गजललाई परिभाषित गर्नेहरु विभिन्न रुपमा देखा पर्न थालेका छन् । जुन बेला गजल लेखनलाई श्रृंगारिक हिसाबमा लिइन्थ्यो त्यतिखेरको समयमा गजलमा सङ्गीत गर्नेहरुको कमी थियो वा सङ्गीतमा ढालिएको थिएन । साहित्यिक गोष्ठीहरुमा वाचनमा मात्र सीमित राखिएको थियो । गजलको सिद्धान्तमा रहेर शब्दहरुलाई चयन गर्दै श्रृंगारिक रसमा लेखिने गरेको गजलले पछिल्लो समयमा आएर विभिन्न विषयवस्तुमाथि पनि केन्द्रीत रहँदै शब्द पस्किन थालिएको छ । जस्तो मायाप्रेम, मिलन बिछोड, देश, परिवेषसँग पनि गजललाई कोर्न थालिएको छ । सबै विषयवस्तुमा केन्द्रीत रहेर गजल लेखिन थाले पनि केही विज्ञहरुले अझै पनि गजलको सङ्गीत भने क्लासिकल अर्थात् शास्त्रीय शैलीमा नै हुनुपर्छ भन्ने अडान राख्ने गरेका छन् ।
महिनैपिच्छे गजल वाचनका कार्यक्रमहरु हुने गर्छन् भने गजल गायनलाई पनि प्राथमिकतामा राख्दै रेकर्ड गरिएको छ । आजभोलि गीतलाई भन्दा गजल रेकर्डलाई प्राथमिकता दिइएको छ भने गजल गायनका माध्यमले गायक गायिकाहरुको पनि उचाइ बढेको पाइएको छ । पछिल्लो समयलाई हेर्ने हो भने शिव परियार, प्रमोद खरेल, राज सिग्देल, निशा देशार जस्ता गायक गायिकाहरु गजल गायनबाट नै स्टेजका कार्यक्रमहरुमा चर्चा बटुलिरहेका छन् । तर उनीहरुको गजल गायन भने शास्त्रीय नभएर लोकवेशमा आधारित रहेको पाइएको छ । हामीले सेमी क्लासिकल गजल सङ्गीत हुनुपर्छ की परिवर्तनशील गजल सङ्गीत भन्ने प्रश्नमा हेर्दा खेरि आ–आफ्नो धारणा पाउने गर्छौं । अब गजल सङ्गीतको हिसाबले हेर्दा सेमी क्लासिकल सबैभन्दा राम्रो हो । तर स्रोताहरुको नजरमा भने लोकवेसमा रहेको गजल सङ्गीत बढी रुचाईको पाइन्छ । प्रमोद खरेल हुन् या शिव परियार क्लासिकल भन्दा लोकवेसको गजल सङ्गीतबाट माथि उठेको प्रष्ट देखिन्छ । अब गजल गायनलाई कसले कसरी मन परायो भन्दा पनि मन पराउनेको संख्यामा हेर्दा लोकवेस पनि सँगै समावेश हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।
पछिल्लो समयमा गजलकारहरु धेरै बृद्धि भएका छन् । नाम चलेका गजलकारहरुले पनि श्रृंगारिक रसका मात्र गजल लेख्दैनन् भने नयाँ पुस्ताको त कुरै छाडौं । गजलकारहरुले आफ्नो श्रृंगारिक धार नै परिवर्तन गरिरहेको अवस्थामा गजल सङ्गीत गर्नेहरुमाथि भने सेमी क्लासिकल भएन भनेर औंला ठड्याउने प्रवृति हावी नै छ । यो विषयमा भने एउटै कुरा यो छ की परिवर्तनशील गजल लेखिन्छ भने हामीले सङ्गीतलाई पनि परिवर्तन गर्नुपर्छ । जसले गर्दा हाम्रो गजल सङ्गीतले पनि उच्च प्राथमिकता पाओस् र स्रोताहरुको रुचीलाई पनि पूर्णता दिलाओस् भन्ने हो । त्यहीँमाथि पहिला पहिला गजल सङ्गीतलाई सेमी क्लासिकल बनाउने र दरबारिया अथवा हुने खानेहरुको घरमा मात्र सीमित राखी सुरा र सुन्दरीसँगै सुन्ने र नचाउने प्रवृत्तिमा गजललाई सीमित राखिएको थियो । अहिले त्यो अवस्थाबाट परिवर्तशील हुँदै सुरा र सुन्दरीको केन्द्रविन्दुबाट टाढा राख्दै सबै दर्शकहरुको माझ जसरी परिमार्जित गर्दै ल्याइयो । अब त्यो स्रोताहरुको सामु निकै लोकप्रिय बन्दै गएको अवस्थामा हामी परम्परागत शैलीमा मात्रै रहेर त्यसलाई पस्कनु राम्रो हो जस्तो लाग्दैन । स्रोताहरुको रुचि कता धेरै छ र उनीहरुको माग कता ढल्किरहेको छ भन्ने कुरा पनि बुझ्नु पर्छ । जसले लेखन परिवर्तनशील बनेर अघि बढ्यो त्यसरी नै हामीले गजल सङ्गीतको धार पनि परिवर्तन गर्नुपर्छ भन्ने हो ।
गजल वाचनबाट गायनतर्फ मोडिएकै अवस्थामा हामीले शास्त्रीयबाट लोक वेस अथवा क्षेत्रीय हिसाबमा पनि परिवर्तन गर्न किन नहुने ? यो प्रश्न गजलमा क्रियाशील रहेका सबै स्रष्टाहरुका लागि पनि हो । जुन क्षेत्रको मौलिकता हो त्यही क्षेत्रको मौलिक भाषा अनुसार हामीले गजल लेखनलाई पनि लैजान सकियो भने त्यसको सार्थकता हुने थियो । हामीले जति बहस गरे पनि आखिर रुचाइएको बेसलाई नै बढी प्राथमिकतामा राख्ने हो भने सेमी क्लासिकलमा मात्र गजललाई सीमित राखिनु हुन्न । जनमतको कदर गर्दै विभिन्न शैलीमा गजललाई लैजाँदा गजल सङ्गीत अझ फराकिलो हुने थियो की भन्ने हो । आखिर परिवर्तनशील धारको नाउँमा सेमी क्लासिकललाई बिगारेर जाने भन्ने चाहिँ होइन र क्लासिकल धार नराम्रो भन्न खोजिएको पनि होइन । परिवर्तनका नाममा गजललाई पाश्चात्य शैलीमा ढाल्ने भन्ने चाहिँ होइन तर गजलमा परिवर्तन हुनु भने जरुरी छ । यसलाई गोष्ठी र सभामा मात्र होइन फराकिलो बनाउँदै लैजानु पर्छ भन्ने हाम्रो मान्यता हो ।