काठमाडौं । गीतकार परशुराम दाहालद्वारा रचना गरिएका आधुनिक शैलीका गीतहरुको नयाँ एल्बम ‘यात्रा जिन्दगीको’ काठमाडौंमा आयोजित एक समारोमा लोकार्पण गरिएको छ । कार्तिक २५ गते शुक्रवार एभरेष्ट लाउन्ज बानेश्वरमा आयोजित एक सांगीतिक समारोहमा गीतकार संघका निवर्तमान अध्यक्ष वरिष्ठ गीतकार चुडामणि देवकोटाको प्रमुख आतिथ्यतामा संगीतकार शक्ति वल्लभ, नीता निरौला दाहालसहितले उक्त एल्बम लोकार्पण गरेका हुन् ।
कार्यक्रमलाई स्वागत गर्दै गीतकार परशुराम दाहालले आफ्नो जीवनमा भोगेका, देखेका र समाजभित्रका कथाहरुमा आफ्ना भावनाहरु पोखेको बताएका थिए । उनले सानैदेखि नेपाली साहित्यमा रुचि भए पनि सरकारी जागिरको क्रममा साहित्यका पाटोलाई बिर्सेका हुँदा एल्बममार्फत पुनः उजागर गर्ने मौका मिलेको बताउँदै यसका लागि संगीतकार शक्ति बल्लभलाई विशेष आभार प्रकट गरेका थिए । गीतकार दाहालले गीतमार्फत कला, संस्कृति र भाषाको जगेर्ना गर्ने प्रयास गरेको समेत बताए ।
त्यस्तै संगीतकार शक्ति बल्लभले गीतकार परशुरामका गीतमाथि समिक्षा गर्दै सरलरुपमा शब्द सिर्जना भएको हुँदा संगीत सिर्जना गर्न सहज भएको बताएका थिए । एउटा अब्बल गीतकारका रुपमा आफूले गीतकार दाहाललाई पाएको बताउँदै उनको लेखन शैली साहित्यिक भएको बताएका थिए ।
त्यसैगरी प्रमुख अतिथि वरिष्ठ गीतकार चूडामणी देवकोटाले गीतकार परशुराम दाहाल गीति सिर्जनाका माध्यमले कला संस्कृतिको क्षेत्रमा होमिएको एक योद्धा भएको बताउँदै अमरताको यात्रामा लाग्नुभएकोमा बधाई ज्ञापन गरेका थिए । उनले गीति सिर्जना भनेको अमरताको यात्रा भएकोले साहित्यसँगै कहिल्यै पूर्व नहुने भनेकै सर्जक भएको बताए । कार्यक्रमलाई गीतकार सुमन पण्डितले संचालन गरेका थिए ।
एल्बमका गीतमा माया, प्रेमसँगै जीवन दर्शनलाई प्रवल रूपमा उठाइएको छ भने कतिपय गीतले राष्ट्र भावलाई समेत प्रखर रूपमा उठाएका छन् । एल्बका गीतहरुमा शक्ति वल्लभ, रामकृष्ण ढकाल, आनन्द कार्की, स्वरुपराज आचार्य, सुमित खड्का, मिलन नेवार तथा बानिका प्रधानका स्वर सुन्न सकिन्छ ।
एल्बमका गीतमा संगीतकार शक्ति बल्लभको एकल संगीत निर्देशन रहेको छ । मनोहर सुनाम र निरज श्रेष्ठको संगीत संयोजन रहेको यस गीतको मिक्सिङ तथा मास्टरिङ भोला पौडेलले गरेका छन् ।