• रविनले गरे एल्बम र पुस्तक सँगसँगै सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: १८ असार २०७५, सोमबार

    १८ असार, काठमाडौं । गायक तथा संगीतकार नेत्रबहादुर खत्री ‘रविन’ एकसाथ दुई कृति लिएर आएका छन् । अमेरिकामा बस्दै आएका खत्रीको ‘लभ डिजायर’ गीति एल्बम र ‘मोडलिङ द इकोच हुमन फिगर इन क्ले’ नामक पुस्तकको राजधानीमा आइतबार एक समारोहबीच सार्वजनिक गरिएको छ । दुवै कृतिको बरिष्ठ गायक प्रेमध्वज प्रधान, संगीतकार राजु सिंह, कलाकार उत्तम केसीलगायतले संयुक्त रुपमा विमाचन गरे ।


    एल्बम सार्वजिनकपछि गायक प्रेमध्वजले विदेशमा बसेर पनि नेपाली गीतसंगीतलाई माया गर्दै एल्बम निकालेका गायक खत्रीको प्रशंसा गरेका थिए । उनले भने, ‘वर्तमान अवस्थामा एल्बम निकाल्ने अवस्था छैन । तर, यस्तो एल्बमको नाजुक अवस्थामा पनि गायक खत्रीले एल्बम ल्याएर नेपाली संगीत क्षेत्रमा इँटा थप्ने काम गरेका छन् ।’ त्यस्तै, संगीतकार राजु सिंहले संगीतकार तथा पुस्तकका लेखक समेत रहेका खत्रीको गायनकलाको खुलेर प्रशंसा गरेका थिए ।

    सार्वजनिक एल्बममा गायक खत्रीकै संगीत र शब्दरचना रहेको छ । एल्बम ‘लभ डिजायर’मा जम्मा ५ वटा गीत रहेका छन् । जसमा एक्लै छु, आज मेरो, धेरै दिन, आकाशमा र तिम्रै मायामा बोलका गीत रहेका छन् ।
    एल्बम तथा पुस्तक सार्वजनिक भएपछि गायक तथा संगीतकार खत्रीले भने, ‘सानैदेखि गीतसंगीतप्रति मेरो लगाव थियो । राति सुत्दा पनि म मा संगीतको तरंग पैदा हुन्थ्यो । त्यो रहर अहिले आएर पूरा गरेको छु ।’ उनले आफ्नो प्रयासलाई दर्शक तथा श्रोता माया र हौसला प्रदान गर्ने आशावादी रहेको बताए । उक्त एल्बम युथ क्रियशनको बजार व्यवस्थापनमा श्रोतामाझ आएको हो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु