
काठमाडौँ । नेपाली साहित्य, सङ्गीत र सिनेमाका विषद् अध्येता तथा निबन्धकार प्रकाश सायमीद्वारा लिखित पुस्तक ‘कोलाहलको कोलाज’ एक समारोहबीच सार्वजनिक भएको छ।
‘सुरशक्ति समूह’ नामक नेपाली सांगीतिक क्षेत्रका सात जना चर्चित गायिकाहरु – संगीता राना प्रधान, कुन्ती मोक्तान, विमला राई, रमना श्रेष्ठ, प्रतिमा राजभण्डारी, पवित्रा सुब्बा र दिपा राई – ले संयुक्त रुपमा उक्त कृतिको विमोचन गरेका थिए । एजुकेशन पब्लिशिङ हाउस, जमल, काठमाडौँबाट प्रकाशित यस कृतिको विमोचन कार्यक्रम पनि सोही स्थानमा सम्पन्न भएको थियो ।
सृजनात्मक गद्य विधामा लेखिएको यस कृतिमा रचना विद्या र व्यक्ति विम्ब गरी दुई भाग समावेश छन्। लेखक सायमीले शङ्कर लामिछाने, देव आनन्द, गुलजार जस्ता व्यक्तित्वहरूको जीवनका सुक्ष्म पक्षहरूलाई रोचक शैलीमा प्रस्तुत गरेका छन् । उनले केही समयअघि मात्र स्वर सम्राट नारायण गोपालको जीवनीमा आधारित कृति ‘नारायण गोपाल’ बजारमा ल्याएका थिए । ‘कोलाहलको कोलाज’ ले सायमीको लेखन यात्रामा अर्को महत्वपूर्ण आयाम थपेको छ भन्ने कुरामा दुई मत देखिँदैन। सायमी नेपाली रंग क्षेत्रका बहुआयामिक व्यक्तित्व हुन् । चलचित्र निर्देशक, सञ्चारकर्मी तथा लेखक उनको परिचयको अगाडि जोडिने सर्वनाम हुन् ।