रहेनन् ‘प्रणय गजलकार’ का रुपमा चिनिएका प्रसिद्ध साहित्यकार प्रकट पगेनी ‘शिव’

म्यूजिक खबर
प्रकाशित: ४ बैशाख २०८१, मंगलवार

काठमाडौं । साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको उनको मंगलबार दिउँसो निधन भएको हो ।

प्रकट कविता, गीतसहित शृंगारिक गजलमार्फत् प्रख्यात थिए ।

शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो ।

शिवको वास्तविक नाम ‘शिवराज पंगेनी हो। उनका ‘यो मन कतै अल्झेको छ’, ‘जुनको चिठी जुनालाई’लगायतका कृति प्रकाशित छन्।

उनका कविता, गजलका किताब प्रकाशित छन् । ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् ।

शिवका गजल, गीतसहित कविता, कथा, लेख, मुक्तक आदि पनि प्रकाशित छन्। २०३९ सालमा भएको नाटक महोत्सवमा उनले सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए।

उनको अन्त्येष्टि बुधबार दिउँसो गरिने पारिवारिक स्रोतले जनाएको छ। त्यसअघि शवयात्रा गरिनेछ।

झन्डै १५ सय गीत रचना गरेका प्रकटका ५० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । शिवका गीतमा विमल पराजुली, अमृत गुरुङ ‘नेपथ्य’, यश कुमारदेखि मदनकृष्ण श्रेष्ठले समेत स्वर भरेका छन् ।

यति धेरै गीत लेखेका प्रकटलाई धेरैले भने गजलकारका रूपमा चिन्छन् । त्यसमा पनि शृङ्गारिक गजल बढी लेख्ने भएकाले उनलाई ‘प्रणय गजलकार’ पनि भन्ने गर्छन् ।
उनले कैयन् एकल गजल वाचनका कार्यक्रम गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु