• ‘तिज किङ’ बन्दै खुमन

    म्यूजिक खबर
    प्रकाशित: २३ श्रावण २०७१, शुक्रबार

    काठमाडौं, २३ साउन । यसपालिको तिज गीतमा लोकगायक खुमन अधिकारी राम्रै जमिरहेका छन् । कुनै समय एकैदिन ६ वटासम्म गीत रेकर्डिङ गर्न भ्याएका खुमनले यो वर्ष तिजकै मात्र १८ वटा गीत गाए । दुईवर्ष यता तिज गीत गाउन थालेका खुमन अहिले ‘तिज किङ’ का रुपमा चिनिन थालेका छन् । गत वर्ष उनले १६ वटा तिज गीत गाएका थिए । ‘यसपटकलाई बल्ल तिज गीत सक्यो’ अनामनगरमा भेटिएका खुमनले भने, ‘आजचाहिँ दशैं गीत रेकर्डिङ गरेर आएको हुँ ।’ खुमनले यसपालिको तिजका लागि आर्शीवाद माग्छु, नमस्ते झोले, सत्य कसम ढाँटेको होइन, सरी ल, काली तिम्रो मायाले, साता तलाको घरलगायतका गीत गाएका छन् । जुन गीतहरु हिजोआज विभिन्न रेडियो तथा टेलिभिजन च्यानलहरुमा बजिरहेका छन् ।
    खुमन एक समय लोकगायनमा एक नम्बरमा थिए । अहिले त्यही स्थानमा त छैनन् तर, हरेकदिन एउटा गीत रेकर्डिङ गर्न भने भ्याइरहेका छन् । तीन वर्षअघि लोकगायन क्षेत्र ‘खुमनमय’ थियो । त्यतिखेरै उनले एकैदनि ६ वटा गीत रेकर्डिङ गर्न भ्याएका थिए, जुन चानचुने कुरा होइन । खुमन भन्छन्, ‘एकैदिन ६ वटा गीत रेकर्डिङ गर्दा दुईदिन थला नै परेँ । त्यसपछि एकदिनमा दुईवटासम्म मात्र गाउन थालें ।’ अहिले पनि दिनमा दुईवटासम्म गीत रेकर्डिङ गर्दै आएको उनले सुनाए ।
    स्याङ्जाबाट राजधानी छिरेर लोकगायन अँगालेका खुमनले पहिलोपटक ‘ईश्वर पनि देब्रे परेछ’ बोलको गीत गाए । त्यसपछि देब्रे होइन, खुमनका लागि सधैं ईश्वर दाइना परेको छ । करिब ८ वर्षको आफ्नो सांगीतिक यात्रामा खुमनले साढे चार हजारभन्दा बढी गीतमा स्व दिन भ्याइसकेका छन् । ‘चार हजार कटेपछि गन्नै छाडेँ’ खुमनले भने, ‘दिनै गाइरहेको छु । फुर्सद बस्नै पाएको छैन ।’ रेकर्डिङ र देश–विदेशको स्टेज कार्यक्रमले खुमनलाई भ्याइनभ्याई भएको छ । लोकगायनमा ‘स्टेज किङ’ को परिचय बनाएका खुमनले दर्जनभन्दा बढी मुलुकमा आफ्नो प्रतिभा प्रस्तुत गरिसकेका छन् ।
    जापान, मलेसिया, सिंगापुर, कतार, दुबई, कोरिया, साउदी अरब, कुवेत, बहराइनलगायत मुलुकमा गायन प्रतिभा प्रस्तुत गरिसकेका खमुनले भने, ‘यसपालिको तिज र दशैंका लागि पनि विदेश कार्यक्रममा बुक भइसकेको छु ।’ यसपालिको तिजमा जापान जान लागेको उनले सुनाए ।
    लोक गायनमै व्यस्त खुमनले अहिलेसम्म आफ्नो एल्बम ल्याएका छैनन् । उनले भने, ‘अरुको एल्बममा गाउँदै व्यस्त भइयो ।  अबचाहिँ आफ्नै सोलो एल्बम ल्याउँदै छु ।’ लोक गायनमा स्थापित खुमनले आधुनिक गायनमा पनि रुचि देखाउन थालेका छन् । आफ्नो स्वरले म्याच गर्ने आधुनिक गीत गाउने खुमनको इच्छा छ । उनी भन्छन्, ‘आधुनिक गीत गाउने सोच छ । मेरो स्वरले साथ दिएमा चाँडै गाउने छु ।’

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु