• सज्जा चौलागाई भइन् तेस्रो नेपाल आइडल

    म्यूजिक खबर
    प्रकाशित: १२ भाद्र २०७७, शुक्रबार

    काठमाडौं । एपी वान टेलिभिजनले आयोजना गरेको नेपाल आइडलको तेस्रो संस्करण सज्जा चौलागाईंले चुम्न सफल भएकी छन् । आज भएको ग्राण्ड फिनालेमा उनले ५० लाख नगदसहित नेपाल आइडलको उपाधि चुमेकी हुन् ।
    फस्ट रनरअप प्रविन बेडुवाल हुन सफल भए भने सेकेन्ड रनरअप किरण कुमार भुजेल हुन सफल भए । प्रविनले १० लाख र किरणले ५ लाख नगदसहित उपाधि चुमेका छन् । कोरोना संक्रमणका कारण ग्राण्ड फिनाले कार्यक्रम भव्य रुपमा गर्न नपाएको भन्दै एपी वानका प्रमुख क्याप्टेन रामेश्वर थापाले विजेता घोषणा गरेका थिए ।

    चार हजारभन्दा बढी प्रतियोगीबाट छानिएर करिब सय जना तेस्रो नेपाल आइडलमा प्रतिस्पर्धामा गरेका थिए ।

    नेपालमा अन्तर्राष्ट्रिय गायन रियालिटी सो ‘आइडल’को फ्रेन्चाइजका रूपमा सुरु भएको नेपाल आइडलका दुई संस्करण पूरा भइसकेका छन्। जसमा नेपाल आइडल पहिलो संस्करणको उपाधि बुद्ध लामाले हात पारेका थिए भने दोश्रो संस्करणको उपाधि रवि ओडले हात पारेका थिए ।

    मोरङकी सज्जा हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आइरहेकी छिन्। विद्यालयमाहुँदा देखि नै गायन प्रतियोगितामा सहभागि भइ प्रथम हुँदै आएकी सज्जा नेपाल आइडलमा प्रवेश गरेसँगै उनको रक पप शैली बोल्ड आवाजको चर्चा हुन थालेको थियो।

    नेपाल आइडलमा सहभागी हुनु अघि सज्जाले काठमाडौंका विभिन्न लाउन्जहरुमा लाइभ सांगितिक प्रस्तुती दिने गर्थिन्। सज्जाले ‘दि लोडिङ’ नामक ब्यान्डमा समेत आबद्ध भएर काम गरेकी छिन्। हाल स्नातक गरिरहेकी सज्जाले संगीतमा भविष्य बनाउनुका साथै फेसन डिजाइर बन्ने सपना समेत बुनेकी छिन्।

    बर्दियाका प्रविन बेडुवालले पछिल्लो समय नेपाल आइडलको मंचमा दिएको प्रस्तुतिले नेपाली गीत संगीतलाई नै जुरुक्कै उचालेको धेरैले अनुभूति गरेका थिए ।
    उ जितेर गई या हारेर गई गीत गाउँदा होस् या के भूल भयो प्रिया गाउँदा उलाई निर्णायकले उस्तादको संज्ञा दिएका थिए ।
    यसपटकको नेपाल आइडलमा उनले निर्णायकको मन जितेर मेलोडि किङको उपाधी पाइसकेका छन् ।

    ‘नेपाल आइडल–३’ बाट बाहिरिसकेका किरण कुमार भुजेल पुनः प्रवेश गरेका थिए । वाइल्ड कार्ड इन्ट्री मार्फत किरण भुजेल ‘नेपाल आइडल–३’मा पुनः प्रवेश गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु