काठमाडौं । नाट्यश्वर म्यूजिक अवार्डको मनोनयनमा परेका स्रष्टा र सिर्जनालाई उत्कृष्ट पाँचको मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । राजधानीस्थित रातो पुलमा रहेको रक हाउस क्याफेमा एक कार्यक्रमको आयोजना गरि ‘नाट्यश्वर म्युजिक अवार्ड –२०७५’को पाँच मनोनयनलाई प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा केन्द्रिय सदस्य अर्जुननरसिंह केसी लगायत विभिन्न मिडियाकर्मी तथा कलाकारहरुको सहभागिता रहेको थियो ।
नाट्यश्वर हामी सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित यस अवार्डको कार्यक्रम आगामी पुष १३ गते बनेपामा हुने कार्यक्रम संयोजक दिनेश थापाले बताए । मनोनयनमा पर्ने कलाकार सबैलाई प्रमुख अतिथि कांग्रेस नेता अर्जुन नरसिंह केसी बरिस्ठ चलचित्र निर्देशक मोहन निरौला, नेता रमेश महत, सुन्दरादेबी मिडिया प्रालिको अध्यक्ष शशी अधिकारी, बरिस्ठ गायक शिबनारायन जोशी, अवार्डका अध्यक्ष प्रल्हाद केसी, म्युजिक खबर म्युजिक अवार्डको अध्यक्ष सुमन बैरागी, चलचित्र पत्रकार संघको निवर्तमान अध्यक्ष शान्तिप्रिय, चलचित्र पत्रकार संघको उपाध्यक्ष गीता अधिकारी, एभरेष्ट कल्चरल ग्रुपका अध्यक्ष रामचन्द्र कोइरालाद्वारा स्रष्टाहरुलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै कलाकार राष्ट्रका अभिन्न अंग हुनुको साथै यस अवार्डले अझै कलाकारलाई सशक्त बनाएर मौलिक संस्कृतिको जगेर्ना गर्ने कांग्रेस नेता केसीले बताए । अवार्ड कलाकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको अवार्डका कार्यक्रम निर्देशक किरण अधिकारीले बताए ।