
किशोर थापा नेपालका लागि राम्रा ध्वनि सम्पादक (मिक्सिङ) का हुन् । उनले गरेको मिक्सिङलाई गीतसंगीत उद्योगमा उत्कृष्टताको मापन गरिँदै आइएको छ । हुन त काठमाडौं उपत्यकाभित्र धेरै रेकर्डिङ स्टुडियोहरु छन्, जसमा धेरै मिक्सिङ गर्ने व्यक्तित्व छन् । कोही चल्तीका होलान् त कोही आफ्नो ठाउँमा राम्रो सम्पादन गरिरहेका होलान् । तर चर्चाका हिसाबले हेर्नुपर्दा किशोर थापालाई नम्वर वानमा नै ध्वनि सम्पादक अर्थात गीतसंगीतको मिक्सिङ गर्ने व्यक्तिका रुपमा लिइने गरिन्छ ।
गीतसंगीतकै प्रविधिलाई अवलोकन गर्ने मुख्य उद्देश्य बोकेर मुम्बईतर्फ हानिएका किशोरले त्यहाँको वास्तविकता बुझेर फर्किएपछि भने– ‘त्यहाँ संगीतका लागि व्यवसाय हुँदो रहेछ यहाँ व्यवसायका लागि संगीत हुँदो रहेछ ।’ हुन त प्रविधिको विकासले शिखर चुमिरहेको बेला मुम्बई गएर फर्किंदैमा यहाँ धेरै गफ ग¥यो भन्लान् तर मैले आफ्नो व्यवसायिक मर्यादाका लागि धेरै पाठ सिकेर फर्किएको छु, म्यूजिकखबरसँग उनले भने । त्यहाँ संगीत कसरी राम्रो हुन्छ, एउटा गीत कसरी राम्रो हुन्छ भनेर सम्पूर्ण म्यूजिकसियनहरु लागि परेर काम गर्दा रहेछन् । पैसाभन्दा पनि काम महत्वपूर्ण ठान्दै काम गरिरहेको मैले देखें तर यहाँ कामभन्दा पैसालाई महत्वपूर्ण गर्दा हामी सबै क्षेत्रबाट पछाडि परिरहेका रहेछौं, किशोरले भने ।
मुम्बईमा रहँदा किशोरले चर्चित संगीतकार रञ्जित गजमेर, यशराज स्टुडियोका कुशल रेकर्डिष्ट शेख हसन साहेब, हेड टेक्निसियन दिलिप भाटियासँग नजिकबाट संगत गर्न पाए, जसले गर्दा त्यहाँको रकेर्डिङका बारेमा ज्ञान लिने अवसर मिलेको बताए । संगीतका बारेमा धेरै कुराहरु भए, अवलोकन गरियो तर वास् तविकतामा हामी धेरै पछाडि रहेछौं किशोरले भने । नेपालमा आफूलाई राम्रो मिक्सिङ गर्छ भने पनि त्यहाँको लागि म सुरुको खुड्किलोमै रहेछु किशोरले अनुभव सुनाए । म पनि सकेसम्म अब सिस्टमको फलो गर्छु अनि संगीतका लागि काम गर्छु । मुम्बईका बाध्यवादकहरुदेखि स्टुडियोका पुरै कर्मचारी गीतसंगीतलाई कसरी उत्कृष्ट बनाउने भन्नेमा क्रियाशील हुन्छन् तर यहाँ कतिखेर सकेर पैसा लिउँ भन्नेमा हामीहरु रहेछौं, उनको अनुभव थियो ।
काठमाडौंको पुतलीसडकमा आफ्नै रेकर्डिङ स्टुडियोसमेत संचालन गर्दै आएका किशोर थापा पूर्ण रुपमा म्यूजिक व्यवसायी नै हुन् । उनको स्टुडियोमा गीत रेकर्ड गर्न आउनेको भीडभाड हुन्छ । उनको मिक्सिङ क्वालिटी, स्टुडियोको क्वालिटीलाई पछ्याउनेहरु धेरै छन् । यसको अर्थमा उनीभन्दा नेपालमा अन्य ध्वनि सम्पादन गर्ने व्यक्तिहरु नराम्रो भन्न खोजिएको होइन तर गुणस्तरको हिसाबमा किशोर नम्बर वानमा नै गनिने गर्छन् । संगीतकर्मीहरुको नजरमा परेका किशोर मुम्बई भ्रमणले धेरै पाठ सिकेका भए पनि अब नेपाली संगीत बजारमा कसरी अगाडि बढ्न सक्नेछन् । मुम्बईजस्तै नेपाल बन्न नसक्ला तर एक दिन बनाउनुपर्छ भन्नेमा उनी दृढ विश्वासका साथ पुनः आफ्नै कार्यमा व्यस्त भएका छन् । पछिल्लो समय लोडसेडिङको मार खेपिरहेका किशोरले मुम्बई नगरीमा देखेका विकासभित्र नेपालमा मात्र बत्ती भए पनि धेरै काम गर्न सकिने बताउँछन् ।