१४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

म्यूजिक खबर
प्रकाशित: ४ माघ २०८२, शनिबार १५:२४

काठमाडौँ । काठमाडौँको चावहिल स्थित चलचित्र विकास बोर्डको प्राङ्गणमा माघ २ गते शुक्रबारबाट १४ औँ संस्करणको ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२६’ सुरु भएको छ । महोत्सवको उद्घाटन बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले शुक्रबार संयुक्त रुपमा गरे । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा यो महोत्सव सुरु भएको हो ।
यो महोत्सव विभिन्न कार्यक्रम सहित चलचित्र विकास बोर्डमा आगामी ५ माघसम्म जारी रहने महोत्सव निर्देशक डब्बु क्षत्रीले उदघाटन समारोहमा जानकारी गराए । महोत्सव निर्देशक डब्बु क्षेत्रीले महोत्सवमा नेपालसहित २० देशका ४३ वटा फिल्म प्रदर्शन गरिने जानकारी दिए । उनका अनुसार महोत्सवमा फिल्म प्रदर्शनसँगै अन्तरक्रिया कार्यक्रम, नृत्य कार्यशाला, कला प्रदर्शनी तथा मास्टर क्लाससमेत सञ्चालन गरिनेछ । महोत्सवमा १० जना विदेशी फिल्मकर्मीको सहभागिता रहेको छ ।
सो महोत्सवको उदघाटन समारोहलाई सम्बोधन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अफ्रिकासहित विभिन्न देशलाई यो महोत्सवले चलचित्र मार्फत जोड्दै आएको बताए । बोर्डले विभिन्न सिपमुलक प्रशिक्षण दिँदै आएको जानकारी गराउँदै आध्यक्ष डिसीले बोर्डको सहकार्यमा नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि यस पटक चलचित्र नृत्य कार्यशाल आयोजना हुनु सुखद पक्ष भएको बताए । उनले महोत्सवको सफलताको शुभकामना दिँदै यस्ता महोत्सवले चलचित्रको विकास र विस्तारमा ठुलो सहयोग पुग्ने भनाई कार्यक्रममा राखे ।
कुलपति हार्तम्छालीले उद्घाटन समारोहलाई सम्बोधन गर्दै महोत्सवले विश्वभरका कलाकर्मीबीच ज्ञान आदानप्रदानको अवसर सिर्जना गरेको बताए । कुलपति हार्तम्छालीले ललितकला प्रज्ञा प्रतिष्ठानको तर्फबाट महोत्सवस्थलमा ‘फिल्म, संस्कृति र प्रकृति’ शीर्षकमा आयोजित चित्रकला प्रदर्शनीमा सहभागी हुँदै त्यसबारे उपस्थित फिल्मकर्मीलाई जानकारी गराएका थिए ।
महोत्सवको उद्घाटन समारोहमा चलचित्र प्रदर्शक एवम् नेपाल चलचित्र संघ काठमाडौँ उपत्यकाका सभापति दुर्गालाल प्रधानलाई चलचित्रकर्मी रजतसम्मानबाट सम्मानित गरिएको थियो भने नृत्य कोरियोग्राफर संदीप भुजेल पनि सम्मानित भएका थिए ।

महोत्सवको उद्घाटन समारोहमा शुक्रबार चलचित्र ‘परान’ प्रदर्शन गरिएको थियो । शुक्रबार नै बंगलादेशको फिचर चलचित्र ‘मेमोरी अफ ग्लुमी मनसुन’ पनि देखाईएको थियो । सोमबारसम्म जारी रहने यो महोत्सवमा नेपालबाट २० वटा लामा छोटा चलचित्र छन् । जसमा नेपाली कथानक चलचित्रतर्फ मिलन चाम्स निर्देशित ‘अञ्जिला’, सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’, ऋषी लामिछाने निर्देशित ‘माग्ने राजा’, दीपकप्रसाद आचार्य निर्देशित ‘परान’ तथा नर प्रधान निर्देशित ‘यो मन त मेरो नेपाली हो’ रहेको छ । यस्तै वृत्तचित्रतर्फ भीमलाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ छनोटमा परेका छन् । यस्तै तीन आदिबासी चलचित्र, चार विधार्थी चलचित्र र पाँच लघु चलचित्र छन् ।
बिदेशी तर्फ १९ देशका २३ चलचित्र छन् । जसमा अन्तर्राष्ट्रिय समूहअन्तर्गत कथानक फिल्मतर्फ बंगलादेशको ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोट डी आइभोरीको ‘साइलेन्स मोर्टेल’ प्रतिस्पर्धामा छन् । वृत्तचित्रतर्फ युक्रेनको ‘द स्केड्युल अफ फाइटिङ टु लर्न’, एस्टोनियाको ‘अटिस्ट अफ सर्वाइभल’ र जर्मनीको ‘गल्र्स डोन्ट प्ले स्पोट्र्स’ छनोट भएका छन् । शनिबार महोत्सवमा विहान ९ः३० बजेबाट बेलुका ७ः३० सम्म नियमित चलचित्र प्रदर्शन तथा मास्टर क्लास रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु