवाह नहोला भन्न सकिन्न ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु