• थुप्रै कालजयी गीतकी चर्चित गायिका लासिमित राईको निधन

    म्यूजिक खबर
    प्रकाशित: १६ जेष्ठ २०७८, आईतवार
    lasimit-rai लासिमित राई

    काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण बहुचर्चित गायिका लासिमित राईको निधन भएको छ । थुप्रै चलचित्र तथा आधुनिक गीतमा स्वर दिएकी गायिका राईको कोरोना संक्रमणका कारण निधन भएको हो । कोरोना संक्रमण भएपछि ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना भएकी ५३ वर्षीया राईको शुक्रबार निधन भएको हो । शुक्रबार नै नेपाली सेनाको टोलीबाट उनको अन्त्येष्टि गरिएको छ । उनले गतवर्ष मात्रै श्रीमान गुमाएकी थिइन् ।

    उनको जन्म भारतको दार्जिलिङ क्षेत्रअन्तर्गत रङ्गोनमा भएको हो । बुबा काचिन लेप्चा र आमा मधु लिम्बूकी सुपुत्री लासिमितका दुई गीति एल्बम प्रकाशन हुनका साथै दर्जनौँ लोक, आधुनिक र चलचित्रका गीतहरू रेकर्ड भएका छन् ।

    उनी तीन दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय थिइन् । किन तिमी र नआऊ सपनाभरि उनका प्रकाशित एल्बम हुन् । उनको गायनमा गाइएका चलचित्रहरू बलिदान, परदेशी कान्छा, गाउँले, रगत, नाम के हो, लेखान्त आदि हुन् । मेरो माया लै बरि लै लै फूलझैँ चम्केकी , सुनकोशीको सुनको पानी, सँगसँगै बाँच्न पाऊँ सँगसँगै मर्न पाऊँ, डुल्न मन लाग्छ मायालु, मेला राम्रो वैशाखे पन्ध्रमा, मेरो माया आठै तुना बाँध चौबन्दीमा, मायालुको मुहारै हँसिलो जस्ता गीतहरू नेपाल र भारतका नेपाली वस्तीमा गुनगुनाइएका गीत हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु