गीत सङ्गीतमा २०७५ साल : ऋतु परिवर्तनसँगै गीतसङ्गीत पनि परिवर्तन

म्यूजिक खबर
प्रकाशित: १३ बैशाख २०७६, शुक्रबार

सबिता पोखरेल /म्यूजिक खबर
२०७५ सालको समाप्तिसँगै नयाँ वर्ष २०७६ ले प्रवेश गरेको छ । साल परिवर्तनसँगै ऋतु परिवर्तन भएको छ, समय परिवर्तन भएको छ, गीतसङ्गीत पनि परिवर्तन भएको छ । तर समाज परिवर्तन हुन अझै सकेको छैन, सोच परिवर्तन हुन सकेको छैन । परिवर्तनको नाममा हाम्रा गीतसङ्गीतमा पनि फरक फरक शैली अपनाउन थालिएको छ । जसरी हुन्छ छिटो समयमा चर्चा चाहिएको छ । गायक गायिका, गीतकार, संगीतकार जसलाई पनि जसरी हुन्छ चर्चाको मात्र ध्यान छ । कहिले ट्रेन्डिङको चर्चा त कहिले जताततै गीत बजोस् भन्ने चर्चा । जसका लागि यतिखेर श्रव्यमा भन्दा दृश्यमा पनि बढी लगानी गर्ने र यूट्यूबममा ‘बुष्ट’ नाम विषादी प्रयोग गरेर चर्चा कमाउने, ट्रेन्डिङमा पर्ने चलन पनि छ । पहिलाजस्तो पत्रपत्रिका, रेडियो, टेलिभिजनमा बज्ने चर्चा अहिले छैन । चोक चोकका चिया पसलमा गफ गर्दा हुने ट्रेन्डिङको चर्चा चाहिएको छ उद्योगमा ।

 

त्यस्तै केही समय पहिला ‘पर्चेज’को चर्चा हुन्थ्यो ।  तर अहिले ट्रेन्डिङ र करोड क्बलको चर्चा हुन थालेको छ । मिलियन भ्यूजको चर्चा चोकचोकमा हुने गरेको छ भने आम्दानी भन्दा ठूलो खर्च गीतमा हुन थालेको अवस्था छ । मेरो गीतको भिडियो यस्तो भयो, उस्तो भयो भन्दै गर्दा लगानीका हिसाबले पनि मेरो सबैभन्दा धेरै लगानीको भन्ने चियागफ चलिरहेको पाइन्छ । चियाको चुस्कीसँगै गीतसंगीतको स्वाद पनि फरक भइसकेको भने पत्तै नपाइकन सकिएको हुन्छ । आखिर ‘विषादी’ ले रोग पनि भित्र्याउँछ भन्ने हामीले अझै बुझ्न सकेनौं । हामी सधैं हतारमा छौं । संख्यात्मकतामा हामी विश्वास गरिरहेका छौं, गुणात्मकता हराउने काम भइरहेको छ । हामीलाई लाग्दैन वर्षमा एउटा गीत आओस् तर धेरै वर्षसम्म त्यो गीतको वर्चश्व कायम रहोस् भन्ने । हामीसँग धैर्यताको समय छैन, ज्ञान छैन तर ‘चोरी दिमाग’ भने धेरै नै उपलब्ध हुने गर्छ । एउटा गीतलाई भाँचेर अर्को गीत बनाउने वा चर्चाको शिखरमा पुगेको गीतको पछि पछि नक्कल गर्दै अघि बढ्ने काम २०७५ मा पनि कायमै रह्यो ।

 

गीतसंगीतमा लगानी गर्ने २०७५ मा पनि ‘रेमिट्यान्स गीतकार’ नै हावी देखिएका छन् । ९० प्रतिशत गीतकारले लगानी गरेको गीतसंगीत उद्योगमा विदेशमा नै रगत पसिना बगाइरहेका गीतकारहरुले लगानी गरे, प्रस्तोतालाई ठूलो पारिश्रमिक दिएर गाउन लगाए तर प्रतिफल भने शून्य पाए । प्रस्तोताले पुनः त्यही ट्रयाक प्रयोग गर्छ देश विदेशका विभन्न स्टेजमा पैसा कमाउँदै हिंड्छ तर त्यो गीतकारको सपना मात्र चर्चाका लागि सीमित बन्छ । नेपाल फर्कनु भन्दा पनि ऋणमा डुबेर प्रवासमा नै ‘हाड घोट्ने’ काममा व्यस्त हुन्छ र उद्योगलाई चलायमान बनाइरह्यो । २०७५ मा उसको सपना प्रतिफलसँग नजोडि विशुद्ध गीतसंगीतको रहरको लगानीमा जारी राखेको पाइयो । गीतसंगीतमा लगानी गर्नेले लगानी मात्र पनि उठाउन सकेको छैन । २०७५ मा पनि अर्काको लगानीमा रमाउनेहरुकै हावी देखियो । समग्रमा गीतसंगीत उद्योग ‘उद्योगकै नाममा’ सीमित देखियो । उद्योग त ठूलो लगानीको बन्यो तर यसको दायारा कहाँ, के र कति ? भन्ने प्रश्नमै सीमित रह्यो । दिनदिनै लगानी गर्नेहरुको लगानी डुबिरहेको अवस्था ज्यूँका त्यूँ देखिए पनि त्यसको सुरक्षाका लागि होस् या अधिकारका लागि उद्योगलाई व्यवस्थित बनाउने निकाय खोज्ने क्रम जारी नै रह्यो । गीतसंगीतमा लागेका स्रष्टा र सिर्जनाकै अधिकारका लागि धेरै संघ, संस्था खोलिए पनि उनीहरुको काम, कर्तव्य र अधिकार नै धरापमा देखिएको बेला उद्योगका क्रियाशील सदस्यहरुतर्फ ध्यान जान सकेको देखिएन ।

 

गीतसंगीतको प्रयोग गरेवापत संगीत रोयल्टी तिनुपर्छ भन्ने बानीको विकास गर्न संगीत रोयल्टी संकलन समाज, प्रस्तोता समाज र उत्पादक समाजले केही गतिविधिलाई अगाडि बढायो । जे होस् जनस्तरमा केही चेतना फैलाउन सफल भयो भने सरकारसँग पनि अधिकारका लागि लड्ने कामलाई जारी राख्यो । जसअनुरुप रेडियो, टेलिभिजनबाट अनिवार्य रुपमा रोयल्टी बुझाउनु भनी सञ्चार मन्त्रालयबाट यसै वर्ष आदेश जारी ग¥यो भने यातायातको रोयल्टी उठाउन पनि विभिन्न आन्दोलन गर्दै यात्रा सफल मोडमा पुगेको छ । २०७५ रोयल्टीका लागि पनि फलदायी नै देखियो ।

यूट्यूबको आकर्षण

डिजिटल युगको परिवर्तनमा डिजिटल माध्यमको प्रयोग गर्दै गीतसंगीतले पनि सामाजिक सञ्जाललाई नै प्रयोग गरेर चर्चा परिचर्चा र आम्दानीको स्रोतलाई फराकिलो बनाउँदै गयो । जसअन्तर्गत यूट्यूब नै गीतसंगीतको लागि प्रमुख आम्दानीको स्रोत बनेर आयो । पछिल्लो समय गीतसंगीतमा लगानी गर्नेले यूट्यूबकै माध्यमबाट डलर कमाउन थालेका छन् । गीत रेकर्ड भएपछि लाखौं लगानीमा दृश्य सामग्री तयार गरी यूट्यूबमा गीत राखेकै आधारमा लगानी उठाएकाहरु पनि धेरै स्रष्टाहरु छन् । २०७५ पनि धेरै गायक गायिकाले आफ्नो व्यक्तिगत यूट्यूब एकाउन्ट खोलेर गीतको भिडियोलाई आफैंले प्रयोग गरे ।

छोटो समयमा करोड क्लबको यात्रा

पछिल्लो समय करोड क्बलको यात्रा गर्ने गीतहरु धेरै छन् । आजभोलि मिलियन भ्यूजलाई सामान्य मान्न थालिसकिएको छ । जसरी होस् करोड क्बलमा प्रवेश गर्नु आजभोलिको चलन चल्ती भइसकेको छ । अर्गानिक भ्यूजका आधारमा करोड क्बलमा प्रवेश गर्नेहरु सायदै भेटिँदैन यसको मतलब ‘बुस्ट’ गर्ने प्रवृत्तिबाट कोहि पनि अछुतो छैन । तर पनि छोटो समयमा करोड क्लबमा प्रवेश गर्ने गीत भने ‘लालुमै’ नै हुन सफल भएको देखिन्छ । चलचित्रका गीतमा कहिँ कतै कुनै गीत छन् कि तर लोकदोहोरीको इतिहासमै ‘लालुमै’ ले ३५ दिनको यात्रामा करोड क्लब प्रवेश गर्दै १० मिलियन भ्यूजको यात्रा पार गरिसकेको छ ।

 

लोकदोहोरीको बर्चश्व

पछिल्ला केही वर्ष लोकदोहोरीले धेरै आरोप प्रत्यारोप खेप्दै आएका थिए । ‘यस्ता पनि लोक दोहोरी गीत ?’ भनेर नाक खुम्च्याउनु पर्ने बाध्यता पनि बनाएको थियो स्रोता दर्शकलाई । छाडापन प्रस्तुत गर्दै कलाकारिता प्रस्तुत भएका थिए तर पछिल्लो समय त्यस्ता लोकदोहोरी गीतलाई पुरै परिवर्तन गर्न सफल भएको देखिन्छ ‘सालको पात टपरी हुनी’ । आश्विन १ गते २०७५ साल अर्थात् १७ सेप्टेम्बर २०१८ मा यूट्यूबमा अपलोड गरिएको गीत सालको पात टपरी हुनीले धेरै आशा बोके पनि दशैं र तिहारको समयमा यसले खासै चर्चा बटुल्न सकेको थिएन । धेरै लगानी खर्च गरेको यो गीतले कलाकारको आशालाई निराशा झण्डै बनाइसकेको थियो । तर एकाएक गीतले चौतर्फी रुपमा चर्चा पाउन सफल भयो, करोड क्लबमा प्रवेश ग¥यो । लोकदोहोरी मन नपर्ने स्रोतालाई पनि मन पर्ने गीत बन्यो सालको पात टपरी हुनी । यो लोकदोहोरी गीतलाई सबैभन्दा फरकपन दिनका लागि संगीत संयोजनको पक्ष अब्बल रहेको थियो । नवराज पन्तको शब्द, वसन्त थापाको संगीत रहेको यस गीतमा विष्णु माझी र कुलेन्द्र वि.क.ले स्वर दिएका थिए । यसको संगीत संयोजन भने आशिष अबिरलले गरेका थिए । ‘सालको पात टपरी हुनी’ बजारमा आएपछि दोहोरी गीतको माहौल नै त्यसकै पछि लाग्न थाल्यो । त्यसपछि आएका जाम सुस्तै सुस्तै, लालुमै, लाउँछ माया हुँदै पिँडालुसम्म आइपुग्दा धेरै गीतहरुले संगीत संयोजनको पक्षलाई सालको पातको ट्रेन्डलाई पछ्याउँदै आएको देखिन्छ । गायिका विष्णु माझीको स्वरलाई फरकपन दिँदै  आशिष अबिरलको संगीत संयोजनको पक्षलाई पछि लागेको देखिन्छ ।त्यतिमात्र होइन लोक संगीको प्रयोग २०७५ मा चलचित्र उद्योगमा पनि राम्रै भएको पाइन्छ । चलचित्र चलाउनकै लागि भए पनि लोकभाकामा आधारित रहेर गीतहरु निर्माण गरी चलचित्रमा प्रयोग गरिएको धेरै पाइन्छ । प्राय गरेर राजनराज शिवाकोटी र दिपक शर्माका गीतले बढी लोकलयलाई आधार मानेर चलचित्रमा प्रवेश गरे भने अर्जुन पोखरेल, टंक बुढाथोकी लगायतका संगीतकारले पनि लोकलयलाई चलचित्रमा प्रयोग गर्न सफल भए । त्यसैगरी लोकलयलाई नै भाँचेर भए पनि धेरै गीतहरु निर्माण भए । जसले आधुनिक मात्र गाउँछु भन्नेहरुका लागि पनि आफ्नो करिअरकै टर्निङ प्वाइन्ट बन्न सफल भएको देखिन्छ ।

 

आशिषकै भरमा २०७५

जुनसुकै क्षेत्रमा पनि भगवानको आशिषको भरमा प्रगतिको पाइला अघि बढेको पाइन्छ । त्यस्तै गीतसंगीतमा पनि भगवान जस्तै बनेर धेरैको सांगीतिक भविश्यलाई चर्चायोग्य बनाइदिन सफल भएका छन् आशिष अबिरल । आशिष अबिरलको संगीत संयोजनलाई पछ्याएर नै धेरै गायक गायिकाले आफ्नो करिअरलाई फलदायी बनाउन सफल भएका छन् । धेरै वर्ष संगीत क्षेत्रमा लागेका, राम्रा गीतसंगीत गरेका गायक गायिका पनि स्टेजका लागि ठाउँ नपाइरहेको अवस्थामा आशिष अबिरलकै संगीत र संगीत संयोजनका गीतहरु गाइसकेपछि सबैतिर चर्चायोग्य बन्न सफल भएका छन् । गायिका टीका प्रसाईंकै कुरा गर्दा पनि खासै उनले देश विदेशका कार्यक्रमहरु पाउँदिनथिन् । तर आशिष अबिरलकै संगतमा ‘नाइँ मलाई थाहा छैन’ गीतबाट यात्रा अघि बढाइन् । त्यसपछि २०७५ मा ‘माया लुकी लुकी’ आनन्द अधिकारीको शब्द र आशिष अबिरलको संगीतमा रेकर्ड गराएपछि यूट्यूबमा यो वर्षकै सर्वाधिक भ्यूज पाउन सफल गीतको गायिका बनेकी छन् । त्यसो त विश्व नेपालीका लागि पनि आशिष अबिरलको संगत फलदायी नै भएको छ । मिठो साह्रै मिठो गीतपछि धेरै स्टेज कार्यक्रम पाउन थालेका विश्वले २०७५ मा ‘म पनि बन्छु कि कवि देवकोटा’ ले पनि राम्रै सफलता पाए । आधुनिक, चलचित्र, लोकदोहोरी सबै गीतमा २०७५ आशिषकै भरमा चलेको देखिन्छ । त्यसो त आशिष हावी देखिए पनि अन्य संगीत संयोजकहरुका गीतहरु पनि चर्चामा आउन सफल भएका छन् ।

विवादमा गीत

२०७५ मा पनि धेरै गीतहरु विवादमा रहे । तर वर्षको अन्त्यतिर आइपुग्दा गायक पशुपति शर्माको ‘लुट्न सके लुट – अन्तै कतै पाइँदैन नेपालमै हो छुट’ ले निकै विवाद खेप्नु प¥यो । गायक शर्मा लोकदोहोरीमा आफूलाई फरकपनमा प्रस्तुत गर्दै आएका गायक शर्माका गीतहरु समाजप्रति व्यंग्य गर्दै धेरै आएका छन् । माया प्रेम भन्दा पृथक गीतहरुले आफूलाई सामाजिक रुपमा उभ्याएका गायक शर्माको गीत ‘लुट्न सके लुट – अन्तै कतै पाइँदैन नेपालमै हो छुट’ गीत विवादमा तानियो । यो गीतले नेपालको सरकारदेखि विदेशी मिडियासम्म स्थान पाउन सफल भयो । सदनमा समेत यो गीतको बहस चल्यो, गीत शर्मा आफैंले केही शब्द समाजअनुकुल नभएको भन्दै यूट्यूबबाट हटाए तर अझै पनि त्यो गीतको चर्चा यूट्यूब लगायतका सामाजिक सञ्जालको भित्तामा देख्न पाइन्छ ।

१० गीतको सूचि

२०७५ विशेष ः रुचाइएका नेपाली गीतहरुपछिल्लो समय युट्युबको महत्व बढ्दै गएको छ । अहिले युट्युब गीत र सिनेमालाई कतिले मन पराए कतिले पराएनन् भन्ने कुरा मापन गर्ने यन्त्र जस्तै बनेको छ । पछिल्लो समय नेपालमा युट्युबको प्रभाव र प्रयोग राम्रैसँग भएको छ । पहिले मुश्किलले कुनै नेपाली गीतले लाख दर्शक पाउँथ्यो भने अहिले लाख पटक हेरिनु सामान्य बनेको छ । अहिले त  केही गीत करोड पटक पनि हेरिएका छन् । केही वर्ष पहिलेसम्म पार्टी सभा तथा समारोहमा विभिन्न विदेशी भाषका गीतहरु बजने गर्थै भने आजकाल स्वदेशी गीतहरु नै बज्ने गर्छन् । २०७५ सालमा यूट्यूबका आधारमा सर्वाधिक भ्यूज पाएका उत्कृष्ट १० गीतको सूचि यस प्रकार छः

१. माया लुकी लुकी  यो वर्षको सर्वाधिक हेरिएको गीतमा टिका प्रसाईंको माया लुकी लुकी पहिलो नम्बरमा पर्न सफल भएको छ । १० महिना अघि सार्वजनिक गरिएको गीतलाई ५ करोड २३ लाख भन्दा धेरै पटक हेरिएको छ अर्थात् ५२ मिलियन भ्यूज पाइसकेको छ । आशिष अबिरलको संगीत र संगीत संयोजन रहेको यस गीतमा आनन्द अधिकारीको शब्द र टिका प्रसाईंको स्वर रहेको छ भने गीतको भिडियोमा द कार्टुन्स क्रुको टिमले अभिनय गरेको गरेको छ ।

२. नाच फिरिरिले यो वर्ष आफ्नो बर्चश्व यूट्यूबमा कायम राख्यो । कहिले ट्रेन्डिङ त कहिले करोड क्लब हुँदै नाच फिरिरिले ४ करोड ४४ लाख ५५ हजार ३ सय २८ को यात्रा नयाँ वर्षसम्म कायम राखेको छ । महेश काफ्ले र मेलिना राईको स्वरमा रहेको यो गीतलाई महेश काफ्लेकै संगीत र शब्दमा तयार गरिएको हो । बालापनमा लोकदोहोरीमा आफ्नो स्वर दिएका महेश काफ्लेले गायनको लामो समयपछि आफूलाई आधुनिक पप शैलीका गीतमा प्रस्तुत गरेको यो पहिलो गीत थियो । टेलिभिजनमा खेल सम्बन्धी रिपोर्टिङ गर्दै आएका महेश काफ्लेको नाच फिरिरी गीतमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, प्रकाश घिमिरे, क्रिस्टल क्लवास डान्स क्र्यूको अभिनय रहेको छ ।

३. गोजीमा दाम छैन  चलचित्र चंगा चेटमा समावेश गोजीमा दाम छैन बोलको गीतलाई युट्युबमा ४ करोड १९ लाख भन्दा धेरैपटक हेरिएको छ अर्थात् ४१ मिलियन भन्दा माथि भ्यूज पाइसकेको छ । ७ महिनाअघि सार्वजनिक गरिएको गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको छ गीतमा संगीतकार शिवाकोटी स्वयम्को स्वर रहेको छ भने साथमा मेलिना राई र गृष्मा शिवाकोटीको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका कलाकारहरु आयुष्मान देशराज, प्रियंका कार्की, सन्दीप क्षेत्री, परमिता आरएल शाह, रबिन्द्र झा र सुरक्षा पन्त लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

४. सालको पात टपरी हुनी  ७ महिनाअघि सार्वजनिक भएको लोकदोहोरी गीत सालको पात बोलको गीतलाई युट्युबमा ४ करोड ५ लाख भन्दा धेरैपटक हेरिएको छ अर्थात् ४० मिलियन भ्यूज पाइसकेको छ । बसन्त थापाको संगीत र नवराज पन्तको शब्दमा तयार भएको गीतका कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको छ । गीतको भिडियोमा नायिका मरिस्का पोखरेल, गायक कुलेन्द्र विश्वकर्मा र संगीतकार बसन्त थापाको अभिनय रहेको छ । यो गीत लोकदोहोरी गीतमा सबैभन्दा छिटो करोड क्लबमा पुग्ने गीत हो ।

५. पिरिम नलाउने ६ महिनाअघि सार्वजनिक भएको ‘पिरिम नलाउने’ बोलको लोकशैलीको गीतलाई ३ करोड ६६ लाख भन्दा धेरैपटक युट्युबमा हेरिसकिएको छ । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतमा आशिष गौतम (सचिन) र मेलिना राईको स्वर छ । गीतको भिडियोमा गायक सचिनको साथमा वर्षा राउतको अभिनय छ । यो गीतमा सामाजिक सञ्जाल टिकटकमा समेत सैयाँैँ भिडियो बनेको छ ।

६. पहिलो नम्बरमा चलचित्र ‘छक्का पञ्जा ३’ समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतलाई युट्युबमा ३ करोड ५८ लाखभन्दा धेरैपटक हेरिएको छ अर्थात् ३५ मिलियनभन्दा माथि भ्यूज आपइसकेको छ । आठ महिनाअघि सार्वजनिक गीतमा दीपक शर्माको संगीत तथा राजेन्द्र थापाको शब्दरचना छ । डेभिड शंकर र विन्दु परियारको स्वरमा रहेको गीतको भिडियोमा चलचित्रका कलाकारहरु दीपकराव गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, दीपिका प्रसाँइ, केदार घिमिरे, जितु नेपाल, बर्षा राउत, संजोग कोइराला, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

७. फूल होइन आठ महिनाअघि सार्वजनिक भएको चलचित्र ‘रोज’मा समावेश ‘फूल होइन’ बोलको गीतलाई युट्युबमा २ करोड ६१ लाख भन्दा धेरैपटक हेरिएको छ अर्थात् २६ मलियनभन्दा माथि भ्यूज पाइसकेको छ । एलिश कार्कीको संगीत तथा राजेश कुमार श्रेष्ठको शब्द रचनामा रहेको गीतमा प्रताप दास र प्रविशा अधिकारीको आवाज छ । गीतको भिडियोमा चलचित्रका नायक प्रदीप खड्का र नायिका मिरुना मगरको अभिनय छ ।

८. चौरीको चाम्रो छुर्पी टंक बुढाथोकी, अशोक दर्जी र एआर बुढाथोकीको स्वरमा रहेको ‘चौरीको चाम्रो छुर्पी’ बोलको गीतकालाई युट्युबमा १ करोड ८२ लाख भन्दा धेरैपटक हेरिएको छ । चार महिनाअघि सार्वजनिक भएको गीतमा शब्द तथा संगीत टंक बुढाथोकीको छ । गीतको भिडियोमा अशोक, टंक र एआरको साथमा डिजे रुपक सापकोटा, दीपिका शर्मा र बशुकला मैनालीको पनि अभिनय छ ।

९. भिजिट भिसामा दुई महिनाअघि सार्वजनिक गरिएको चलचित्र ‘दाल भात तरकारी’को गीत ‘भिजिट भिसामा’लाई युट्युबमा १ करोड ६१ लाखभन्दा धेरैपटक हेरिएको छ ।  शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतमा हरिवंश आचार्यको शब्द छ भने निशान भट्टराई र अञ्जु पन्तको स्वर छ । गीतको भिडियोमा हरिवंश आचार्य, निरुता सिंह, राजाराम पौडेल, पुष्पल खड्का, आँचल शर्मा, वर्षा राउत लगायतका कलाकारहरुको अभिनय छ ।

१०.उम्लियो भने पोखिन्छ दश महिनाअघि सार्वजनिक भएको चलचित्र ‘जय भोले’ मा समावेश ‘उम्लियो भने पोखिन्छ’ बोलको गीतलाई युट्युबमा १ करोड ५९ लाखभन्दा धेरैपटक हेरिएको छ । राजनराज शिवाकोटीको शब्द तथा संगीतका बनेको गीतमा स्वयं शिवाकोटी र गायिका मेलिना राईको स्वर छ । गीतको भिडियोमा स्वस्तिमा खड्का, खगेन्द्र लामिछाने, सौगात मल्ल, बुद्धि तामाङ, सलोन बस्नेत लगायतको अभिनय छ ।

साभारः म्यूजिक खबर पाक्षिकबाट

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु