काठमाडौं । स्वर साम्राज्ञी गायिका अरुणा लामाको ७७ औं जन्मजयन्तीको अवसरमा वरिष्ठ गायक अमरराज शर्मा र वरिष्ठ तबलावादक राजु अग्रवाललाई सम्मान गरिएको छ । वरिष्ठ गीतकार, कवि तथा निर्देशक प्रकाश सायमीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा शर्मा र अग्रवाललाई सम्मान गरिएको हो ।
नेवा साधना कला केन्द्रको आयोजनामा राष्ट्रिय नाचघर जमलमा आयोजनामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सुन्दरमान श्रेष्ठको सभापतित्व रहेको थियो । उक्त कार्यक्रमको संचालन अनिशा भण्डारीले गरेकी थिइन् ।
कार्यक्रममा नेवा साधना कला केन्द्रकी सचिव रोजी श्रेष्ठले स्वागत मन्तव्य दिँदै स्वरसाम्राज्ञी लामाको भेटिनु छुटिनु बोलको गीतसमेत प्रस्तुत गरेकी थिइन् ।
त्यसैगरी वरिष्ठ गीतकार विश्व वल्लभले गायिका अरुणा लामाको सांगीतिक जीवनीबारे प्रकाश पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि, गीतकार तथा निर्देशक प्रकाश सायमीले स्वर साम्राज्ञी अरुणा लामाको जीवनीबारे सबैलाई प्रष्ट पारेका थिए । सायमीले अरुणा लामाका गायकी पक्षबारेमा सशक्त रुपमा प्रस्तुत गर्दै उनका श्रीमान संगीतकार भएकाले पनि उनको गायन यात्राले अझै शिखर चुम्न सफल भएको बताएका थिए । तर श्रीमानको निधनपश्चात् भने उनले लामो समय गाउन छाडेको र धेरैजनाको अनुरोधपश्चात गाउन सुरु गरेको कुरा पनि उल्लेख गरेका थिए ।
कार्यक्रममा गायिका सरिता शाही, सरस्वति मानन्धर, लजना मानन्धर, किशोर शाही, रोजी डंगोल श्रेष्ठ, एजेला सिंह, कल्पना श्रेष्ठ, प्रतिमा बज्राचार्य, सूर्य लक्ष्मी भूमी, सुधालक्ष्मी श्रेष्ठ, धर्म मानन्धर, सिद्धार्थ श्रेष्ठ लगायतले गायिका लामाका गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा गायक किशोर शाहीले महिला आवाजमा फुललाई साधें बोलको गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।