कमल थापाको गीत ‘मेरो प्यारो नेपाल’ सात भाषामा सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ११ फाल्गुन २०७५, शनिबार

काठमाडौं । राप्रपा अध्यक्ष समेत रहेका गीतकार कमल थापाले रचना गरेको गीतिसंग्रह ‘मेरो प्यारो नेपाल’ को शनिबार लोकार्पण भएको छ । लाजिम्पाटस्थित हिमालचुली कल्चरल सेन्टरमा आयोजित कार्यक्रममा विभिन्न श्रष्टाबाट संयुक्तरूपमा गीतिसंग्रहको विमोचन भएको हो । कार्यक्रमम गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, चलचित्र उद्यमी उद्धव पौडेल, साहित्यकार डा.बमबहादुर थापा ‘जिताली’ लगायतले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

गीतिसंग्रहको शीर्ष गीतको रुपमा रहेको ‘जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यहि माटो पानी मेरो भूस्वर्ग’ बोलको गीत विभिन्न सातवटा भाषामा रेकर्डिङ भइ सार्वजनिक गरिएको छ । संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको उक्त गीतमा कमल थापाको गीतिलेखन रहेको छ । गीतिसंग्रहमा नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरी र थारु भाषामा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जनको गायन रहेको छ ।

कार्यक्रममा गीतकार कमल थापाले विभिन्न सातवटा भाषामा गीतिसंग्रह सार्वजनिक हुन सकेकोमा प्रसन्नता व्यक्त गरे । उनले यसबाट सांगीतिक क्षेत्रमा सानो रुपमै भएपनि योगदान पुग्न सके आफूलाई सन्तोष मिल्ने उल्लेख गरे । ुसांगीतिक क्षेत्रमा सानो रुपमै भएपनि योगदान पुग्न सकेजस्तो लागेको छ। श्रष्टाहरु रोयल्टीको मारमा पर्ने अवस्थाको अन्त्य हुनुपर्ने मेरो मान्यता छ,ु कार्यक्रममा थापाले भने।

राष्ट्रिय प्रजातान्त्रिक सांस्कृतिक संगठनले आयोजना गरेको कार्यक्रममा गीतकार भुवन पाठक, भक्ति सिटौला र राजेश गिरीको एल्बम समेत लोकार्पण गरिएको छ।

कार्यक्रमम गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, चलचित्रउद्यमी उद्धव पौडेल, साहित्यकार डा.बमबहादुर थापा ‘जिताली’ले गीतकार कमल थापालाई राजनीतिमा भन्दा माथिल्लो उचाइमा गीतकारको रुपमा पाएको भन्दै बधाई एवं शुभकामना दिएका थिए ।

राष्ट्रिय प्रजातान्त्रिक सांस्कृतिक मञ्चको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार डा.बमबहादुर थापा ‘जिताली’लाई नगद राशि रु.१५०१५। सहित ‘राष्ट्रिय सांस्कृतिक सम्मान’ले सम्मानित गरिएको थियो । सम्मानको राशि गीतकार अमर वान्तुले प्रदान गरेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष गायक राज सागरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु