
काठमाडौं । गोर्खाली गायक प्रकाश कोके गुरुङलाई आफू जन्मेको र हुर्केको ठाउँको नै झ–झल्को बढिरहेको छ । उनी जति जति शहरतिर हराउन थाल्छन् त्यति त्यति नै जन्मिएको गाउँको यादले सताउने गरेको बताउँछन् । काठमाडौंलाई कर्मथलो बनाइरहँदा गायक गुरुङलाई भने गोरखाको डाँडापाखा, बनजंगल, खोलानाला र जन्मिएको गाउँ सिरानचोकको आरुबोटले सताइरहेको छ । गीतसंगीत निर्माण गर्दा पनि गायक गुरुङ सिरानचोककै सेरोफेरोमा केन्द्रित रहेर गोर्खाली हुनुको गर्व पस्कने गर्छन् ।
गोर्खालीलाई केही होइन सानो चोट गीतबाट आफ्नो जन्मिएको माटोलाई सुगन्धित बनाएका गायक गुरुङले यतिबेला भने गोरखा सिरानचोक बोलको सालैजो गीत सार्वजनिक गरेका छन् । सिरानचोकै सेरोफेरोलाई म्यूजिक भिडियोमा कैद गर्दै रोधीघरको सम्झनालाई गीतबाट प्रस्तुत गरेका छन् । ‘गोरखा सिरानचोक’लाई गायक प्रकाश गुरुङ र मुना थापा मगरले स्वर दिएका छन् । गीतको शब्द र संगीत गायक गुरुङकै रहेका छ ।
गीतको म्यूजिक भिडियोलाई दिप गुरुङले निर्देशन गरेका छन् । भिडियोमा सन्तोष थापा र सुमित्रा गुरुङको मुख्य अभिनय रहेको छ भने पश्चिमाञ्चल कल्चरल ग्रुपले म्यूजिक भिडियोलाई पोस्ट प्रोडक्सन गरेको छ । शम्भू चालिसेको छायाँकन रहेको यस गीतको म्यूजिक भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।