
काठमाडौं । नेपाली कला, चलचित्र र पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउने स्रष्टाहरूलाई पुरस्कृत गर्दै आएको संस्था ‘परिवर्तन नेपाल’ ले वि.सं. २०८२ सालका लागि आफ्ना प्रतिष्ठित विधागत पुरस्कार तथा सम्मानहरूको घोषणा गरेको छ। संस्थाका महासचिव देवेन्द्र पाण्डेले एक प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष पुरस्कार तथा विशेष सम्मान प्राप्त गर्ने कुल ९ व्यक्तित्वहरूको नाम सार्वजनिक गर्नुभएको हो।
संस्थाका केन्द्रीय अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले विजेताहरूको नाम टुङ्गो लगाएको विज्ञप्तिमा उल्लेख छ। उक्त महत्त्वपुर्ण निर्णय प्रक्रिया र कार्यसमितिको बैठकमा छनौट समिति सदस्य वरिष्ठ सञ्चारकर्मी शान्तिप्रिय, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र परिवर्तन नेपालकर्मी माधवराज खरेलको विशेष सहभागिता रहेको थियो।
‘चेतन कार्की स्मृति पुरस्कार’ वरिष्ठ सञ्चारकर्मी कृष्ण भट्टराईलाई
यस वर्षको ‘चेतन कार्की स्मृति पुरस्कार’ वरिष्ठ सञ्चारकर्मी तथा चलचित्र पत्रकार कृष्ण भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएको छ। विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र पत्रकारिताको अग्रपंक्तिमा सक्रिय भट्टराईले विभिन्न राष्ट्रिय सञ्चारमाध्यमहरूमा कला क्षेत्रको खोजमूलक लेखन, समीक्षा र समाचार सम्पादनमार्फत यस क्षेत्रको व्यावसायिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ।
दुई लोकप्रिय कलाकर्मीलाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’
त्यस्तै, पिता पुण्य निरौला र माता दुर्गादेवीको स्मृतिमा स्थापित ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ यस वर्ष संयुक्त रूपमा दुई जना कलाकर्मीलाई प्रदान गरिने भएको छ। यो पुरस्कारबाट लोकप्रिय वरिष्ठ चरित्र अभिनेत्री शारदा गिरी (सितेकी आमा) र निर्देशक तथा कलाकार विश्वदिप घिमिरेलाई सम्मानित गरिने निर्णय भएको छ। अभिनेत्री गिरी नेपालका सर्वाधिक लोकप्रिय टेलिचलचित्रहरू ‘भद्रगोल’ र ‘सक्कीगोनी’ मा ‘सितेकी आमा’ को ठेट र जीवन्त भूमिकाका कारण देश(विदेशका नेपालीमाझ लोकप्रिय हुनुहुन्छ। यस्तै, संयुक्त रूपमा पुरस्कृत हुनुहुने घिमिरे डेढ दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र, वृत्तचित्र र भिडियो निर्देशन तथा अभिनयमा रचनात्मक रूपमा सक्रिय नयाँ पुस्ताका सबल चलचित्रकर्मी हुनुहुन्छ।
चार लोकप्रिय कलाकर्मीलाई ‘परिवर्तनकर्मी विशेष सम्मान’
बैठकले परिवर्तन नेपालसँग लामो समयदेखि आबद्ध रही नेपाली रंगमञ्च, ललितकला र चलचित्रको उत्थानमा अनवरत रूपमा क्रियाशील रहेका चार स्थापित अनुहारहरूलाई ‘परिवर्तनकर्मी विशेष सम्मान’ प्रदान गर्ने विशेष निर्णय समेत गरेको छ। जसअन्तर्गत नेपाली चलचित्र क्षेत्रका चम्किला तथा लोकप्रिय अभिनेता आर्यन सिग्देल (जसले आफ्नो अभिनय यात्राको सुरुवात नै परिवर्तन नेपालको सडक नाटक ‘जनताको प्रजातन्त्र’ बाट गर्नुभएको थियो), बहुआयामिक अभिनेता तथा रंगकर्मी आशान्त शर्मा, कुशल कलाकार तथा संगीत व्यवसायी
सरोज ओली र ललितकलाका प्रखर समीक्षक एवं कलाकार देवेन्द्र थुम्केलीलाई यो सम्मान अर्पण गरिने भएको छ।
दुई जनालाई ‘परिवर्तन नेपाल विशेष सम्मान’
संस्थाले यस वर्षको ‘परिवर्तन विशेष सम्मान’ छायाँकार वीरेन्द्र प्रसाद भट्ट र रंगपत्रकार (सम्पादक- म्युजिक खबर), गीतकार तथा कार्यक्रम व्यवस्थापक सबिता पोखरेललाई अर्पण गर्ने निर्णय गरेको छ। नेपाली गीत-संगीत उद्योग, कला पत्रकारिता र सांस्कृतिक कार्यक्रम व्यवस्थापन (इभेन्ट म्यानेजमेन्ट) मा स्थापित नाम पोखरेलले शब्द सिर्जना, संगीत सम्पादन र ठूला सांगीतिक कार्यक्रमहरूको कुशल व्यवस्थापन गर्दै नेपाली कला र संगीत बजारलाई व्यावसायिक उचाइ दिन नेपथ्यमा रहेर निरन्तर नेतृत्वदायी भूमिका खेल्दै आउनुभएको छ। त्यस्तै फिल्ममा छाँयाकारको रुपमा काम गर्दै प्राविधिकहरुको पेशागत हकहितका लागि प्रतिवद्ध भई काम गर्दै आएका छायाँकार वीरेन्द्र प्रसाद भट्टलाई परिवर्तन विशेष सम्मान गर्ने अर्पण गर्ने निर्णय गरेको हो ।
विगत लामो समयदेखि नेपाली कला, चलचित्र र पत्रकारिता क्षेत्रका साधकहरूलाई प्रोत्साहित गर्दै आएको परिवर्तन नेपालले आगामी दिनमा एक विशेष समारोहको आयोजना गरी यी पुरस्कार तथा सम्मानहरू औपचारिक रूपमा वितरण गर्ने तयारी गरिरहेको जानकारी अध्यक्ष मोहन निरौलाले दिनुभयो ।